एक महिनापछि नियन्त्रणमा आयो ‘माडीगज’ हात्ती

चितवन । चितवन राष्ट्रिय निकुञ्जबाट एक महिनाअघि हराएको ‘माडीगज’ नामको हात्तीलाई डार्ट गरेर नियन्त्रणमा लिइएको छ।

निकुञ्जको गिदेनी पोस्टबाट एक्कासि गायब भएको उक्त हात्तीलाई प्राविधिक टोलीले सोमबार लामिचौर नजिकै डार्ट गरेर नियन्त्रणमा लिएको हो।

निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरले गिदेनी पोस्टबाट चराउने क्रममा गैँडाको आवाज सुनेपछि हात्ती तर्सिएर भागेको बताए।

उनका अनुसार डार्टमार्फत शरीरमा झुम्म पर्ने औषधि प्रवाह गरी हात्तीलाई नियन्त्रणमा लिइएको हो। १३ वर्षको उक्त हात्तीलाई हाल लामिचौर पोस्टमा राखिएको छ। माउतेले थप स्याहार गरेर पूर्ववत् अवस्थामा फर्काएपछि हात्तीलाई गिदेनी पोस्टमा लगिनेछ।

निकुञ्जका अनुसार गैँडा, बाघजस्ता जंगली जनावरबाट तर्सिएर वा मात लागेका कारण हात्ती भाग्ने गर्छन्। यसरी भागेका हात्तीलाई केही दिन राम्रोसँग स्याहारसुसार गरेपछि पूर्ववत् अवस्थामा फर्काउन सकिन्छ।

हाल चितवन राष्ट्रिय निकुञ्जमा ५३ वटा वयस्क र तीन वटा बच्चा हात्ती रहेका छन्। ती हात्ती निकुञ्ज सुरक्षामा परिचालन हुँदै आएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =