सुदूरपश्चिम माओवादीमा रडाको, बहुमत सांसदले फेरे दलको नेता

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा नेकपा माओवादी केन्द्रबिचको विवाद उत्कर्षमा पुगेको छ ।

पार्टीभित्रको विवादले उग्ररुप लिँदा बहुमत प्रदेशसभा सदस्यले संसदीय दलको नेता नै फेर्ने निर्णय गरेका छन् ।

संसदीय दलका उपनेता अक्कलबहादुर रावलको अध्यक्षतामा शुक्रबार बसेको बहुमत प्रदेशसभा सदस्यहरूको बैठकले खगराज भट्टलाई हटाउँदै मानबहादुर धामीलाई दलको नेता चयन गर्ने निर्णय गरेको रावलले मकालुखबरलाई जानकारी दिए ।

उनले भने–‘आजको बैठकले संसदीय दलको नेता फेर्ने निर्णय गर्‍यौं । भट्टजीले संसदमा प्रभावकारी काम गर्न सक्नुभएन, अब मानबहादुर धामी संसदीय दलको नेता बन्नुहुन्छ , संसदीय दलको नेताको स्वच्छाचारिता छ । दल अकर्मण्यताको सिकार बनेको छ ।’

दलको नेता परिवर्तन गरेको पत्र प्रदेशसभा सचिवालयमा पठाइएको उपनेता रावलले बताए । रावलले चाडै बैठक बसेर प्रदेश सरकारबारे समेत निर्णय लिइने बताए ।

‘आजको बहुमत सांसदहरूले दलको नेता फेर्ने निर्णय गरेका छौं, अब छिट्टै बैठक बसेर अबको रणनीतिबारे निर्णय लिन्छौ’उनले भने ‘सरकारबारे पनि निर्णय हुन्छ ।’

संसदीय दलको नेता र माओवादीका प्रदेश मन्त्री फेर्नुपर्ने विषय लिएर यसअघि पनि प्रदेशसभाका सभामुखसहित माओवादी केन्द्रका ६ जना प्रदेशसभा सांसद प्रधानमन्त्री भेट्न बालुवाटार पुगेका थिए ।

अहिले प्रदेश सकारमा माओवादीका दुई मन्त्री र एक राज्यमन्त्री छन् । माओवादीका ११ जना सांसदमा एक जना सभामुख छन् ।

माओवादीको सुदूरपश्चिम प्रदेशमा पार्टीभित्र भएका दुई गुट र उपगुटको लडाइँ अहिले छताछुल्ल देखिएको छ ।

सुदूरपश्चिम प्रदेशमा माओवादी, कांग्रेस, नेकपा एस र नागरिक उन्मुक्ति पार्टीको गठबन्धनको सरकार छ ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *