एमजी मोटर्सको विद्युतीय गाडीमा आगलागी, घटना गुपचुप पार्दै कम्पनी (भिडियोसहित)

काठमाडौँ । काठमाडौँमा एमजी मोटर्सको विद्युतीय गाडीमा आगलागी भएको छ।

बुढानीलकण्ठस्थित एक घरमा चार्जिङका क्रममा उक्त कम्पनीको विद्युतीय गाडीमा आगलागी भएपनि कम्पनीले भने गुपचुप पार्ने प्रयास गरेको छ।

गोरखाका सुदीप लामिछानेको उक्त गाडीमा पुस ९ गते राति आगो लागेको हो। तर एकसाता बितिसक्दा पनि उक्त घटना र के कारणले भएको हो भन्ने कम्पनीले जानकारी नै नभएको भन्दै आलटाल गरिरहेको छ। आगलागीबाट गाडी पूर्णरुपमा नष्ट भएको छ।

बुढानीलकण्ठ नगरपालिका देउवा चोक नजिकै एक घरमा बागमती प्रदेश ०१ ०२७ च १५८१ नम्बरको गाडी आगलागीबाट नष्ट भएको हो।

यस विषयमा मकालुखबरले प्रश्न गर्दा कम्पनीले यस विषयमा अहिलेसम्म थाहा नभएको प्रतिक्रिया दिएको छ। तर प्रहरीले भने घटना लगतै कम्पनीका प्रतिनिधि समेत घटनास्थलमा पुगेको जानकारी दिएको छ।

उनीहरूको समेत उपस्थितिमा घटनाको मुचुल्का गरिएको थियो। त्यतिबेला कम्पनीले के कारणले आगलागी भएको हो भन्ने आफू पनि अनुसन्धान गर्ने प्रहरीलाई बताएको थियो।

गाडीधनी लामिछानेले पनि घटनास्थलमा पुगेर कम्पनीका प्रतिनिधिले हेरिसकेको र आफूलाई छलफलका लागि बुधबार बोलाएको बताए। घटना गुपचुप पार्नैका लागि उनलाई सुटुक्क मिलाउने प्रयास कम्पनीले गरिरहेको छ।

बुढानीलकण्ठ प्रभागका प्रहरी निरीक्षक योगराज ढकालका अनुसार गाडी धनीले आफन्तको घरमा गएको बेला गाडी चार्ज गरेका थिए। तर चार्जरसहित गाडी जलेको हो।

घटना बारे सोध्दा कम्पनीका प्रतिनिधिले भने– कतिपय विषयमा नबोलेरै जितिन्छ। खुल्ला स्थानमा राखेर चार्ज गरेका कारण अन्य धनजनको क्षति भने हुन पाएन।


प्रहरीका अनुसार चार्जिङका क्रममा मध्यराति १ बजे गाडीमा आगलागी भएको हो। गाडी धनीले पनि आगलागीका विषयमा आफू र बिक्रेताबाहेक अन्यलाई जानकारी नभएको जवाफ दिएका छन्।

नेपालका लागि एमजी मोटर्सको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्स हो ।       

प्रतिक्रिया

One thought on “एमजी मोटर्सको विद्युतीय गाडीमा आगलागी, घटना गुपचुप पार्दै कम्पनी (भिडियोसहित)

  1. यो एमजीमा समस्या देखा पर्न थालेको केही समय भई सक्यो
    म आफै नेपालमा जुन बेला एम जी आयो सोही समयको ग्राहक हु, डर लागिराछ कतै गल्ती त गरिन इभि लिएर भनेर
    कम्पनीले खासै राम्रो रेस्पोन्स दिँदैन, तनाव पो भयो त के गर्ने भनेर
    झन् मैले एमजी लिए पछि मेरा आफन्त साथीभाइ पनि लिए, सारै डर पो लागोत हजुर !

Leave a Reply

Your email address will not be published. Required fields are marked *