बालकुमारी हिंसात्मक घटना

मन्त्री ज्वालाले ‘नैतिकता’ देखाउनुपर्छ कि पर्दैन ?

काठमाडौं । ललितपुरको बालकुमारीमा भएको हिंसात्मक घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई मुख्य दोषी ठहर्‍याउँदै प्रतिवेदन बुझाएसँगै उनी गम्भीर नैतिक प्रश्न र राजनीतिक दबाबमा परेका छन् । गत पुस १३ गते दुई युवकको ज्यान जानेगरी भएको घटनामा प्रमुख दोषी मन्त्री ज्वाला भएको निष्कर्षसहित आयोगले सरकारलाई प्रतिवेदन बुझाएपछि नैतिक संकट बढेको हो ।

कोरियन भाषा परीक्षामा सहभागी हुन नपाएर आन्दोलित बनेका युवाहरूको भिडमा झण्डावाल गाडी हल्लाउँदै पुगेका मन्त्री ज्वालाको असंयमित कार्यले ललितपुरको बालकुमारीमा दुई युवाको ज्यान जानेगरी दुःखद घटना घटेको आयोगको निष्कर्षले उनलाई गम्भीर नैतिक र राजनीतिक संकटमा पारेको विश्लेषण गरिएको छ । युवाहरूको आक्रोशित भिडलाई थप उत्तेजित बनाउन घटनास्थलमा मन्त्री ज्वाला पुगेपछि परिस्थिति असहज भएको भिडिओसमेत सार्वजनिक भएको थियो ।

ज्वालाले आफ्नो गाडीमा आगजनी हुने क्रममा आफू घटनास्थलमा उपस्थित नरहेको सञ्चार माध्यममा बताएका थिए । सिंहदरबारबाट निस्किएर ग्वार्कोस्थित कान्तिपुर पार्टी प्यालेसमा जारी पार्टीको बैठकमा आफूलाई छाडेर गाडी फर्किने क्रममा युवाहरूले आगलागी गरेको उनको जिकिर थियो । जबकि उनी सवार गाडी जल्नुअघि घटनास्थलमा ज्वालाले आक्रोशित युवाहरूसँग सवाल जवाफ गरेको सार्वजनिक भिडियोमा प्रष्टै देखिन्छ ।

पूर्वन्यायाधीश शेखरप्रसाद पौडेल नेतृत्वको आयोगले ज्वाला घटनाको प्रमुख जिम्मेवार रहेको निष्कर्षसहितको प्रतिवेदन गृहमन्त्रीलाई हस्तान्तरण गरिसकेको छ । पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक अरुण कुमार बीसी र गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव नारायणप्रसाद भट्टराई सदस्य रहेको आयोगले पुस २० गतेदेखि काम सुरु गरेको थियो । ४४औँ दिनमा शुक्रबार गृहमन्त्रीलाई प्रतिवेदन हस्तान्तरण गरेको छ । आयोगले मन्त्रीसँगै त्यस दिन सो क्षेत्रको अपरेसन कमान्ड गरेका नेपाल प्रहरीका डीएसपी उमेश लम्साल र ज्वालाकै अंगरक्षक पनि जिम्मेवार रहेको औँल्याएको छ । घटनाको मुख्य जिम्मेवार नै मन्त्री भएको प्रतिवेदनको निष्कर्ष छ । उनकै कारणले यति ठुलो घटना भएको जाँचबुझबाट खुलेको हो ।

अहिले सरकार चौतर्फी विवाद र आलोचित बनेको बालकुमारी घटनाको उपज मन्त्री ज्वाला रहेको तथ्य उजागर हुँदा पनि उनले राजीनामा दिएर नैतिकता प्रदर्शन गरेका छैनन् । यस घटनामा सुरक्षा व्यवस्था सहज बनाउन असमर्थ भएका मन्त्रीको सुरक्षागार्डका रूपमा रहेका पिएसओ र फिल्डमा खटिएका ललितपुरका डिएसपीलाई निलम्बन गरे पनि मन्त्री ज्वालाबारे कुनै कदम चाल्न सकेको छैन ।

हन त, सुशासनले सुसज्जित देशका सार्वजनिक पद धारण गरेका नेता, मन्त्री, प्रधानमन्त्रीलगायतले आफूमाथि प्रश्न उठ्नासाथ नैतिकता देखाउँदै आफूलाई जिम्मेवारीबाट अलग कतिपनि हिचकिचाउँदैनन् । तर, नेपालको हकमा काग गराउँदै छ पिना सुक्दै छ भन्ने शैलीमा गल्तीलाई ढाकछोप गर्ने र दण्डहीनतालाई मलजल गर्ने प्रवृत्ति फैलँदो क्रममा देखिन्छ । यो प्रवृत्तिलाई बढावा दिँदै जाने कि सुशासन र समतामूलक समाज निर्माण गर्न आफ्नो ठाउँबाट जिम्मेवार भएर पहलकदमी लिने ? आजको यक्ष प्रश्न यही हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *