राष्ट्रियसभा निर्वाचन

निर्वाचनको मुखमा गठबन्धनमा कलह, प्रचण्डलाई सीकेले टेरेनन्

काठमाडौं । आइतबार बिहान सत्ता गठबन्धनका शीर्ष नेताहरूले बालुवाटारमा भेला भएर राष्ट्रियसभा निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई मत माग्दै संयुक्त अपिल जारी गरे ।

सो अपिलमा सात दलको तर्फबाट हस्ताक्षर समेत छ । बैठकले राष्ट्रियसभा निर्वाचनबाट गठबन्धनलाई अझ बलियो बनाउँदै जाने निर्णय समेत गरेको छ । तर, सो अपिलमा सत्ता गठबन्धनकै अर्को दल जनमत पार्टीको भने हस्ताक्षर देखिँदैन ।

गठबन्धनका उम्मेदवारलाई जिताउन काङ्ग्रेसबाट सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रबाट अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीबाट अध्यक्ष माधव कुमार नेपाल जसपाबाट अध्यक्ष उपेन्द्र यादव,लोसपाका अध्यक्ष महन्त ठाकुर र जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले साझा अपिलमा हस्ताक्षर गर्दा नाउपाबाट भने अध्यक्षमा पूर्व अध्यक्ष रन्जिता श्रेष्ठको हस्ताक्षर रहेको छ ।

यता, नागरिक उनमुत्ति पार्टीको अध्यक्षमा रेशमलाल चौधरीले महाधिवेशन मार्फत निर्वाचित भएको अवस्था छ । तर अपिलमा पूर्व अध्यक्ष रन्जिताको हस्ताक्षर देखिन्छ ।

माघ ११ गते हुन राष्ट्रिय सभा निर्वाचनमा १९ उम्मेदवारलाई जिताउन ७ दलले संयुक्त विज्ञप्ति जारी गरेका छन् ।

आइतबार बसेको सत्तारुढ दलहरूको बैठकबारे जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले यस विषयमा आफूलाई कुनै जानकारी नभएको बताए । उनको भनाइबाट सत्ता गठबन्धनका दलहरूबिच मतभेद सुरु भएको देखिन्छ ।

केही दिन यताको गतिविधिलाई हेर्ने हो भने जनमत पार्टी गठबन्धनबाट बाहिरिने संकेत देखिएको छ । अहिले जनमत पार्टीबाट अनितादेवी सरकारमा सङ्घीय मामिला मन्त्रालयको नेतृत्वमा छन् । यसअघि रोजेको मन्त्रालय नपाएको भन्दै जनमत पार्टी सरकारबाट बाहिरिएको थियो । तर केही समय पछि जनमत सरकारमा सहभागी भएको थियो ।

गठबन्धनमा रहेको जनमत पार्टीले भने राष्ट्रिय सभा निर्वाचनमा भिन्नै उम्मेदवारी दिएको छ । जनमत पार्टीले राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनबाट आफ्नो दलले पनि १ सिट पाउनुपर्ने माग गरेको थियो । तर ११ माघमा चुनाव हुने १९ सिटमा कांग्रेसले १०, माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले २ र जनता समाजवादी पार्टीले १ सिट लिने गरी भागबन्डा भएको थियो ।

प्रचण्डलाई सीकेले टेरेनन्

राष्ट्रिय सभा निर्वाचन नजिकिँदै जाँदा गठबन्धनको कलह छताछुल्ल भएपछि प्रचण्डले सबै नेताहरूसँग छलफल समेत गरेका छन् ।

राष्ट्रिय सभा सदस्यका लागि जनमत पार्टीको तर्फबाट दिइएको उम्मेदवारी फिर्ता लिन पार्टीका अध्यक्ष डा. सीके राउतले अस्वीकार गरेपछि प्रधानमन्त्री समेत रहेका उनलाई थप संकट परेको हो ।

जनमत पार्टीबाट मधेस प्रदेश र लुम्बिनी प्रदेशमा उम्मेदवारी परेको छ । उम्मेदवारी फिर्ता लिनका लागि प्रचण्डले गरेको आग्रह अध्यक्ष राउतले सिधै अस्वीकार गरिदिए ।

यसबारे प्रधानमन्त्री प्रचण्डले आइतबार बसेको सत्ता गठबन्धनको बैठकमा जानकारी गराएका थिए । प्रचण्डले आफूले एक पटक पुनः बोलाएर नै कुरा गर्ने बैठकमा बताएका थिए । मधेस प्रदेशमा जनमत पार्टीको मत भार ४२४ रहेको छ भने लुम्बिनी प्रदेशमा १४४ रहेका छन् ।

दुर्गालाई राष्ट्रिय सभा लैजाने प्रयास

यता, गठबन्धनमा सिट बाँडफाँडमा कांग्रेस र माओवादीले एकलौटी गरेको आरोप लगाउँदै आएका सानादलहरु पनि सन्तुष्ट छैनन् ।

गठबन्धनमा प्रचण्डलाई सघाइरहेका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले समेत राष्ट्रिय सभामा भाग खोजेका छन् ।

उनले आफ्नो पार्टीकी उपाध्यक्ष दुर्गा पौडेललाई राष्ट्रपतिबाट मनोनीत हुने सदस्यमा नियुक्त गर्न प्रस्ताव गरेका छन् ।

अध्यक्ष केसीले आइतबार विज्ञप्ति नै जारी गरेर पौडेललाई सदस्य बनाउन माग गरेका हुन् ।

‘हामीले राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष र प्रवक्ता का. दुर्गा पौडेललाई राष्ट्रपतिद्वारा मनोनीत हुने राष्ट्रिय सभाको महिला सदस्यका लागि प्रस्तावित गरेका छौँ’, अध्यक्ष केसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘त्यो पद मन्त्रिपरिषद्ले निर्णय गरेर राष्ट्रपतिद्वारा मनोनीत हुने पद भएकाले सरकार र राष्ट्रपतिद्वारा पनि उहाँलाई राष्ट्रिय सभामा नियुक्त गर्ने कुरामा जोड दिन्छौँ ।’

आगामी फागुन २० गतेबाट राष्ट्रपतिबाट मनोनीत १ सहित राष्ट्रिय सभाका २० सदस्यको पदावधि सकिँदै छ । त्यसमध्ये १९ जनाको माघ ११ मा निर्वाचन हुँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *