निजी क्षेत्रको लगानीमा निर्माणाधीन पहिलो अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला फागुनबाट सञ्चालनमा आउने

रंगशालाबाट नेपाली क्रिकेटमा केही योगदान दिन चाहन्छु : शक्ति गौचन

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वसदस्यले शक्ति गौचनले रुपन्देहीमा निजी क्षेत्रको लगानीमा निर्माणाधीन पहिलो अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला फागुनको दोस्रो हातासम्म तयार हुने बताएका छन् । अस्ट्रेलियामा रहेको एक्स्ट्राटेक ओभल नामक आइटी कम्पनीले करिब ४० करोड लागत राखेर उक्त क्रिकेट रंगशालामा निर्माण गरिरहेको हो ।

राष्ट्रिय क्रिकेट टोलीका पूर्वसदस्य शक्ति तिलोत्तमा नगरपालिकास्थित पूर्व दरखसवामा निर्माणधीन सो रंगशालाको ब्राण्ड एम्बासडर हुन् । नेपाली टोलीका पूर्वस्पिनर शक्तिले अहिले रंगशाला पूर्ण रूपमा तयार भइनसकेको उल्लेख गर्दै फागुनको पहिलो वा दोस्रो हप्तासम्म तयारी हुने बताए । रुपन्देहीमा निजी क्षेत्रको लगानीमा निर्माणाधीन पहिलो अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला फागुनबाट सञ्चालनमा आउने भएको छ ।

उक्त रंगशाला प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिता या अन्य खेलहरू खेलाउन सकिन्छ की भन्ने उद्देश्यले नेपाली क्रिकेटको निकाय नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द र क्यानका पूर्वकार्यवहाक सचिव प्रशान्त मल्ललगायतले निरीक्षण गरेका थिए । क्यानका नेतृत्व उक्त मैदान अवलोकनपछि निकै उत्साहित समेत भए । नेपाली क्रिकेटको अविभावक संस्थाका नेतृत्वको भ्रमणपश्चात् उत्साहित हुँदै रंगशालाका ब्राण्ड एम्बासडर तथा मेन्टर शक्तिले यो रंगशालाबाट नेपाली क्रिकेटमा केही योगदान दिन चाहेको धारणा राखे ।

मैदानमा सात वटा पिच रहेको र सो पिच फागुनबाट प्रतियोगिताका लागि योग्य हुने भएको छ । उक्त रंगशालामा पेभेलियन, ड्रेसिङ रुम र अन्य रुमहरू निर्माण पनि भइरहेको छ । उक्त रंगशालामा तत्कालका लागि दर्शक सिट ५ हजार क्षमताको बनाउने र अन्य कृत्रिम बस्ने स्थान बनाइँदैछ । पूर्वक्रिकेटर शक्तिले यो मैदानको उद्घाटन प्रतियोगिता राख्ने योजना रहेको बताए । सन् १९९६ को नेपाली राष्ट्रिय क्रिकेट टोली, सन् २०१४ को राष्ट्रिय टोली र केही अन्य टोलीबीच टी-१० श्रृंखला आयोजना गर्ने योजना रहेको उनको भनाई छ ।

हाल रंगशालामा निर्माण गर्ने क्रममा खराब मौसमले केही प्रभावित भइरहेको छ । मैदानमा घाँस रोप्ने काम भइरहेको छ । सो रंगशालामा क्युरेटर माधव पाठकले काम गरिरहेका छन् । फागुनबाट राम्रो पिच तयार हुने क्युरेटर पाठकले बताए । केही दिनमा पिचको काम हुनेछ भने आउट फिल्डको काम पनि शुरु हुनेछ । केही स्थानमा भने रोपिएका घाँस घाट्ने काम भइरहेको छ । घाँस नआएको स्थानमा घाँस रोपिन थालिएको रंगशालाका क्युरेटर माधव पाठकले बताए । माघको पहिलो हप्ताबाट प्यारापिट र प्लयरको चेन्जिङ रुम बन्ने उनको दाबी छ ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्द रंगशालाको विकास देखेर निकै उत्साहित हुनुभएको उनको भनाई छ । छोटो समयमा नै भौतिक पूर्वधार बनेको र मैदानमा घाँस पनि राम्रो भएकाले क्यानका अध्यक्ष चन्द खुशी भएको निर्माणमा सक्रिय टोलीको भनाई छ ।

सो रंगशाला एक्स्ट्राटेक ओभल प्रा.लि.का निर्देशक विनोद कुँवरको सक्रियतामा बन्न लागेको हो । करिब पाँच बिघा क्षेत्रफलमा उक्त रंगशाला बनिरहेको छ । उक्त रंगशालाको उद्घाटन तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँण, सिद्धार्थ नगरपालिकाका उपप्रमुख उमा अधिकारी र क्यानका सचिव प्रशान्त विक्रम मल्ल लगायतले गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *