राष्ट्रिय सभा निर्वाचन

ओलीले थापेको ढोक्सा रित्तै !

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनको सम्मुखमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली वर्तमान सत्ता गठबन्धनसँग एक्कासि नजिकिए । ओलीले गठबन्धनसँग चुनावमा शून्य नबनाउन आग्रह गर्दै ६ सिट मागे । ओली, प्रचण्ड र देउवा यसरी नजिकिए की मानौँ राजनीतिमा एक महागठबन्धन बन्दैछ ।

तर, गठबन्धन दलकै अर्को घटन नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल ओलीको विपक्षमा उभिएपछि महागठबन्धन बन्न सकेन । प्रचण्ड र देउवा ओलीलाई गठबन्धनमा भाग दिएर मिलाउन तयार देखिए पनि अध्यक्ष नेपाल सहमत भएनन् । अन्नत, अध्यक्ष ओलीकै भाषामा उनले थापेको ढोक्सा रित्तै भयो ।

शुक्रवार बसेको नेकपा एमालेको सचिवालय बैठकले १९ वटै सिटमा उम्मेदवारी दिने निर्णय गरेको थियो । त्यसै अनुरूप एमालेले रिक्त रहेका सबै सिटमा उम्मेदवारी दिँदै छ ।

गठबन्धनमा प्रमुख प्रतिपक्ष दलसँग एमालेले भाग खोज्नु आफैमा उचित थिएन । कतिपयले एमालेको यो मागलाई टिआरसी विधेयक, संसद सञ्चालनसँग सम्झौता गर्न खोजेको आरोप पनि लगाएका थिए ।

उसो त, प्रचण्ड पनि सहज संसद् सञ्चालन, सङ्क्रमणकालीन न्याय टुङ्ग्याउन र लोकतन्त्रको रक्षा गर्न पनि एमालेसँग मिल्न सकारात्मक थिए । तर गठबन्धनका अन्य दलकै अडानका कारण उनी सफल भएनन् । अन्ततः ओलीले थापेको ढोक्सा र प्रचण्डले बनाएको रणनीति एकैपटक तुहिएको छ ।

गठबन्धनमा मिल्यो भाग

यता, लामो समय देखि भागबण्डामा अल्झिएको सत्ता गठबन्धनको रडाको पनि शान्त भएको छ । गठबन्धनले पनि राष्ट्रिय सभाको १९ सिटमा भागबन्डा मिलाएको छ । आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले सिट बाँडफाँट टुङ्ग्याएको हो ।

राष्ट्रिय सभाको १९ सिटमध्ये नेपाली काँग्रेसले १०, नेकपा माओवादी केन्द्रले ६ नेकपा एकीकृत समाजवादीले २ र जनता समाजवादी पार्टीले १ सिट पाएका छन् ।

गठबन्धनको भागभण्डाबारे कांग्रेसका प्रमुख सचेतक रमेश लेखक भन्छन्– ‘१९ वटा पदका लागि १० वटा स्थानमा नेपाली काँग्रेसले, ६ वटा माओवादी केन्द्र, २ वटा एकीकृत समाजवादी र एउटा जनता समाजवादी पार्टी, नेपालले उम्मेदवारी दिने गरी टुंगो लागेको छ । तदनुरूप अहिलेको गठबन्धनले उम्मेदवारी दिनेछ ।’

राष्ट्रिय सभामा आगामी फागुन २० गते राष्ट्रपतिबाट मनोनीत एक जनासहित २० जनाको पदावधि सकिँदैछ । जसमा एमालेबाट सबैभन्दा बढी आठ जना, कांग्रेसबाट चार जना, माओवादी केन्द्रबाट तीन जना, एकीकृत समाजवादीबाट दुई जना, जनता समाजवादी पार्टी (जसपा)बाट एक जना स्वतन्त्र एक जना मनोनीत (एमाले) एक जना रिक्त हुँदैछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *