सरकारले जनपक्षीय काम गर्ने प्रयास गरिरहेको छ : माधवकुमार नेपाल

काठमाडौँ । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारले मुलुकको आर्थिक क्षेत्रको सुधार, भ्रष्टाचार नियन्त्रण र सुशासनको निम्ति अझै प्रभावकारी कार्य गर्नुपर्ने बताएका छन् ।
आइतबारबाट काठमाडौंमा सुरु भएको पार्टीको केन्द्रीय परिषद् बैठकको उद्घाटन गर्दै अध्यक्ष नेपालले सो कुरा बताएका हुन् ।
अध्यक्ष नेपालले मुलुकमा विद्यमान व्यवस्था विरुद्ध प्रतिगामी तत्वहरुले विभिन्न गतिविधिहरू सञ्चालन गरिरहेको उल्लेख गर्दै त्यसलाई निस्तेज पार्नका लागि पनि सरकार र सत्तारुढ गठबन्धनमा आबद्ध राजनीतिक दलहरूले संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, संविधानको रक्षा र आवश्यकता अनुसार परिमार्जन देशको अर्थतन्त्रलाई सुदृढ बनाउनुपर्ने बताए ।
उनले गठबन्धन दलहरूले तयार पारेका न्यूनतम नीति तथा कार्यक्रमलाई अझ गतिका साथ कार्यान्वयनमा लैजान पनि सरकारलाई सुझाव दिए । अध्यक्ष नेपालले राष्ट्रिय हितको रक्षा र स्वतन्त्र तथा सन्तुलित परराष्ट्र सम्बन्धलाई अगाडि बढाउन पनि सरकारलाई सचेत गराए । उनले जलवायु परिवर्तनले पारेका असरहरूलाई न्यूनीकरण गर्नका लागि सरकारले गम्भीरतापूर्वक काम गर्नुपर्ने आवश्यकता औँल्याए ।
उनले भने ‘सरकारले भ्रष्टाचारीहरूलाई कारबाही गर्ने प्रयास गरिरहेको छ । आर्थिक क्षेत्रको सुधार र भ्रष्टाचार नियन्त्रण र सुशासनका निम्ति अझै प्रभावकारी कार्य गर्नुपर्ने आवश्यकता छ । मुलुकको वर्तमान अवस्थामा जनताको निराशा, प्रतिरोध र आक्रोशको भावनालाई उपयोग गर्दै परिगमनकारी तथा पश्चागमनकारीहरुबाट विद्यमान व्यवस्था परिवर्तनको नाममा विभिन्न गतिविधिहरू सञ्चालन गरी राजनीतिक अस्थिरता पैदा गर्ने र सामाजिक सद्भाव खलबल्याउने कोसिस भइरहेको छ । यस्तो अवस्थामा वर्तमान बाम लोकतान्त्रिक शक्तिको सरकार सामु निश्चित दायित्वहरू छन् । खासगरी गठबन्धनमा आबद्ध दलहरूका बीच छलफल गरेर तयार पारिएको न्यूनतम साझा कार्यक्रममा समावेश गरिएका विषयहरू संविधानको रक्षा र आवश्यकता अनुसार परिमार्जन एवं विकास गर्ने,संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गर्ने, देशको अर्थतन्त्र सुदृढ गर्न नीतिगत एवं संरचनागत सुधार गर्ने, उत्पादनमुखी अर्थतन्त्र निर्माण आपूर्ति व्यवस्थामा सुधार गर्ने, राष्ट्रिय उत्पादनमा वृद्धि र रोजगारी सृजना गर्ने, गुणस्तरीय सेवा प्रवाह गर्ने, भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रत्याभूति दिने, विस्तृत शान्ति सम्झौताका बाँकी काम र विभिन्न पक्षहरूसँग भएका सहमतिहरूको कार्यान्वयन गर्ने, समाजमा विद्यमान वर्गीय, जातीय, क्षेत्रीय, लैङ्गिक, भाषिक, आर्थिक, राजनीतिक, सामाजिक, तथा सांस्कृतिक आदि सबै प्रकारका विभेदहरूको अन्त्य गर्न निरन्तर प्रयास गर्ने । जलवायु परिवर्तले उत्पन्न गरेको जोखिम न्यूनीकरण गरी पर्यावरणीय सन्तुलन कायम गर्न पहल गर्ने, राष्ट्रिय हितको रक्षा र स्वतन्त्र र सन्तुलित परराष्ट्र नीति अवलम्बन गर्ने, आदि कार्यहरू नै वर्तमान सरकारका मुख्य दायित्वहरू हुन् । वर्तमान सरकार उपयुक्त दायित्व पूरा गर्न अझ गम्भीरता र तदातरुपताका साथ लाग्न आवश्यक छ । यतिबेला हाम्रो पार्टी तीन वटै तहको सरकारमा संलग्न छ । हामो पार्टी यो सरकारले जनपक्षीय काम गर्ने प्रयास गरिरहेको छ । ’
अध्यक्ष नेपालले आफ्नो पार्टी सरकारमा संलग्न रहेकाले जनपक्षीय काम गर्ने प्रयास गरिरहेको दाबी समेत गरे ।








