आजदेखि दादुरा–रुबेलाविरुद्धको खोप अभियान सुरु (तस्बिरहरू)

काठमाडौँ । आजदेखि दादुरा–रुबेलाविरुद्धको खोप अभियान सुरु भएको छ । सरकारले अभियानअन्तर्गत ५७ लाख ४२ हजार ९९३ जना बालबालिकालाई खोप दिने लक्ष्य राखिएको छ । यस अभियानका लागि करिब १० हजार जनशक्ति खटाइने स्वास्थ्य सेवा विभागअन्तर्गतको खोप शाखाले जनाएको छ ।

आजदेखि चैत ७ गतेसम्म चल्ने अभियानमा ५७ लाख ४२ हजार ९९३ बालबालिकालाई खोप दिने लक्ष्य राखेको छ । दादुरा–रुबेलाविरुद्धको खोप दिने दुई वर्ग छुट्याइएको छ । भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा सरकारले यसअघि नै सो खोप दिइसकेको छ । आजदेखि सञ्चालन हुने अभियानमा तराईका २१ र काठमाडौं उपत्यकाका तीन गरी २४ जिल्लामा बालबालिकालाई खोप दिइनेछ ।

जसमा झापा, मोरङ सुनसरी, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपुर, परासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, काठमाडौं, भक्तपुर र ललितपुर छन् । यी जिल्लामा दादुराको जोखिम बढी भएकाले १५ वर्षसम्मका बालबालिकालाई खोप दिन लागिएको हो ।

कोभिडकालमा भएको एक सर्वेक्षणमा ती जिल्लाका १५ वर्षमुनिका बालबालिकामा रोग प्रतिरोधी क्षमता कम भएको पाइएको खोप शाखा प्रमुख डा. अभियान गौतमले बताए । यीबाहेक अन्य जिल्लामा ९ देखि १५ महिनासम्मका बाललिकालाई खोप दिइने खोप शाखाले जनाएको छ ।

करिब एक महिना चल्ने अभियानका लागि सरकारले ४८ हजार ७९८ वटा खोप केन्द्र तोकेको छ । बढी जोखिममा रहेका २४ जिल्लामा भने विद्यालयबाटै खोप दिइने डा. गौतमले बताए । अन्य जिल्लामा भने नियमित खोप दिइने स्थानहरू र बस्तीको पायक पर्ने स्थानलाई खोप केन्द्र तोकिएको छ ।

नियमित खोपअन्तर्गत दुई खोप लगाएको भए पनि अभियानका बेला अनिवार्य दादुरा–रुबेलाको खोप लगाउन सरकारले अनुरोध गरेको छ । सन् २०२६ सम्ममा नेपालबाट दादुरा–रुबेला रोग निवारण गर्ने सरकारको लक्ष्य छ । गतवर्ष २१ जिल्लामा फैलिएको दादुराबाट एक हजार ३४९ जना संक्रमित भइ एक जनाको मृत्यु भएको थियो ।

यो संक्रमण एक व्यक्तिबाट १८ जनासम्ममा सर्नसक्ने डा. गौतम बताउँछन् । गर्भावस्थामा दादुरा–रुबेला संक्रमण भए शिशुमा अपांगता हुनसक्ने, मुटुमा समस्या हुने साथै शिशुको मृत्यु समेत हुनसक्ने जोखिम रहन्छ । दादुराले वाल्यवस्थामा पनि अपांगता तथा मृत्यु गराउनसक्छ । यसको निश्चित औषधि उपचार नभएकाले खोप नै संक्रमणबाट जोगिने एकमात्र उपाय भएको डा. गौतमले बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *