यात्रा संस्मरण

काठमाडौंदेखि कालिञ्चोकसम्मको यात्रा !

काठमाडौं । नेपाल विविध परिदृश्यको देश हो, जहाँ अग्ला हिमालहरू, रमणीय वन र शान्त तालहरू, हिउँले सेताम्मे भएका डाँडाहरू र फाँटले भरिएका मैदानहरू छन् । दोलखा जिल्लामा अवस्थित कालिन्चोक आफ्नो मनमोहक सौन्दर्यले हरेक पर्यटकलाई चकित पार्ने ठाउँ हो ।

कालिन्चोक घुम्ने योजना त गत वर्षकै थियो तर जाने अवसर मिलेको थिएन । यो वर्ष समयमै हिउँ पर्‍यो, गतवर्ष देखिको योजना सफल पार्न यो वर्ष त जसरी पनि सबै साथीहरू कालिन्चोक जाने सल्लाह थियो । सोही सल्लाह अनुसार कालिञ्चोकको हाम्रो यात्रा काठमाडौँको जडीबुटीबाट शनिवार बिहान ६ बजेबाट सुरु भयो । पुतलीसडकको न्यूप्लजाबाट जडीबुटी पुग्दा मेरा पाइलाहरू उत्साहित भइसकेका थिए ।

जडीबुटी पुग्ने बेला साथीहरू जम्मा हुने क्रम जारी थियो । साथीहरूको भिडमा म पनि मिसिन पुगेँ । जडीबुटीबाट करिब ७ बजे मसहित ३२ जना साथीहरू कालिञ्चोकको बस चढ्यौँ । कलेजका साथीहरू, चिसो मौसम, बसमा बजिरहेको मिठो गीत अनि साथीहरू गीत गाउँदै नाच्दै बसमै रमाइलो गर्दै हाम्रो यात्रा जारी रह्यो ।

रमाइलो गर्दागर्दै गुडिरहेको बस करिब १२ बजे मुढे पुग्यो । करिब ७/८ घण्टाको बसको यात्रापछि हामी बसबाट ओर्लिएर खाना खायौं । खाना खाएर हाम्रो यात्रा सुरु भयो दोलखाको भीमेश्वर मन्दिरको । साथीहरू र म रमाइलो गर्दै करिब आधा घण्टापछि भीमेश्वर मन्दिर पुग्यौं र भीमेश्वरको दर्शन गर्‍यौं , साथीहरूले मनले चाहेको प्रार्थना गरे र मैले पनि ।

भीमेश्वरको दर्शनपछि हाम्रो यात्रा तय भयो कालिञ्चोकको । हामीले केही आश्चर्यजनक ठाउँ र बाक्लो हिउँ छिचोल्दै यात्रा गरिरहेका थियौँ । हामीले कालिञ्चोकको पहिलो झलक देख्यौं । यो एक मनमोहक अनि रोमाञ्चक क्षण थियो र चिसो मौसमका शान्तता, रङ्ग र सौन्दर्य वर्णन गर्न शब्दहरू कम परिरहेका थिए । बिहानै देखी रमाइरहेको मन कालिन्चोक पुग्न लाग्दा धेरै उत्साहित भयो । कालिञ्चोकमा हिउँ परेर सेताम्मे थियो, मौसम चिसो थियो तर पनि हिउँसँग सबै जना रमाउन थाल्यौं । म पनि धित मरुन्जेल रमाएँ ।

हामी कालिन्चोक पुग्दा पनि हिउँ परिरहेको थियो । र पनि हामीले हाम्रो यात्रा जारी नै राख्यौं । फोटो भिडिओ त कति खिच्यौं खिच्यौं । कालिञ्चोकको हिउँसँग पौठेजोरी खेल्दाखेल्दै साँझ पर्‍यो । त्यसपछि हामी कालिन्चोक बजार झर्‍यौं ।

साँझ परेसँगै हामी होटेल पुग्यौं, थकित तर एकै समयमा रोमाञ्चित मुद्रामा । थकित मुद्रामा पुगेका हामीलाई होटेल सञ्चालकले तातो चियाले स्वागत गरे । हामी हाम्रो कोठामा पुगेर झोला बिसायौं, केही सानो जस्तो देखिए पनि कोठा राम्रो र आरामदायक थियो । उसै पनि चिसो वातावरण, कोठा पनि चिसै थियो, रात नजिकिँदै गर्दा वातावरण झनै चिसिन थाल्यो, हामी पनि खाना खाने बेला सम्म आगोको वरिपरि झुम्मियौं । चिसो मौसमको न्यानो अनुभूति गर्दै,कालिञ्चोकको अन्वेषण गर्दै, यसको जीवन्त वातावरणको मजा लिँदै र बेलुकीको खाना खाइसकेपछि, हामी आफ्नो कोठामा फर्कियौं । यसै गरी हाम्रो पहिलो दिन बित्यो ।

भोलिपल्ट, हामी चाँडै उठ्यौँ, दोस्रो दिन कालिन्चोक भगवतीको दर्शन गर्ने योजना थियो । सबै जना बिहानै तयारी थियौँ र केही साथीहरू केबलकार चढेर र केही साथीहरू हिँडेरै कालिन्चोक भगवतीको दर्शन गर्न जाने सहमति भयो र हामी आ–आफ्नो योजना अनुसार चिसो हिउँमा हिँड्दै, चिप्लिँदै कालिन्चोक भगवतीको दर्शनको लागि यात्रा सुरु गर्‍यौं ।

केही समयको पर्खाइपछि हामी कालिन्चोक भगवतीको मन्दिर पुग्यौँ । कालिन्चोक भगवती पूजा–दर्शन गर्ने तिर्थालुको भिड थियो । युवायुवती वरिपरिको प्रकृतिलाई आ–आफ्ना ग्याजेटमा कैद गर्दै सेल्फीमा मग्न थिए । नजिकै देखिएका हिमशृङ्खलाबाहेक चारैतिरका सबै डाँडाहरू होचा देखिए, जुन लतबाट माथि उक्लिँदा भने अजङ्ग लागेका थिए । पूजा गर्दा चढाएका ध्वजा र घण्टहरूले सजिएको रहेछ कालिन्चोक । चुचुरोको साँघुरो तर लाम्चो परेको थोरै समतल भागमा खुला आकाशमुनि सजिएकी देवी भगवतीको साथै महादेवको पनि पूजा गरिने रहेछ ।

कालिन्चोक भगवतीमा हामीले पनि पालैपालै दर्शन गर्‍यौं । दर्शन गर्दै केही मनोरमदृष्य हेर्दाहेर्दै बिहानको ११ बजिसकेको थियो । चिसो स्याँठको बाबजुद चुचुरोमा रमाइलै भइरहे पनि पेटले बिहानको खानाको माग गर्न थालिसकेको र बेलुकी काठमाडौं फर्किनु पर्ने बाध्यताले हामी तल ओर्लियौँ । छिटो छिटो गर्दै हामी अघिल्लो दिन बसेको होटेल बिपीमा आइपुग्यौँ । अनि बिहानको नास्ता खायौँ, नास्तामा तातो चिया, ब्रेड, अण्डा र चना थियो । केही रमाइलो कुरा गर्‍यौं ।

मेरो त घुम्ने मात्रै योजना थिएन,कालिन्चोकका बारेमा जान्नु थियो र केही विषयमा रिपोर्टिङ गर्न रहर थियो । केही प्रश्न र जिज्ञासा तयार पारेर होटेल बिपीका सञ्चालक किशोर पाख्रिनसंग कुरा गरेँ । कालिन्चोकका विशेषता र उनको आफ्नै व्यवसायका बारेमा छोटो र मिठो संवाद गरेँ । उनीसँग गरिएको कुराकानीको आधारमा तयार पारिएको सामग्री मकालुखबरमा प्रकाशित भइसकेको छ । यो सामग्री पढ्न यहाँ क्लिक गर्नुहोस् :-कालिञ्चोकमा पर्यटकको घुइँचो, कोरोनापछि फस्टायो व्यवसाय

हामीलाई त दोस्रो दिन नै काठमाडौं फर्किनु थियो । कालिञ्चोकसँग बिदा मागेर हामी फर्किने तरखर गर्न थाल्यौँ । तर हामी बसेको ठाउँमा बाक्लो हिउँका कारण बस भने पुग्न सकेको थिएन । हामीलाई बस चढ्न अझै दुई घण्टाभन्दा बढी हिँड्नुपर्ने भयो । हाम्रो पैदल यात्रा सुरु भयो र हामीलाई बसले पनि पर्खिरहेको थियो । पर्खिरहेको बसमा हतार हतार गर्दै चढ्यौँ र काठमाडौं फर्कियौँ ।

काठमाडौं पुग्दा केही ढिलो भइसकेको थियो । चिसो मौसमको कठिन यात्रा र बाटोमा बस छिनछिनै बिग्रिन थालेकाले केही ढिलो भयो । रातिको करिब साढे ८ बजे काठमाडौंले हामीलाई स्वागत गर्‍यो, दुई दिन मात्रको भए पनि कालिन्चोक सम्मको रोमाञ्चक र मनमोहक यात्राको सम्झनाहरूको अमिट छाप लिएर रुममा आइपुग्दा हामी खुसीले भरिएका थियौं । काठमाडौं दोलखाको दुई दिने छोटो यात्रामा प्रकृतिसँग निकै नजिकिने, राजधानी नजिकैको भूगोलसँग स्थलगत चिनारी गर्ने र केही धार्मिक स्थलको जानकारी तथा आध्यात्मिक ज्ञान प्राप्त गरेको अनुभूति गर्‍यौं हामीले ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *