राष्ट्रियसभा निर्वाचन

ओलीको इन्ट्रीले गठबन्धनमा खैलाबैला, माधवलाई डर !

काठमाडौं । राष्ट्रियसभाको निर्वाचनमा प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई पनि सिट दिने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्तावले गठबन्धनमा असन्तुष्टि देखिएको छ । बिहीबार बिहान बसेको गठबन्धनको बैठकमा एमाले अध्यक्ष केपी ओलीको आग्रहमा प्रचण्डले गरेको प्रस्तावमा गठबन्धनका नेताहरूले असहमति जनाएका हुन् ।

सिट बाँडफाटका विषयमा छलफल गर्न बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठक एमालेको प्रस्तावमै अल्झियो । तर भागबन्डा गर्न सकेन ।

बैठकपछि नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सत्तारुढ गठबन्धनमा राष्ट्रिय सभाको निर्वाचनलाई लिएर सिट बाँडफाँटमा अझै सहमति जुट्न नसकेको सुनाए । उनले भने– ‘मूलतः राष्ट्रिय सभाको विषयलाई लिएर छलफल भएको छ । थप छलफल गर्न बाँकी छ, त्यसका लागि फेरि साँझ, भोलि बिहान बस्ने गरी उठेका छौँ । एमालेसँगको छलफल, समसामयिक राजनीतिक विषयमा भइरहेको हुनाले एमालेसँगको संवाद पनि समसामयिक विषयमा जारी रहन्छ ।’

प्रधानमन्त्री दाहाल मंगललबारको गठबन्धनको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभाको चुनावमा आफ्नो दललाई शून्य नबनाउन आग्रह गरेको ब्रिफिङ गरेका थिए । ओलीको प्रस्तावमा प्रचण्ड र देउवा सकारात्मक पनि बनेका थिए । तर गठबन्धनका अरु घटकहरूले नमान्दा बिहीबार बिहानको बैठक निष्कर्षविहीन बन्न पुगेको हो ।

एमालेलाई सिट दिने विषयमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले फरक मत राखेका थिए । राष्ट्रियसभामा एमालेलाई पनि समेट्ने विषयविरुद्ध उनी कडा रूपमा प्रस्तुत भएको एक नेताले बताए ।

नेपालको भनाई उद्धृत गर्दै ती नेताले भने, ‘हाम्रो गठबन्धन एकातिर छ, तर एमालेलाई के बाध्यता भएर वा उद्देश्य राखेर राष्ट्रिय सभामा तीन सीटसम्म दिने भनियो ?’

नेकपा एसले मात्रै होइन, एमालेसँगको संवादलाई लिएर कांग्रेसकै नेताले पनि असन्तुष्टि जनाएका छन् । संस्थापन इतर पक्षका नेता डा.शेखर कोइरालाले कोशीमा एमालेको सहयोगमा सरकार बनाउँदा गठबन्धन नै धरापमा प¥यो भनेर रोइलो गर्नेहरू अहिले एमालेसँग मिल्न थालेको भन्दै आक्रोश पोखेका छन् ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै शेखरले भनेका छन्,‘हिजो कोशीमा एमालेको सहयोगमा सरकार बनाउँदा केन्द्रको गठबन्धन नै धरापमा पर्‍यो भनेर रोइलो गर्नेहरू नै आज राष्ट्रियसभा निर्वाचनमा एमालेसँग मिल्न थालेछन् ।’

गठबन्धनमा रहेका दलहरूलाई विभिन्न काण्डबाट बच्न एमालेको साथ चाहिएको आरोप लगाउँदै उनले एमालेलाई के चाहियो ? भनेर प्रश्न गरेका छन् । ‘कारण स्पष्ट छः सत्ता गठबन्धनका कुनै दललाई टीआरसी विधेयकमा र कुनै दललाई विभिन्न काण्डबाट बच्न एमालेको साथ चाहिएको छ । अनि एमाले ?’, उनको भनाइ छ ।

आउँदो माघ ११ गते १९ सिटका लागि हुने चुनावमा गठबन्धन दल मिल्दा एमालेका एक जना पनि उम्मेदवारले जित्ने अवस्था छैन । फागुन २० गते एमालेबाट निर्वाचित ९ जना पदमुक्त हुँदैछन् । ९ जना पदमुक्त हुँदा गठबन्धनका कारण एक सिट पनि नआउने भएपछि एमाले नेतृत्वले आफूलाई शून्यमा नपार्न आग्रह गरेको हो । एमालेलाई ३ सीटसम्म दिन कांग्रेस र माओवादीको शीर्ष नेतृत्व तयार रहेको नेताहरूको दाबी छ ।

एमालेलाई पनि समेट्ने बालुवाटार बैठकमा प्रस्ताव भएपछि दलहरू आन्तरिक छलफलमा जुटेका छन् । यद्यपि, गठबन्धन दलभित्र खेलेर भत्काउने रणनीति बनाइरहेको एमालेले राष्ट्रियसभाको निर्वाचनलाई उपयोग गर्न खोजेको हुनसक्ने नेताहरूको विश्लेषण छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *