डा. शेखर कोइरालाले भने : पार्टीका साथीहरुलाई न्याय गर्न चाहेर पनि सम्भव भएन

राष्ट्रिय सभाको निर्वाचनमा उम्मेदवार छनोटको विषयलाई लिएर कांग्रेसभित्र चर्को असन्तुष्टि देखिएका बेला नेता डा. शेखर कोइरालाले पनि आफ्नो धारणा सार्वजनिक गरेका छन्।
उनी समूहकै नेता महामन्त्री गगन थापाले निर्णयमै फरक मत राखेका थिए। सोही समूहका अन्य नेताले पनि असन्तुष्टि जनाइरहेका छन्।
तर नेता कोइरालाले आफूले चाहेर पनि सबैलाई न्याय गर्न नसकेको बताएका छन्। उनले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सिट सिमित र आकांक्षी धेरै हुँदा न्याय गर्न नसकिएको बताएका छन्। यस्तै उनले उम्मेदवार छनोट गर्ने नेर्ततवको शैलीका कारण पनि भनेजस्तो नभएको बताएका छन्।
कांग्रेसले १० सिट पाएकोमा ७ सिट देउवाले आफ्नो पक्षलाई र ३ सिट शेखर समूहका नेतालाई दिएका छन्।
असन्तुष्टिका बाबजुद पनि कांग्रेसका १० जना उम्मेदवार र सत्ता गठबन्धनका उम्मेदवारलाई जिताउने जिम्मेवारी भएको समेत प्रश्ट पारेका छन्।
यस्तो छ शेखरको धारणाः
साथीहरु,
राष्ट्रिय सभा सदस्यको आसन्न निर्वाचनका लागि नेपाली कांग्रेसको तर्फबाट आज १० जना साथीहरुले उम्मेदवारी दर्ता गराउनु भयो । पार्टी निणर्यबाट छानिएका सबै उम्मेदवार साथीहरुलाई भारी मतले जिताउने जिम्मेवारी हामी सबैको काँधमा आएको छ । सत्ता गठबन्धनमा आवद्ध दलहरुबाट राष्ट्रिय सभामा उम्मेदवारी दर्ता गराउनु भएका सबैलाई जिताउनु पर्ने अभिभारा पनि हामीसँग छ ।
राष्ट्रिय सभा सदस्यको उम्मेदवार चयन प्रक्रिया सहज थिएन । कांग्रेस जस्तो लामो ईतिहास भएको संघर्षशील पार्टीमा धेरै निष्ठावान, निःस्वार्थ, योग्य र सक्षम आकांक्षी साथीहरुको सुची लामो थियो । यसर्थ सिमित सिटका कारण पार्टीका साथीहरुलाई न्याय गर्न चाहेर पनि सम्भव भएन । तर पनि पार्टीमा अवसरको समान बितरण र सबै पक्षको हित स्थापित होस् भन्नेमा हामी निकै चनाखो थियौँ । यति हुँदा हुँदै हामी कति सफल या असफल भयौँ, पार्टीको बर्तमान ढाँचा, सोच र निणर्य प्रकियालाई प्रभावति गर्ने शक्ति के कस्ता छन् भनेर साथीहरुले मनन गर्नुभएको र गर्नुहुनेछ भन्ने बिश्वास लिएको छु ।
न्यायोचित टिकट बितरण गर्न असमर्थ पार्टी निणर्यमा मैले गल्ती-कमजोरी गरेको रहेछु भने म त्यसलाई स्वीकार्दै साथीहरुको सल्लाह र सुझावबाट भबिष्यमा अगाडी बढ्ने प्रण गर्दछु ।
मेरो अभियान पार्टीमा अवसरको न्यायोचित बितरण होस् भन्ने नै हो । यो अभियानमा साथीहरुबाट बिगतमा झै निरन्तर साथ र सहयोग पाइरहने अपेक्षा समेत गर्दछु ।
जय नेपाल ।








