धमिलो बन्दै रविको छवि !

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नारायणगढ–बुटवल सडक खण्डमा पदयात्रा गरेकै बेला उनी विरुद्ध मिडियामा सहकारीमा ठगी गरेको समाचार सार्वजनिक भयो । पोखरमा खोया प्रहार भएको समाचारले तातेको सामाजिक संजाल सेलाउन नपाउँदै रविले सहकारीमा लुट गरेको समाचारले प्राथमिकता नपाउने कुरै भएन । सहकारी लुट प्रकरण सार्वजनिक भएपछि रविको नारायणगढ बुटवल यात्रा पनि खल्लो भयो ।

सडकको अवस्था बुझ्न गएका उनलाई दुई पटकसम्म अत्यधिक मतले प्रतिनिधिसभा सदस्यमा जिताएका चितवन— २ का मतदाताले प्रश्न गर्न थाले । हामीले सहकारीमा जम्मा गरेको रकम कसरी ग्यालेक्सी टिभीमा पुग्यो र हाम्रो बचत कहिले फिर्ता हुन्छ ? रविले आफूलाई थाहा नभएको टालटुले जवाफ दिए । र नागरिकले उनलाई पत्याउन छाडिसके ।

टेलिभिजन कार्यक्रम प्रस्तोताबाट कमाएको लोकप्रियतालाई भोटको राजनीतिमा सटही गरेर राष्ट्रिय राजनीतिमा एकाएक चर्चामा आएका लामिछाने पछिल्लो समय एकपछि अर्को विवाद र घोटालामा तानिँदा उनको आलोचना बढ्दै गएको छ ।

पछिल्लो समय त रविको आलोचना मात्रै होइन, रविले कसरी जनतालाई झुक्काइरहेका छन् भन्ने विषय पेचिलो बन्न पुगेको छ । यसको एउटै कारण धेरै जसो विवादमा मुछिनु ।

यति मात्रै होइन, लामिछानेले सत्ता र शक्तिको भरमा आफ्ना कमजोरी लुकाउन केके हत्कण्डा प्रयोग गरिरहेका छन् भन्ने तथ्य पनि बिस्तारै खुल्दै जान थालेको छ ।

त्यागिसकेको नागरिकतालाई देखाएर राजनीतिमा आएका रवि सत्तारोहण गरेको ३२ दिनमै कसरी बाहिरिनुपर्‍यो भन्ने तथ्य त लुकेकै छैन । अब उनले नागरिकले खाई नखाई जम्मा गरेको सहकारीको रकम अपचलनका बारेमा पनि जवाफ दिँदै हिँड्नुपर्ने भएको छ । पार्टी खोलेर लोकप्रिय भएका उनी र उनको पार्टी दिनदिनै विवादित हुँदैछन् ।

सहकारी प्रकरण र रविको कनेक्सन

हुन त रवि, डेढ वर्ष अघिसम्म एक जना सञ्चारकर्मी थिए, टेलिभिजनका सञ्चालक थिए । सिधा कुरा जनतासँग कार्यक्रम सञ्चालन गरेर कमाएको लोकप्रियताका आधारमा गितेन्द्रबाबु राई (जीवी)सँग मिलेर ग्यालेक्सी टिभी खोलेका रविको तामझाम सामान्य थिएन । यो एउटा प्रश्नयुक्त तामझाम थियो, यसको उत्तर अहिले टिभी बन्द भएर भेटाइएको छ ।

ग्यालेक्सी टिभीमा १५ प्रतिशत सेयरसहित प्रबन्ध निर्देशकको भूमिकामा थिए रवि । ग्यालेक्सी छाड्दा त्यो सेयर पनि बेचेर निस्किएको भए पनि टिभी स्थापना र सञ्चालनका क्रममा उनले प्रयोग गरेको रकमका बारेमा अहिले सर्वत्र चासो र बहस भइरहेको छ ।

पुराना र मूलधारका दलहरूलाई गाली गरेर राजनीतिमा उदाएका रवि आफ्नो कारणले मात्रै आलोचित छैनन्, उनले पार्टीमा भित्र्याएका नेताहरूका कारण पनि बदनामी कमाइरहेका छन् । आफूसँगै पार्टीका नेताहरू पनि एकपछि अर्को काण्डमा फस्दै जाँदा स्थापनाको ६ महिनामा नै संसद्मा चौथो दल बनेको रास्वपाको हैसियत आगामी चुनावमा के होला भनेर समेत चर्चा हुन थालेको छ ।

सस्तो लोकप्रियता र सार्वजनिक खपतका लागि जे पनि भनिदिने रविको उद्देश्य त त्यति बेला नै स्पष्ट भइसकेको थियो, जति बेला बालकोटको बार्दलीमा बसेर केपी ओलीको निगाहमा प्रचण्ड सरकारको उपप्रधान तथा गृहमन्त्री पद लिन सफल भए ।

नागरिकताबारे अदालतमा मुद्दा रहेकै बेला तालुकदार मन्त्रालय ताक्नुले नै उनको नियत स्पष्ट पारिसकेको थियो । यति मात्रै होइन, मन्त्रालयमा बसेर राष्ट्रिय परिचयपत्रको सर्भर एक निजी कम्पनीलाई दिलाउने उनको नियत पनि उति बेला नै छर्लङ्ग भइसकेको थियो ।

रवि र उनको दल अहिले मिसन २०८४ मा छ । आगामी चुनावमा एक्लै बहुमत ल्याउने र देश चलाउने ठूला कुरा उनी र उनको पार्टीका नेताहरूले गरिरहेका छन् । तर, जनताले अहिले दिनानुदिन भोगिरहेको समस्याका बारेमा उनी चिन्तित छैनन् । जनतालाई अहिले समाधान चाहिएको छ, उनी अर्को चुनाव भनिरहेका छन् । अहिलेको मुद्दालाई चार वर्ष बोकिरहने र भोटसँग साट्ने उनको नियत स्पष्ट छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *