माधव नेपाल कहिले बन्छन् प्रधानमन्त्री ?

काठमाडौं । गत वर्षको पुस १० गते संसद्को तेस्रो दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बने । तत्कालीन अवस्थामा देउवासंगको सहकार्य तोड्दै एमालेसहित सात दलको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बने ।

तर राष्ट्रपतिको चुनावका बेला एमालेसँगको गठबन्धन तोड्दै प्रचण्ड पुनः देउवासंग मिल्न गए । उनको पार्टी माओवादीसहित आठ दलको गठबन्धन बन्यो । त्यसपछिको गठबन्धनमा रहेका दलहरूबीच आलोपालो प्रधानमन्त्री बन्ने सहमति बनेको थियो ।

उक्त समयमा पहिलो प्रचण्ड, दोस्रोमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र तेस्रो चरणमा सरकारको नेतृत्व कांग्रेस सभापति शेरबहादुर देउवाले गर्ने मोटामोटी सहमति भएको थियो ।

सोही सहमतिलाई लिएर केही दिन यता नेकपा एसका अध्यक्ष माधवलाई प्रधानमन्त्री बनाउनुपर्ने बहस चर्चामा आएको छ । प्रचण्डले सरकार चलाएको एक वर्ष बितेसँगै सत्ता गठबन्धनभित्र सरकार परिवर्तन र नेपाललाई प्रधानमन्त्री बनाउनुपर्ने चर्चा सुरु भएको हो । यद्यपि, प्रचण्डको कार्यकाल अझै १० महिना बढी बाँकी छ ।

नेपाली कांग्रेसको संस्थापन इतर पक्ष मात्रै वर्तमान प्रचण्ड सरकारको कार्यसम्पादनलाई लिएर असन्तुष्टि जनाउँदै सरकार परिवर्तन गर्नुपर्ने पक्षमा छ । इतर पक्षका कतिपय नेताहरू प्रचण्डले सरकार चलाउन नसकेको र जनतामा निराशा छाएको भन्दै सरकारको विकल्प खोज्नुपर्ने बताउँदै आएका छन् ।

प्रचण्ड नेतृत्वको वर्तमान सरकार गठन हुँदा माओवादी केन्द्र, नेपाली कांग्रेस र एकीकृत समाजवादीले आलोपालो प्रधानमन्त्री चलाउने सहमति भएको थियो । सोही सहमतिलाई कार्यान्वयन गर्दै गठबन्धनलाई दीर्घकालीन रूपमा अघि बढाउन शीर्ष नेताहरू सहमत हुनुपर्नेमा कांग्रेस नेताहरूले दबाब बढाइरहेका छन् ।

सत्ता गठबन्धनको भविष्यलाई लिएर आशङ्का व्यक्त भइरहेका बेला सत्तारुढ गठबन्धनकै नेताहरूले कहिले मन्त्री फेर्ने र कहिले सरकार नै फेर्ने अभिव्यक्तिले गठबन्धनमा सहमति अनुसार माधवलाई प्रधानमन्त्री बनाउन दबाब बढेको सहजै अनुमान गर्न सकिन्छ ।

नेकपा समाजवादीका केन्द्रीय सदस्य तथा पुर्वमन्त्री शेरबहादुर कुँवर अहिले नै नेकपा एसले प्रधानमन्त्री नमागेको तर सहमति कार्यान्वयन हुनेमा भने संका रहेको बताउँछन् ।

‘पहिले प्रचण्ड अनि हाम्रो अध्यक्ष कमरेड र देउवा जीलाई प्रधानमन्त्री बनाउनेगरि सहमति भएको हो’ उनले मकालुखबरसंग भने‘अहिले नै प्रधानमन्त्री चाहियो भनेका होइनौं, सहमति कार्यान्वयन हुनुपर्छ भनेर दबाब भने दिइरहेका छौं ।’

तर, गठबन्धनमा यसअघि भएको भनिएको सहमतिअनुसार प्रचण्डपछि प्रधानमन्त्री हुने पालो कांग्रेस सभापति देउवाको हो भनिएको छ । गत फागुनमा प्रचण्ड, देउवा र नेपालबिच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएबमोजिम दोस्रो चरणमा देउवा प्रधानमन्त्री बन्नुपर्ने केही नेताहरूको दाबी समेत छ ।

सरकार होइन, मन्त्री फेर्ने तयारीमा प्रचण्ड

मन्त्रीमण्डल पुनर्गठनको चर्चा भएको लामो समय नै भयो । तर, कांग्रेस सभापति देउवाका कारण मन्त्रीमण्डल पुनर्गठन रोकिएको कतिपय नेताहरू बताउँछन् ।

उसो त, प्रचण्ड पनि विभिन्न सार्वजनिक कार्यक्रममा काम नगर्ने मन्त्रीलाई हटाउने बताउँदै आइरहेका छन् ।

उनले शनिवार पनि मन्त्रीमण्डल पुनर्गठन गर्ने बताएका थिए । उनले मन्त्रीमण्डल पुनर्गठन हुने निश्चित भएको उल्लेख गर्दै त्यसमा तामाङ समुदायका एक जनालाई मन्त्री बनाउने घोषणा नै गरे ।

हुन त, प्रचण्ड जुन समुदायको कार्यक्रममा गयो सोही समुदायका सांसदलाई मन्त्री बनाउँछु भन्न पछि पर्दैनन् ।

शनिवार सोनाम ल्होछारको अवसर पारेर काठमाडौंको टुँडिखेलमा आयोजित एक कार्यक्रममा बोल्दै उनले तामाङ समुदायबाट मन्त्री बनाउने भनिहाले ।

‘अब मन्त्रीमण्डलको जति बेला पुनर्गठन हुन्छ, पहिलो प्राथमिकता तामाङ समुदायको जनप्रतिनिधिलाई मन्त्री बनाइनेछ । अब संघको मन्त्रीमण्डल पुनर्गठन त हुन्छै हुन्छ’उनले भने ‘पुनर्गठन हुने बित्तिकै तामाङ मन्त्री हुन्छ । यो विश्वास म तपाइहरूलाई दिलाउन चाहन्छु ।’

उनले गत साल पनि आफूले सोनाम ल्होछारको अवसर पारेर घोषणा गरे अनुसार बागमती प्रदेशमा तामाङ समुदायबाट मन्त्री बनाएको पनि स्मरण गराए ।

उनले भने–‘गत साल मैले यसै मञ्चबाट तामाङ समुदायको खास गरी बागमती प्रदेशबाट मन्त्री बन्नुहुन्छ भनेर भनेको थिए, मन्त्री बन्नु त भयो नि !’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *