ठुटो नेपालको कथा

चुरोटका ठुटा बटुल्ने सन्तोष र सफा नेपाल

काठमाडौं । काठमाडौंका सन्तोष नेपाली २६ वर्षका भए । उनी सानैदेखि प्रकृति प्रेमी थिए, प्रकृतिसँगै रमाउँथे र प्रकृतिसँगै यात्रा गर्थे ।

सन्तोषलाई सानैदेखि वातावरण सफा र स्वच्छ राख्नुपर्छ भन्ने थाहा थियो । वातावरण फोहोर भएको उनलाई मन पर्दैन थियो । त्यसैकारण उनी सडकमा जथाभाबी फालिएका फोहोरहरू सफा गरिहाल्थे । अनि चुरोटका ठुटाहरू जम्मा गरिरहन्थे ।

वातावरण र प्रकृतिसँगै यात्रा गरिरहने सन्तोषले चुरोटका ठुटाहरू फाल्ने विकल्प नदेखेपछि यसबारे अध्ययन गरे । चुरोटका ठुटाहरूका फाइदा, यसले वातावरणमा पार्ने असरबारे लामो समय सन्तोषले अध्ययन गरिरहे ।

लामो समयको अध्ययनपछि सन्तोषले ‘ठुटो नेपाल’ नामक संस्था खोलेर औपचारिक रूपमै चुरोटका ठुटाहरू सङ्कलन गर्न थाले । ‘सानैदेखि प्रकृतिप्रेमी थिएँ, यात्रा गर्ने क्रममा चुरोटको ठुटा फ्याँक्ने ठाउँ नभेटिए पछि ठुटोको प्रयोगबारे अध्ययन गरेँ । अनि ठुटो नेपाल खोलेँ,’ उनले भने ।

सडक, पसल र बाटोमा भेटिएका चुरोटका ठुटा सङ्कलनमा सन्तोषको लगाव यति देखियो की उनी ठुटाहरूबाटै विभिन्न आकर्षक र लोभ लाग्दा सामग्री तयार पार्न थाले । चुरोटका ठुटाहरू बटुलेर सन्तोष र उनको संस्थामा आबद्ध भएकाहरूले ठुटाहरूबाट ज्याकेट, कुसन, गुडिया लगायतका सामग्रीहरू बनाउने गर्दछन् ।

ठुटो नेपाल खोलेर टन्न पैसा कमाउने उद्देश्य सन्तोषको छैन । उनलाई त, वातावरण सफा राख्नु छ अनि युवाहरूलाई यसबारेमा सचेतना दिनु छ । ‘‘फ्याँकिएका ठुटाहरू बटुलेर ज्याकेट, गुडिया र कुसन जस्तो सामान बनाइन्छ,’ उनी भन्छन्, ‘ठुटो नेपाल सञ्चालन गर्नुको मुख्य उद्देश्य भनेको वातावरण स्वच्छ राख्नु हो ।’

उनको यो काममा उनी मात्रै होइन, उनका धेरै साथीहरूको साथ छ । साथीहरूको सहयोगले नै उनी चुरोटका ठुटा बटुलेर समृद्धि खोज्दैछन् र सफा वातावरण बनाउँदै छन् । सन्तोष चुरोटका ठुटाहरू मात्रै होइन, अन्य फोहोरबाट पनि मोहोर बनाउने सोचमा छन् । उनी यस विषयमा पनि अध्ययन गर्दै छन् । उनी भन्छन्, ‘काठमाडौंमा जति ठुटाहरू देख्छौं त्यसलाई बटुलेर हामी पुनः प्रयोग गरिहाल्छौँ ।’

सडकमा फ्याँकिएका ठुटाहरू सङ्कलन गर्नुको कारण वातावरण सफा राख्नु मात्रै होइन, युवाहरूलाई स्वदेशमा जीवन देखाउनु पनि रहेको सन्तोष बताउँछन् । फोहोरबाट मोहोर र ठुटाबाट संवृद्धि देख्न सकिन्छ भन्ने सन्देश दिन चाहेको उनी बताउँछन् । उनी भन्छन्, ‘युवाहरूलाई विदेशमा भन्दा नेपालमा नै बस्नुपर्छ भन्ने सन्देश दिनको लागि पनि हो । अरू फोहोरले भन्दा चुरोटको ठुटाहरूले वातावरणमा धेरै असर पार्ने भएकाले यसको नियन्त्रणको लागि ठुटो नेपाल खोलिएको हो ।’

ठुटा सङ्कलन कसरी हुन्छ ?
ठुटो नेपालको मुख्य कार्यालय काठमाडौंको बौद्धमा छ । वातावरणलाई सफा राख्न खोलिएको यो संस्था अहिले हुर्कँदै छ । चुरोटका ठुटा सङ्कलनका लागि काठमाडौंका प्राय होटेलमा डस्टविन राखिएका छन् ।

होटेल, विद्यालय र सार्वजनिक कार्यक्रममा सन्तोष र उनका साथीहरू चुरोटका ठुटाबारे जानकारी दिन्छन् । विभिन्न सचेतनामूलक कार्यक्रम गर्छन् र बाटोमा फालिएका ठुटाहरू बटुल्दै आएका छन् । यसरी जम्मा गरिएको ठुटोहरूबाट ज्याकेट र गुडिया लगायतका सामग्री बनाउने उनी बताउँछन् । झट्ट हेर्दाका काम नलाग्ने चुरोटका ठुटामा उनी कागज, खेलौना मात्र होइन कीटनाशक औषधिको विकल्प समेत देख्छन् ।

यस्ता ठुटालाई प्रशोधन गर्ने जिन तयार गर्ने र बेच्नका लागि तयार गर्ने सोच उनको छ । ‘चुरोट खाएर ठुटा फ्याक्नेहरुका लागि सुविधा दिएका छौं । यसबाट हामीले ज्याकेट बनाएका छौं,’ सन्तोषले भने, ‘जसमा ७५० ग्राम फाइबर लाग्छ, त्यो हामीले सबै चुरोटको ठुटाबाट बनाएका थियौँ । यसबाटै कुसनहरू,गुडियाहरू पनि बनाएका छौं ।’

सरकारसँग अपेक्षा, अन्य संस्थासँग सहकार्य
सन्तोष र उनका साथीहरू विभिन्न संघ संस्थाहरूसँग सहकार्य गरेर ठुटाहरू बटुल्ने गर्दछन् । सङ्घसंस्थाको सहयोगमा उनले धेरै काम गरेका छन् तर यसले मात्रै चाहे जस्तो सफलता हात पार्न भने सकेका छैनन् ।

उनी सरकारले पनि यस विषयमा ध्यान देओस् भन्ने चाहन्छन् । सरकारसँग सहकार्यको लागि प्रयास गरेको भए पनि त्यो सफल नभएको उनी गुनासो गर्छन् । उनी सरकारले कार्यविधि बनाएर आर्थिक र प्राविधिक सहयोग गरे यसमा राम्रो गर्न सकिने बताउँछन् । ‘हामी भरखरको युवाहरू हौँ । हामीले विदेश नगएर नेपालमा नै केही गर्न सक्छौँ भनेर यो अभियान सुरु गरेका छौँ,’ उनले भने, ‘यसमा सरकारले पनि केही सहयोग गरिदिए हुन्थ्यो, हाम्रो कामप्रति पनि ध्यान गए हुन्थ्यो भन्ने चाहन्छौँ ।’

आर्थिक अभावकै कारण सन्तोषको यो काम अहिले रोकिएको छ । आर्थिक सङ्कलन गर्न लागिरहेको र यसबारे स्थानीय सरकार र सर्वसाधारणलाई थप बुझाउँदै यो अभियान फेरी सुरु गर्ने उनी बताउँछन् । उनी गुनासो गर्दै भन्छन्, ‘अहिले हाम्रो काम रोकिरहेको छ । हामीसँग सबै कुराहरू छ । तर हामीलाई चाहिने आर्थिक नभएको कारण हामीले काम रोक्न पर्‍यो । हामीहरूको काम जनताहरू र सरकारसामु पुग्न सकेको छैन ।’

उनी सरकारबाटमात्रै होइन उद्योगी र व्यवसायीबाट पनि आर्थिक सहयोगको अपेक्षामा छन् । उद्योगीहरूले पनि सहयोग गरेमा यो अभियानलाई थप परिष्कृत गर्दै अगाडि लैजाने सन्तोषको योजना छ । ‘हामीलाई सरकारबाट केही सहयोग मिल्यो भने हामी अगाडी बढ्न सक्छौँ । अहिले रोकिएको कामहरू फेरि सुरु गर्न रहर छ,’ सन्तोषले अगाडि भने, ‘सरकार मात्रै नभएर उद्योगी र व्यवसायीहरूले पनि यो अभियानलाई सकारात्मक रूपमा लिनुभए हुन्थ्यो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *