वरिष्ठ गायक तथा संगीतकार योगेश वैद्यको निधन

काठमाडौं । वरिष्ठ गायक तथा संगीतकार योगेश वैद्यको निधन भएको छ । बिरामी रहेका वैद्यलाई राति अझ चापेपछि अस्पताल लाने क्रममै बिहीबार राति साढे १२ बजे निधन भएको हो ।

उनलाई भ्याली अस्पताल लगिएको थियो । ७७ वर्षका गायक वैद्य नेपाली र नेपाल भाषाका प्रतिष्ठित गायक र संगीतकार हुन् । नेपालीमा ‘सपना भुलाई सारा आँसु लिएर जाउ’, ‘मेरो आँसुमा नहाँसे’ र ‘नेपाल मेरो उपहार भो’ लोकप्रिय छन् । यस्तै नेपाल भाषामा ‘जय नमो सिरि बुद्ध भगवान’ र ‘जिमि यःम्ह थौ जिथाय् वइ’ लोकप्रिय रहेका छन् ।

वैद्यले हालै गंकी बसुन्धरा प्रतिष्ठानबाट प्रतिष्ठित ‘धुंस्वां साय्मि सिरपाः’ प्राप्त गरेका थिए । १२ वर्ष ९ महिनामै एसएलसी गरी त्रिचन्द्र कलेजबाट बीएस्सी डिग्री पाएका योगेश थाहै नपाई रेडियो नेपाल पुगेका थिए । इन्द्रनारायण मानन्धरले मोटरसाइकलमा रेडियो नेपाल पुर्‍याए ।  वनस्पतिशास्त्रमा एमएस्सी गरेपछि लोकसेवा आयोग दिएर प्रथम भएका थिए योगेश ।

करिब ३३ वर्ष सरकारी जागिर खाएका योगेश ०६१ मा सहसचिव पदबाट अवकाश लिएका थिए । उनले बेल्जियमको गेन्टको स्टेट युनिभर्सिटीबाट पनि फुड एन्ड न्युट्रेसनमा स्नातकोत्तर गरेका थिए । शुक्रबार पशुपतिमा उनको अन्तिम संस्कार गरिने परिवारले जनाएको छ । उनका दुई छोरी र एक छोरा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *