मकालुखबर समाचार प्रभाव : रामबाबुको घर नगरले बनाइदिने, आर्थिक सहयोग जुट्दै

काठमाडौँ । तनहुँका रामबाबु पाण्डेको घर भानु नगरपालिकाले बनाइदिने भएको छ । शारीरिक रुपमा अपाङ्ग भएका पाण्डेको घर नगरपालिकाले बनाइदिने भएको हो ।

उनको उपचारसंगै दीर्घकालीन रुपमा बसोबासका लागि घर बनाउने पहल सुरु भएको नगरपालिकाले जनाएको छ ।

विगत ७ वर्षदेखि उपचारको अभावमा अपाङ्ग भई थलिएका पाण्डेको घर बनाउन र उपचारका लागि नगरपालिका, वडा कार्यालयले पहल थालेका छन् । उनको घर निर्माणका लागि जग्गा प्रक्रियाको टुंगो लाग्न बाँकी रहे पनि दातृ निकायको सहयोग र नगरपालिकाको समन्वयमा घर बन्ने पक्का भएको छ ।

भानु नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष मीनबहादुर गुरुङले पाण्डेको घर बनाउने प्रक्रिया सुरु भइसकेको जानकारी दिए । पाण्डेको सहजताका लागि अहिले उनी बसेको टहरा नजिकै उनका लागि घर बनाइ दिन लागेको उनले बताए ।

‘मकालुखबरमा रामबाबुको अवस्थाको बारेमा समाचार प्रकाशित भएपछि हाम्रो ध्यान गएको छ । सरकार जनताको सहजताका लागि काम गरिरहेको छ,’  उनले भने, ‘पाण्डेको घर बनाउने प्रक्रिया सुरु गरेका छौं । बजेट वडा र नगरपालिकाले दिन्छ, नपुगेको गाउँबाट चन्दा उठाएर भए पनि घर बनाउँछौँ ।’

नगरपालिका र वडा कार्यालय सहितको दातृ निकायको सहयोगमा घर पाउन लागेका पाण्डेलाई विभिन्न व्यक्तिहरूले आर्थिक सहयोग गरिरहेका छन् । मकालुखबरले पाण्डेको अवस्था र उनको कष्टकर जनजीवनबारे समाचार प्रकाशित र प्रसारण गरेको थियो ।

मकालुखबरले चैत्र ३ गते रुखबाट खसेर शरीर टुट्यो तर आत्मबल टुटेन शीर्षकमा उनको कथा र व्यथाबारे समाचार प्रकाशित गरेपछि उनलाई आर्थिक सहयोग जुट्न थालेको हो ।

हालसम्म उनलाई विभिन्न व्यक्तिले दुई लाख भन्दा धेरै आर्थिक सहयोग हस्तान्तरण गरिसकेका छन् ।

उनका लागि उठेको सहयोग उनलाई हस्तान्तरण गर्न बाँकी रहेको छ । देश तथा विदेशबाट उनको उपचारको लागि आर्थिक सहयोग उठ्ने क्रम जारी छ ।

अपाङ्ग भएपछि विगत ७ वर्षदेखि ह्विल चिअरमा चटपटे बेच्दै आएका पाण्डे आर्थिक सहयोग पाउँदा र बसोबासका लागि घर पाउने भएपछि खुसी छन् ।

‘मकालुखबरले मेरोबारे समाचार लेखेपछि मलाई धेरै सहयोग आयो । म खुसी छु, अब उपचारका लागि अस्पताल जाँदै छु’उनले भने‘उपचारसंगै नगरपालिका र वडा कार्यालयले घर बनाइदिने कुरा छ, म धेरै खुसी छु ।’

उनले दैनिक रुपमा आर्थिक सहयोग पाइरहेको बताए । उनले मकालुखबरको समाचारले धेरै मान्छेले आफूलाई सहयोग गर्न प्रेरित गरेको भन्दै खुसी व्यक्त गरे ।

प्रतिक्रिया

One thought on “मकालुखबर समाचार प्रभाव : रामबाबुको घर नगरले बनाइदिने, आर्थिक सहयोग जुट्दै

Leave a Reply

Your email address will not be published. Required fields are marked *