पुस महिनाको अन्तिम दिन कहाँको मौसम कस्तो ?

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । अहिले देशका सुदूरपश्चिम, लुम्बिनी, कर्णाली र गण्डकी प्रदेशका धेरैजसो भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सफा रहेको छ ।
पूर्वी तथा पश्चिम तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागेको छ । दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहने छ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लाग्ने भएकाले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई सेवामा प्रभाव पर्न सक्ने उल्लेख गरिएको छ । देशभरको तापक्रम घट्ने क्रममा रहेकाले यसको असरबाट जोखिन आवश्यक उपाय अपनाउन महाशाखाले सबैमा आग्रह गरेको छ ।








