१८ किलो गाँजासहित ४ जना पक्राउ

काठमाडौं । विभिन्न ठाउँबाट १८ किलो अवैध लागूऔषध गाँजासहित ४ जना पक्राउ परेका छन् ।
हेटौंडा उपमहानगरपालिका–४ हुप्राचौरबाट ११ किलो अवैध लागूऔषध गाँजासहित ४४ वर्षीया सरिता अर्याललाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय टौडाबाट खटिएको प्रहरीले बागमती प्रदेश ०३–००५ प ६२३० नम्बरको स्कुटरमा सवार उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
यसतै बेलका नगरपालिका–८ कोठुबाट अवैध लागूऔषध गाँजा करिब ६ किलो र नगद ५ लाख २० हजार ५ सय रूपैयाँसहित २ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही नगरपालिका–३ बस्ने २१ वर्षीय पदम बहादुर तामाङ र सोही नगरपालिका–९ बस्ने २८ वर्षीय बम बहादुर राई रहेका छन् ।
प्रहरी चेकपोष्ट कोठुबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा र नगदसहित पक्राउ गरेको हो ।
यता, ललितपुरको गोदावरी नगरपालिका–१० प्याङगाउँबाट अवैध लागूऔषध गाँजा १ किलो ३ सय ग्रामसहित कोन्ज्योसोम गाउँपालिका–५ भारदेउ बस्ने २८ वर्षीय राम तामाङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
अवैध लागूऔषध ब्राउनसुगरसहित २ जना पक्राउ
वीरगञ्ज महानगरपालिका–८ भानुचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ सय ६ ग्रामसहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा बारा जितपुर सिमरा उपमहानगरपालिका(७ बस्ने बिनोद प्रसाद गुप्ता र फिरोज चौधरी रहेका छन् ।
प्रहरी चौकी बसपार्क समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।








