राष्ट्र बैंकको आग्रह– बैंकिङ क्षेत्र सुरक्षित छ, ढुक्कसँग कारोबार गर्नुस्
२०८० फागुन ८ गते

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई ढुक्कसँग नियमित बैंकिङ कारोबार गर्न आग्रह गरेको छ ।
बैंकले मंगलबार एक विज्ञप्ति जारी गर्दै बैंकिङ क्षेत्र सबल र सक्षम रहेको बताउँदै हल्लाको पछाडि नलागी निर्धक्क रुपमा कारोबार गर्न लगानीकर्ता, निक्षेपकर्ता, ग्राहक तथा सरोकारवालाहरूलाई आग्रह गरेको हो ।
विज्ञप्तिमा राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरू अन्तर्राष्ट्रिय बैंकिङ्ग सिद्धान्तमा आधारित भएको जनाएको छ । बैंकले उक्त वित्तीय संस्थाहरू राष्ट्र बैंकको निर्देशनमा नै सञ्चालन भएको र नियमित रूपमा निरीक्षण र सुपरिवेक्षण हुने उल्लेख छ ।
‘पछिल्लो समयमा इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरूको पुँजीकोषको अवस्था, कर्जा निक्षेप अनुपातको अवस्था एवम् तरलताको अवस्थासम्बन्धी परिसूचकहरू यस बैंकको निर्देशनअनुरूप नै रहेको छ । कुनै बैंक तथा वित्तीय संस्थामा यी परिसूचकहरू तथा कर्जा, संस्थागत सुशासन लगायतका अन्य विषयमा कुनै समस्या देखिएमा यस बैंकले समय समयमा आवश्यक निर्देशन दिई सुधार गराउँदै आइरहेको छ ।’ विज्ञप्तिमा भनिएको छ ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था सञ्चालनको पछिल्लो अवस्था हेर्दा समग्र बैंकिङ क्षेत्र सक्षम र सबल रहेको जनाएको छ ।

२०८० फागुन ८ गते
प्रतिक्रिया
सम्बन्धित








