राष्ट्रिय सभा निर्वाचन

गठबन्धनमा सकस, सहयात्रीको खोजीमा एमाले

काठमाडौं । आगामी माघ ११ गते राष्ट्रियसभा सदस्यका लागि निर्वाचन हुँदैछ । निर्वाचन आयोगले १९ सदस्यका लागि हुने उक्त निर्वाचनको तालिका समेत सार्वजनिक गरिसकेको छ । जसअनुसार आयोगले निर्वाचनका लागि मतदान स्थल तोकिसकेको छ ।

निर्वाचन नजिकिँदै गर्दा सत्ता गठबन्धनभित्र सदस्य संख्या भागबन्डाको विषय निकै पेचिलो बन्दै गएको छ । यही भागबन्डा मिलाउनका लागि सत्ता गठबन्धनमा आबद्ध दलका नेताहरूबिच पटक पटक छलफल भइसकेको छ । तर छलफलले सार्थकता भने पाउन सकेको छैन ।

सत्ता गठबन्धनलाई भागबन्डा मिलाउनै कठिन हुने निश्चित छ । एकातिर गठबन्धनकै प्रमुख दलहरूको बढी सिट लिने रणनीति र अर्कोतिर नयाँ गठबन्धनको खोजी गरिरहेको एमालेका कारण सत्ता गठबन्धनमा सिट बाँडफाँड पेचिलो बन्न गएको हो ।

निर्वाचनका लागि २३ पुसमा उम्मेदवारको मनोनयन दर्ता छ अर्थात् अब दुई साताभित्र उम्मेदवारको टुंगो लगाइसक्नुपर्ने छ । तर दलहरूले केही आन्तरिक तयारी र गठबन्धनको सैद्धान्तिक सहमति बाहेक अन्य छलफल गरेका छैनन् । तर, निर्वाचनको मिति नजिकिँदा आकाङ्क्षीहरूको लर्को छ भने नेताहरूलाई गठबन्धनभित्रै भागबन्डा मिलाउन हम्मे हम्मे पर्ने अवस्था छ ।

कांग्रेस सहमहामन्त्री बद्री पाण्डेका अनुसार सत्तारुढ दलहरूबिच राष्ट्रिय सभा सदस्य निर्वाचनमा पनि तालमेल गरेर भाग लिने सहमति भइसकेको छ । त्यति मात्रै होइन, अहिले जुन दलको जति सिट रिक्त हुँदैछ, त्यति सिट सम्बन्धित दलले नै पाउने भन्नेसमेत दलहरूबिच सहमति भित्रभित्रै सहमति भइसकेको छ ।

सहमहामन्त्री पाण्डे भन्छन्, ‘अहिले जसको जति सिट रिक्त हुँदैछ, ती सिट सम्बन्धित दलले नै पाउने हुन्, त्यो पहिल्यै सहमति भइसकेको छ, बाँकी रहेका सिटको मात्रै भागबन्डा गर्ने हो ।’

राष्ट्रिय सभामा पदावधि सकिन लागेका २० मध्ये सत्ता गठबन्धन दलहरू नेपाली कांग्रेसका ४, नेकपा माओवादी केन्द्रका ३, नेकपा एकीकृत समाजवादीका २ र जसपाका १ जना सांसद छन् । त्यसबाहेक गठबन्धनबाटै निर्वाचित भएका स्वतन्त्र सांसद खिमलाल देवकोटा र राष्ट्रपतिबाट मनोनीत विमला राई पौड्यालसहित एमालेका मात्रै ९ सिट गरी गठबन्धनले जम्मा १० सिटको भागबन्डा अब मिलाउनुपर्ने हुन्छ ।

मूलतः अहिले राष्ट्रिय सभामा सामेल दलबाट मात्रै उम्मेदवारी दिने वा गठबन्धनमा सामेल सबै दलबाट उम्मेदवारी दिने भन्ने विषयमा दलहरूबिच विवाद भइरहेको छ ।

निर्वाचन आयोगका अनुसार बाग्मतीमा ४, सुदूरपश्चिम, कर्णाली र गण्डकीमा ३–३ तथा कोशी, मधेस र लुम्बिनीमा २–२ सिटका लागि निर्वाचन हुँदैछ ।

गठबन्धन भत्काउने एमालेको रणनीति
नेकपा एमालेलाई राष्ट्रियसभाको निर्वाचनसम्म जसरी पनि सत्ता गठबन्धन भत्काउनुपर्ने दबाब छ । प्रमुख प्रतिपक्षी एमालेले त्यसकै लागि विभिन्न रणनीतिमा जुटेको छ ।

एक्लै जाँदा राष्ट्रियसभाका सबै सिट गुमाउने निश्चित देखेपछि एमालेले सत्ता गठबन्धनलाई भत्काएरै भए पनि आफ्नो गठबन्धन बनाएर जाने रणनीति अपनाएको हो ।

राष्ट्रियसभा निर्वाचनमा गठबन्धन गर्न जुनसुकै दलको लागि पनि ढोका खुल्ला गरेको जनाएको एमालेले सत्ता गठबन्धन घटक दल जसपा र प्रतिपक्षी राप्रपासँग गठबन्धनका लागि वार्ताको प्रयास गरिरहेको बुझिएको छ ।

एमालेका केन्द्रीय सदस्य तथा सामाजिक विभाग प्रमुख झपट बोहरा भन्छन्, ‘राष्ट्रियसभा निर्वाचनका लागि तयारी भइरहेको छ, सबै दलसँग छलफल हुन्छ । गठबन्धन बनाएर जान सकियो भने पनि सहज हुन्छ, नत्र एक्लै पनि चुनावमा जान हामी तयार छौं ।’

मधेश प्रदेशमा जसपा नेतृत्वको सरकारलाई समर्थन दिइरहेको एमालेले राष्ट्रियसभा निर्वाचनअघि जसपालाई सत्ता गठबन्धनबाट आफूसँगको गठबन्धनमा ल्याउने गरी तयारी थालेको बोहराले बताए ।

हाल जसपा सरकारप्रति असन्तुष्ट भएको मौका पारी एमालेले मधेश प्रदेशलाई केन्द्रित गरी गठबन्धनका लागि वार्ताको तयारी गरिरहेको छ । असन्तुष्ट जसपालाई आफूसँगको गठबन्धनमा तान्न सके सत्ता गठबन्धन भत्कने हुनाले एमालेले जसपालाई धेरैभन्दा धेरै अवसर दिएर तान्ने प्रयास गरिरहेको स्रोत बताउँछ ।

जसपाले छोड्नासाथ वर्तमान सरकार जोखिममा पर्छ र सरकार ढल्न सक्छ । त्यस्तो भएमा एमालेको सरकार बनाउने कुरामा पनि सम्भावना रहन्छ भने राष्ट्रियसभामा पनि आफ्नो सिट सुरक्षित हुनसक्छ भन्ने दाउमा एमाले छ ।

यी हुन बिदा हुने सांसदहरू !
यसपटक राष्ट्रिय सभामा अध्यक्ष र दुई राज्यमन्त्रीसहित २० जनाको पदावधि सकिँदै छ । पदावधि सकिनेमा एमालेबाट राष्ट्रिय सभा अध्यक्षसमेत रहेका गणेश तिमिल्सिना, प्रमुख सचेतक भैरव सुन्दर श्रेष्ठ, इन्दु कडरिया, कुमार दसौँदी, दीपा गुरुङ, दिलकुमारी रावल थापा (पार्वती), नरपति लुवार, रामचन्द्र राई र विमला राई पौड्याल छन् ।

त्यस्तै, नेपाली कांग्रेसको तर्फबाट रमेशजंग रायमाझी, अनिता देवकोटा, प्रकाश पन्थ र जितेन्द्रनारायण देवको पदावधि सकिँदै छ ।

माओवादी केन्द्रबाट विना पोखरेल, महेशकुमार महरा, हरिराम चौधरी तथा एकीकृत समाजवादीका तर्फबाट नन्दा चपाईं, सिंहबहादुर विश्वकर्मा र जसपाकी प्रमीलाकुमारी यादव रहेका छन् । स्वतन्त्र सांसद खिमलाल देवकोटाको पनि यही समयमा पदावधि सकिँदै छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *