विद्यालयमा नैतिक शिक्षा पढाउन सांसदहरुको आग्रह(भिडिओ)

काठमाडौँ । सांसदहरूले विद्यालयको आधारभूत तहदेखि नै नैतिक शिक्षाको अध्यापन गराउनुपर्नेमा जोड दिएका छन् ।
बिहीबार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै सांसदहरूले विद्यालयको आधारभूत तहदेखि नै नैतिक शिक्षा पढाउनुपर्ने बताएका हुन् ।
उनीहरुले अहिलेको समयमा नैतिक शिक्षा पढाउनु अत्यावश्यक भइसकेको भन्दै नैतिक शिक्षालाई पाठ्यक्रममा समावेश गराउनुपर्ने बताए । बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले अहिले नैतिक शिक्षा तथा व्यवहारिक शिक्षाको महत्त्व खड्किएको बताइन् ।
उनले विद्यार्थीहरूलाई नैतिक तथा व्यवहारिक शिक्षा दिनुपर्ने बताइन् । त्यस्तै पोषणका कुराहरू र स्वस्थ जीवनशैलीका कुराहरू पनि विद्यालय तहबाट नै अध्यापन गराउनुपर्ने बताइन् । उनले विद्यार्थीलाई मौलिक हक, अधिकार, प्राकृतिक प्रकोप प्रतिकार्य लगायतका कुराहरूको पनि ज्ञान दिनुपर्ने बताइन् ।
उनले भनिन् ‘नैतिक शिक्षा किन हटाइयो ? फेरि राख्ने तयारी गर्नुभएको छ कि छैन ? अहिले नैतिक शिक्षा, व्यवहारिक शिक्षाको महत्त्व खड्किएको अवस्था छ । पाठ्यक्रममा समेट्नुपर्ने विषय पोषणको पनि छ । अहिले धेरैजसो नसर्ने रोगहरू एकदमै बढिरहेको अवस्था छ । घरघरमा सुगर, प्रेसर, दमका बिरामीहरू हुन्छन् । यो विद्यालय तहदेखि पढाउनुपर्नेछ । स्वस्थ जीवनशैली कसरी अपनाउने भन्ने विषयमा । आफ्नो मौलिक हक, अधिकारका कुराहरू, प्राकृतिक प्रकोप प्रतिकार्य लगायतका कुराहरू सानैदेखि सिकाउनुपर्छ । व्यवहारिक शिक्षा पर्याप्त सिकाउनुपर्छ । बरु सैद्धान्तिक कुराहरूलाई कम गरौँ ।’
बैठकमा बोल्दै नेपाली काँग्रेसका सांसद चन्द्र भण्डारीले विद्यार्थीहरूलाई प्रविधिको विकास र सुविधा अनुसारको पाठ्यक्रम बनाएर शिक्षा दिनुपर्ने बताए । उनले व्यवहारिक ज्ञान दिनुपर्नेमा जोड दिए । उनले जंकफुडको प्रयोगका कारण बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पुगिरहेको भन्दै यस सम्बन्धमा सचेतना दिने हिसाबले सानैदेखि सिकाउनुपर्ने बताए ।
उनले भने ‘हामीले गाउँगाउँमा विकास त गर्यौँ । गाउँगाउँमा ग्याँस, बिजुली पु¥पायौँ । गाउँगाउँमा मोटर पुग्यो । तर बिजुलीको प्रयोग एउटा बच्चाले कसरी गर्ने ? ग्याँसको प्रयोग कसरी गर्ने ? मोटरदेखि कसरी सुरक्षित हुने भन्नेकुरा हामीले पाठ्यक्रममा राख्न सकेनौँ । आज मैले पिएचडी गरेँ । पिएचडी गरेर के गर्ने ? म ग्याँस बाट जल्न सुरक्षित हुन सकिँन । पाठ्यक्रममा प्रविधिको विकास अनुसार, सुविधाको विकासअनुसार सानो बच्चाबाट लान सकेनौँ । समाजमा जंक फुड छ । सहरी इलाकामा एउटा बच्चा जन्माउने नाममा औषधिको सेवनले गर्दा कुनै न कुनै अङ्ग बिग्रिएका बच्चाहरू जन्मिएका छन् । यी समस्याहरू छन् । यी कुराहरू गर्नु हुन्छ हुँदैन भन्ने कुरा तल्लो स्तरबाट गएनौँ भने यसले नेपालमा अर्को ठूलो रोग ल्याउने छ ।’
त्यसैगरी, बैठकमा बोल्दै नेकपा९एमाले०की सांसद सरिता भुसालले विद्यार्थीहरूलाई देशभक्तिका कुराहरू पढाउनुपर्नेमा जोड दिइन् । उनले देशभक्तिको कुराहरू पढाएमा विद्यार्थीहरू बिदेसिनबाट रोकिने बताइन् । उनले बालबालिकालाई संस्कारयुक्त शिक्षा दिनुपर्ने बताइन् । संस्कारविहीन शिक्षा मेसिनरी शिक्षा हुने भन्दै यस्तो शिक्षा पाएकाहरूले देश र अभिभावकहरूलाई माया गर्न नसक्ने बताइन् ।
उनले भनिन् ‘अहिले हाम्रा युवाहरू धेरै बिदेसिने परम्परा चलिराखेको छ । बच्चाहरूलाई देशप्रतिको माया र भक्ति भावना जगाउने खालका र धेरै कुराहरू देशमै सम्भव छ भन्नेखालका कुराहरू हामीले पाठ्यक्रममा राख्यौँ भने बच्चाहरू बिदेसिनबाट रोकिन्छन् । विशेषगरी पाठ्यक्रमहरू बनाउँदै गर्दा हाम्रो संस्कृति, भेसभुसा, स्वदेशप्रतिको माया, बच्चाहरूलाई दिइने संस्कार सहितका शिक्षा । यदि हामीले शिक्षासँगै संस्कार राखेनौँ भने मान्छे शिक्षित भएर मात्रै पनि चेतनशील हुन्छ भन्ने छैन । त्यसैले संस्कारलाई पनि हामीले पाठ्यक्रममा राखौँ । व्यवहारिक शिक्षा, नैतिक शिक्षा, संस्कारयुक्त शिक्षाहरू सिकाउन सकेनौँ भने बच्चा मेसिन जस्तो मात्रै उत्पादन हुनेछ । मेसिनरी शिक्षा पाएका बच्चाहरूले न त यो देशलाई माया गर्छ । न त अभिभावकहरूलाई माया गर्छन् ।’
त्यस्तै नेकपा(एमाले)का सांसद डा. कालुराम राईले पनि पाठ्यक्रममा नैतिक शिक्षा जरुरी रहेको धारणा राखे । उनले संविधानले परिभाषित गरेको बहुजातिय, बहुभाषिक र बहुसांस्कृतिक देश अनुरूपको नैतिक शिक्षा दिनुपर्नेमा जोड दिए ।
उनले भने ‘पाठ्यक्रममा नैतिक शिक्षा अत्यन्त जरुरी छ । हाम्रो संविधानले हाम्रो समाज भनेको बहुजातिय, बहुभाषिक, बहुसांस्कृतिक देश हो । त्यसो भएको हुनाले पनि हामीले नैतिक शिक्षा दिँदाखेरि कुनै धार्मिक आस्थाको भरमा नैतिक शिक्षाको नियमहरू बनाउने ? ती कुराहरू ख्याल गरेर पाठ्यक्रममा राख्नुपर्योै ।’
सांसद राईले स्वस्थ जीवनशैली, ट्राफिक सचेतना लगायतका विषयमा पनि पाठ्यक्रममा समावेश गरेर शिक्षा दिनुपर्ने बताए ।








