विश्वविद्यालय खेलकुदको ट्रफी तथा लोगो सार्वजनिक

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा हुने प्रथम विश्वविद्यालय खेलकुद प्रतियोगिताको लोगो तथा रनिङ ट्रफी आज सार्वजनिक गरिएको छ ।

प्रतियोगितासम्बन्धी जानकारी गराउन आज आयोजित पत्रकार सम्मेलनमा राखेपका उपाध्यक्ष एवं प्रतियोगिता सञ्चालन तथा व्यवस्थापन कार्यदलका संयोजक शिव कोइरालाले प्रतियोगिताको लोगो र रनिङ ट्रफी सार्वजनिक गरेका हुन् । प्रतियोगिता सोमबारदेखि सुरु हुँदैछ ।

प्रतियोगितामा एथलेटिक्स, भलिबल, टेबलटेनिस र ब्याडमिन्टन गरी चार खेलको प्रतिस्पर्धा हुनेछ । भलिबलमा छात्र टोलीको मात्र सहभागिता रहनेछ । एथलेटिक्स त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला, ब्याटमिन्टन त्रिपुरेश्वरस्थित राखेपको कभर्डहल, टेबलटेनिस लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्र र भलिबल जावलाखेलस्थित राष्ट्रिय खेलकुद प्रशिक्षण केन्द्रमा खेलाइने छ ।

प्रतियोगितामा १० विश्वविद्यालयका दुई सय ८० खेलाडी सहभागी हुनेछन् । एथलेटिक्समा १२, भलिबलमा एक तथा टेबलटेनिस र ब्याटमिन्टनमा समान पाँच–पाँच गरी जम्मा २३ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ । दुई दिने उक्त प्रतियोगिता सञ्चालन गर्न करिब ४० लाख खर्च लाग्ने खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मीनकुमार शर्माले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *