काभ्रेमा मालवाहक सवारीको भारमापन सुरु

काभ्रेपलाञ्चोक । अरनिको, बिपी र हेलम्बु राजमार्गबाट सङ्घीय राजधानी काठमाडौँ लगायत जिल्लामा गुड्ने मालवाहक सवारीको काभ्रेपलाञ्चोकमा भारमापन कार्य सुरु गरिएको छ ।

तीन राजमार्गअन्तर्गत जिल्लाको पाँचखाल नगरपालिकास्थित केराघारी, पनौती नगरको नैकिन्टार र नमोबुद्ध नगरको भकुण्डेमा भारमापनका लागि वि.सं २०७८ पुसमा तौल–पुल स्थापना गरिएको थियो ।

यसअघि गत वैशाख पहिला साता गृह मन्त्रालयले काभ्रेपलाञ्चोक प्रशासनलाई जिल्लाका तीन स्थानमा स्थापित भारमापन केन्द्र (तौलपुल) सञ्चालनमा ल्याउन पुनःपरिपत्र गरी अनिवार्य भारमापन गर्ने निर्देशन दिएपछि मालवाहक सवारीका व्यवसायीले विरोधस्वरुप एक हप्ता निर्माण सामग्री ढुवानी ठप्प पारेका थिए ।

मालवाहक सवारी ठप्प गराएपछि काभ्रेपलान्चोक प्रशासन र व्यवसायीबीच भएको छलफल निष्कर्षविहीन हुँदा पूर्ववत् अवस्थामा सञ्चालन हुँदै आएका थिए । व्यवसायी र प्रशासन कार्यालयबीच विशेषगरी टिपरका लागि ढाला बराबर सामग्री बोक्दा भारमापन गर्न नपर्ने निर्णय भएपछि तौल–पुल सञ्चालन गर्ने सहमति भएको हो ।

प्रशासनको निर्देशनपछि मालवाहक सवारी ठप्प पार्दै ढुवानीसम्बद्ध तीन संस्थाले जिल्ला प्रशासन कार्यालयसँग ढुवानी सहजताको वातावरण बनाइदिन माग गर्दै आएका थिए ।

भारमापनका विषयमा विवाद भएपछि जिल्ला प्रशासन कार्यालयले कुन विधिद्वारा मालवाहक सवारीको भारमापन गर्ने भन्ने विषयमा थप गृहकार्य गर्नुपर्ने भएकाले त्यसबेला यथावत् राखिएको जनाएको थियो । त्यतिबेला व्यवसायीले तौलपुल सञ्चालनपछि मजदुर र व्यवसायीलाई थप समस्या भएको जनाउँदै उक्त निर्णय कार्यान्वयन नगर्न माग गर्दै आएका थिए ।

यातायात व्यवस्था विभागको सात दशमलव पाँच घनमिटर निर्माण सामग्री बोक्न पाउने प्रावधानअनुसार ढुवानी भइरहेकामा भारमापन केन्द्र (तौलपुल)मा तौल लिँदा समय लाग्ने तथा प्रशासनले बोक्नुपर्ने तौलको यकिन नगरी झन्झट दिलाएको कारण देखाउँदै व्यवसायीले ढुवानी रोकेको जनाएका थिए । तर विभागले आयातनको मापदण्ड दिएर बोक्न पाउने तौलबारे उल्लेख नगर्दा भारमापन गर्न अन्यौलता बढेको व्यवसायीले बताएका छन् ।

बागमती टिपर व्यवसायी सङ्घका अध्यक्ष सुरेश खत्रीले विभागको प्रावधानअनुसार नै चलेका जनाउँदै तौलपुलमा सबै गाडी जोखेर सामग्री ढुवानी गर्न नसकिने बताउछन् । ‘विभागले तोककोभन्दा बढी ल्याएमात्र गाडी जोख्ने गर्नुपर्छ, हामीले यही माग गर्दै आएका थियौँ’, उनले भने । यी तीन राजमार्गमा टिपरलाई दिउँसो ढुवानी गर्न प्रतिबन्ध लगाउँदै आइएको छ ।

तौल पुल स्थापनापछि मालवाहक सवारीले आनाकानी गरेपछि तीनै स्थानीय तहले भारमापन केन्द्र सञ्चालन गरी ‘लोडसिट’ लिई ढुवानी गर्नरगराउन आग्रह गर्दै आएका थिए । काभ्रेपलान्चोकको सडकमा दैनिक करिब दुई हजार निर्माण सामग्रीलगायत मालवाहक सवारी साधन चल्ने गर्दछन् । मालवाहक सवारी साधनको भारापन नगर्दा जिल्लास्थित राजमार्गका सडक जीर्ण बन्दै गएका छन् ।

भारवहन नियमनसम्बन्धी निर्देशिका २०७४ (संशोधनसहित) को व्यवस्था, यातायात विभागको पत्र र जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकद्वारा ०७८ फागुनमा जारी पत्रानुसार स्थानीय तहले भारमापन कार्यलाई कडाइ गरे पनि भारमापन हुन सकेको थिएन । तौल पुलमा भारमापन गरेबापत प्रतिसवारीले रु एक सय तिर्नुपर्ने नियम बनाइएको छ । निर्देशिकामा छ पाङ्ग्रेभन्दा माथि क्षमताका मालवाहक सवारी साधनले अनिवार्य भारमापन गर्नुपर्ने उल्लेख गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 4 =