वरियता विवाद

शेखर-पूर्णबहादुरको जुँगाको लडाइ : को वरिष्ठ ? को कनिष्ठ ?

काठमाडौं । नेपाली कांग्रेसमा निरन्तर रहेको वरियता विवाद यति बेला छताछुल्ल भएको छ । १४ औँ महाधिवेशनपछि नेताहरूबिच एक अर्कामा को वरिष्ठ र को कनिष्ठ भन्ने आधारमा एकले अर्कालाई अस्वीकार गर्ने जुँगाको लडाइ चलेको छ । महाधिवेशन सम्पन्न भए लगत्तै केन्द्रीय कार्यसमिति बैठकबाटै सुरु भएको त्यस्तो विवाद अहिले आएर छताछुल्ल बनेको हो ।

सभापति शेरबहादुर देउवासँग सभापतिमा पराजित नेता शेखर कोइराला र निर्वाचित उपसभापति पूर्णबहादुर खड्काले एक अर्कालाई नेता स्वीकारेका छैनन् । कोइराला उपस्थित कार्यक्रममा खड्का पुग्दैनन्, खड्का पुगेका कार्यक्रममा कोइराला जाँदैनन् ।

खड्का र कोइराला पार्टीका बैठक बाहेक एउटै कार्यक्रममा सँगै उपस्थित नै हुँदैनन् । दोस्रो वरियता नपाउने अवस्था भए दुवैले कार्यक्रम बहिष्कार गर्दै आएका छन् । बिहीबार भएको मधेस प्रदेश सम्मेलनमा कोइरालाले सभापति देउवापछिको वरियता नपाउने भएपछि सम्मेलनमै गएनन् । यसअघि सभापति देउवापछिको वरियतामा कोइरालालाई राखिएको भन्दै उपसभापति खड्का लुम्बिनी र गण्डकी प्रदेश सम्मेलनमा गएनन् ।

हाल कांग्रेसको वरियता क्रममा सभापति देउवापछि उपसभापति खड्का छन् । तर पछिल्लो समय पार्टी कै दर्जनौँ कार्यक्रमहरूमा सभापति देउवापछिको वरियतामा नेता कोइरालालाई राखिएको छ । जहाँ उपसभापति खड्का सहभागी भएनन् । तर अर्का उपसभापति धनराज गुरुङसहित अन्य पदाधिकारीले भने कोइरालालाई देउवापछिको वरियतामा स्वीकारेका छन् ।

महाधिवेशनयता देउवा-कोइराला एकै मञ्चमा देखिएका सबैजसो कार्यक्रममा उपसभापति खड्का उपस्थित छैनन् । यसबाट विगतदेखि नै कोइराला र खड्काबीच वरियताको लडाइ रहेको प्रष्ट छ । तर त्यो विवाद बिहीबार भएको मधेस प्रदेश सम्मेलनबाट छताछुल्ल भयो । मधेश प्रदेशको प्रथम सम्मेलनमा आसन ग्रहणको मर्यादाक्रमबारे विवाद छरपस्ट देखियो । प्रदेश सम्मेलन उद्घाटन समारोह आसन ग्रहणकै मर्यादाक्रम नलिएको भन्दै नेता शेखर कोइराला र उनका पक्षधर नेताहरूले बहिष्कार नै गरे । सम्मेलनमा पुगेका नेता बिमलेन्द्र निधिले भने आसन ग्रहण गर्न मानेनन् । आसन ग्रहणका लागि पूर्व उपसभापति समेत रहेका नेता निधिलाई पटक पटक मञ्चमा बोलाए । तर उनी उद्घोषकको कुरा नसुने जस्तै दर्शकदीर्घामै बसिरहे । स्रोतका अनुसार उनी पनि आसन ग्रहणको मर्यादाक्रममा असन्तुष्ट छन् । सम्मेलनमा उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्री महेन्द्र यादव, प्रवक्ता प्रकाशशरण महत लगायत नेताहरू सहभागी छन् ।

जनकपुरधाममा भएको प्रदेश सम्मेलनमा प्रदेश कार्यसमितिले सभापति देउवासँगै पदाधिकारीलाई निम्ता गरेको थियो । नेता कोइरालालाई पनि निम्ता गरेको थियो, तर देउवापछिको वरियतामा राखेर विशिष्ट अतिथिका रुपमा होइन, केन्द्रीय सदस्यको रुपमा ।

यसअघि गण्डकी र लुम्बिनी प्रदेश सम्मेलनमा सभापति देउवापछिको वरियतामा विशिष्ट अतिथिका रुपमा आसन र भाषण पाएका कोइरालाले मधेसमा त्यो नपाउने भएपछि कार्यक्रममै नजाने निर्णय गरे । उनी निकट नेताहरूले प्रदेश कार्यसमिति बैठकमा बुधवार ‘नोट अफ डिसेन्ट’ नै लेखे ।

देउवाको रोजाइमा खड्का बाधक ! 
त्यसो त नेता कोइरालालाई सभापति देउवा स्वयम्ले भने वरिष्ठ नेताका रुपमा स्वीकारेकै अवस्था छ । देउवा प्रमुख अतिथि रहेका कार्यक्रममै कोइरालालाई वरिष्ठ नेताको सम्बोधन भइसकेको छ । नेताहरूका अनुसार उपसभापति खड्काकै कारण सभापति देउवाले कोइरालालाई वरिष्ठ नेता नबनाएका हुन् ।

वरियता निर्धारण गर्ने बेला नै संस्थापन इतर पक्षले नेता कोइरालालाई वरिष्ठ नेता बनाउन माग गरेको थियो । १३ औँ महाधिवेशनबाट सभापतिमा देउवा निर्वाचित भएपछि उनीसँग पराजित रामचन्द्र पौडेल वरिष्ठ नेता घोषित भए । सुशील कोइराला सभापति हुँदा देउवा नै वरिष्ठ नेता थिए । त्यही परम्पराअनुसार १४ औँ महाधिवेशनपछि देउवासँग पराजित शेखरलाई वरिष्ठ नेता बनाउनुपर्ने कोइरालानिकट नेताहरूको माग थियो । तर देउवाले मानेनन् । त्यही कारण महाधिवेशनपछि लगत्तै केन्द्रीय समिति बैठकमा वरियता विवाद चर्किएको थियो ।

उपसभापति धनराज गुरुङ र महामन्त्री गगन थापाले आफ्नो समूहका सभापतिका उम्मेदवार कोइरालालाई वरिष्ठ नेता बनाउन नसकेपछि कसैलाई पनि वरिष्ठ नेता घोषणा गर्न दिएनन् । त्यस बेला केन्द्रीय कार्यसमितिले बनाएको वरियता क्रममा कोइराला २५ औँ नम्बरमा छन् । त्यसयता सभापति देउवाले नेता कोइरालालाई निरन्तर पेलेर अघि बढे ।

तर आमनिर्वाचन अघि सिट बाँडफाँड गर्ने बेला भने देउवा-कोइराला सम्बन्ध उल्टियो । देउवालाई भेट्न समय माग्दा समेत नपाउने कोइराला पछि देउवाकै निमन्त्रणामा साँझ बिहान धुम्बाराही पुग्न थाले । संसदीय दलको निर्वाचनपछि देउवा-कोइराला सम्बन्ध झन् प्रगाढ बन्यो । त्यही बेला देउवाले कोइरालालाई वरिष्ठ नेता बनाउने आश्वासन समेत दिए । त्यस बेला कोइरालाले मन्त्री छनोटमा समेत आफ्नो समूहमा छलफल नगरी एकलौटी गरे ।

एक वर्षसम्म केन्द्रीय कार्यसमिति बैठक नबोलाउँदा समेत सभापति देउवालाई साथ दिएका कोइराला देउवाप्रति यति नरम देखिए कि त्यसबिचमा न उनको गुट बैठक चल्यो, न गुटको नेतृत्व । बरु त्यहीबिच कोइरालाका लागि केन्द्रीय कार्यालयमा अलग्गै कार्यकक्ष तयार भयो ।

साउन पहिलो साता बसेको केन्द्रीय कार्यसमिति बैठकमा देउवा पक्षका नेताले कोइरालाको प्रशंसा गरे, बैठकको शक्ति सङ्घर्ष सभापति देउवा भर्सेज महामन्त्री थापा देखियो, कोइराला ओझेलमा रहे । नेताहरूका अनुसार कोइरालाले सो बैठकमा देउवाले आफूलाई वरिष्ठ नेताको घोषणा गर्ने अपेक्षा राखेका थिए । तर त्यस्तो घोषणा नभएपछि भने कोइरालाले आफू र सभापति देउवाबिच निकटता बढेको भन्ने समाचार मिथ्या भएको दाबी गरे ।

नेताहरूका अनुसार देउवालाई कोइरालालाई खड्काको असहमतिका कारण वरिष्ठ नेता बनाउन नसकेको बताएका छन् । त्यसयता देउवाले सार्वजनिक मञ्चहरूमा भने कोइरालालाई दोस्रो वरियतामै राखेर सम्बोधन गर्ने गरेका छन् ।

सभापति देउवाले भक्तपुर, नुवाकोट र ओखलढुङ्गा जिल्ला सम्मेलनमा पनि कोइरालालाई दोस्रो वरियतामा राखेर सम्बोधन गराए । जबकि लुम्बिनी र गण्डकीका प्रदेश सभापति कोइरालानिकट भए पनि ओखलढुङ्गा र भक्तपुर सभापति भने देउवानिकट नै हुन् ।

पार्टीमा पटक पटक केन्द्रीय सदस्य, सहमहामन्त्री र महामन्त्री हुँदै उपसभापति निर्वाचित भएका खड्का कोइरालाभन्दा आफू सिनियर भएको दाबी गर्छन् । जबकि कोइराला भने यसअघि पार्टीको केन्द्रीय सदस्य मात्रै रहेका नेता हुन् । उनी १३ औँ महाधिवेशनमा सर्वाधिक मत ल्याएर केन्द्रीय सदस्य निर्वाचित भएका थिए ।

त्यसो त, कोइराला र खड्काबिचको सङ्घर्ष लाई आगामी महाधिवेशनसँग समेत जोडेर हेर्न थालिएको छ । खड्का सभापति देउवापछि त्यही समूहबाट सभापतिको प्रत्याशी बन्ने दाउमा छन् भने अघिल्लो महाधिवेशनमा पराजित भएका कोइराला स्वाभाविक प्रतिस्पर्धी हुन् ।

गुट संरचनामा ठूलो फेरबदल नभए आगामी महाधिवेशनमा सभापतिका लागि कोइराला र खड्काबीच मै प्रतिस्पर्धा हुनेछ । महाधिवेशनका लागि आफ्नो पक्षमा माहोल बनाउनका लागि पनि कोइराला र खड्काबीच अहिल्यैदेखि अघोषित दौड सुरु भइसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *