संकल्प यात्रा

ओलीको जोसिलो सक्रियता

काठमाडौं । नेकपा एमालेको झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा सम्पन्न भयो । मंसिर १४ गते बैतडीको झुलाघाटबाट सुरु भएको संकल्प यात्रा आइतबार पाँचथरको चिवाभञ्ज्याङ पुगेर समापन गरियो । भारतसँगको सिमाना झुलाघाटमा झन्डोत्तोलन गरेर अभियानको उद्घाटन गरेका ओलीले पाँचथरको चिवाभञ्ज्याङ पुगेर राष्ट्रिय झण्डा फहराउँदै यात्राको समापन गरे ।

अध्यक्ष ओलीले संकल्प यात्राको क्रममा स्थानीयको समस्या पहिचान गरी समाधानको उपाय पनि खोजी गरे । उनी भन्छन्, ‘हामीले स्थानीयसँग कुरा ग¥यौँ, स्थानीयकै समस्या बुझ्यौँ, उहाँहरूकै अपेक्षा अनुसारको समाधान पहिल्याउने बाटो खोज्यौँ, यो यात्रामा सहभागी सबैलाई धन्यवाद ।’

एमालेले आफ्नो साङ्गठनिक स्थिति थाहा पाउन १० महिनाअघि गरेको ‘मिसन ग्रासरुट’ अभियानपछि जनस्तरसम्म पुग्न भन्दै संकल्प यात्राको ‘कन्सेप्ट’ ल्याएको थियो । तराईका राजमार्ग केन्द्रित पार्टी कार्यक्रम गर्दै आएको एमालेले यो अभियानमा भने आफ्नो पकड रहेको मध्य पहाडी क्षेत्र छिचोल्ने गरीको रुट तय गरेको थियो । मूलतः ‘मध्य पहाडी क्षेत्रका बस्तीहरू पातलिए’ भन्ने चिन्ताले सुरु गरेको अभियानको अन्तर्यमा ‘मिसन २०८४’ अन्तर्गतको कार्यक्रम ‘लञ्च’ गरेको भन्ने बुझाइ राजनीतिक वृत्तमा छ ।

राजनीतिक दलहरूले भन्दै आएको मिसन ८४ कै झल्को दिने गरी ओलीले प्रत्येक ठाउँका भाषणमा ‘एमालेलाई बहुमत’ भन्ने शब्द छुटाएनन् । प्रायः हरेक सभामा ओलीले एमालेलाई बहुमत नदिई परिवर्तन सम्भव नहुने दोहोर्‍याए ।

जोसिलो सक्रियता
दुई-दुईपटक मिर्गौला फेरेको शरीर बोकेर ७१ वर्षीय ओलीले चिसा रात दिन, हिलो मैलो नभनि मध्य पहाडी यात्रा गरिरहे । तर पनि ओलीको ऊर्जा घटेको छनक नै पाइएन । रणनीतिक महत्वको यो सडक खण्ड सुविधासम्पन्न छैन । कहीँ थोरै पिच भएको, कहीँ ग्राभेल भएको र कहीँ ट्रयाकमात्रै खोलिएको यो खण्डमा दिनकै सयौँ किलोमिटर यात्रा स्वस्थ मानिसका लागि पनि सहज हुँदैन ।

यसमा झन् मौसम अनुकूल नहुँदा समस्या थपिन्छ । तर व्यस्त र सक्रिय तालिकाबिच ओलीको यो सक्रियता आफैमा अभूतपूर्व छ । अभियानमा अध्यक्ष ओलीको खटाइ र सक्रियता गजबको थियो । मंसिर अन्तिमको चिसोमा उनले रात-दिन यात्रा गरे । बिहानदेखि रातिसम्म सभा, सम्मेलन र भेटघाटमा उनी व्यस्त देखिए ।

ओलीको सक्रियताको प्रशंसा गर्न लायक रह्यो, भई पनि रहेको छ । ओलीले उमेर र रोगलाई पन्छाएर निरन्तर सयौँ-हजारौँसँग संवाद र दैनिक आयोजना हुने सभाहरूमा सक्रियतापूर्वक सहभागिता जनाए । यो ओलीमा देखिएको आत्मविश्वास हो ।

एमालेका अधिकांश शीर्षस्थ नेता सहभागी अभियान अध्यक्ष ओलीमय बन्यो । एमालेले कार्यक्रमको प्रारूप नै ओली केन्द्रित बनाएको थियो । अरू नेताहरूले उनलाई पछ्याइरहेको मात्रै देखियो । उद्घाटन र समापनबाहेक हरेक कार्यक्रममा अध्यक्ष ओलीले मात्रै सम्बोधन गरे । अरू नेताहरूले बोलेनन् । एमालेले अभियानको प्रारूप नै यसै गरी बनाएको थियो ।

मध्य पहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटन लगायतको सम्भावना बुझ्न एमाले अध्यक्ष ओलीको नेतृत्वमा अभियान सञ्चालन गरेको थियो । यात्रामा अध्यक्ष ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू, महासचिव शङ्कर पोखरेल, उपमहासचिवहरू, सचिवहरू, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटी लगायतका नेताहरू, प्राविधिक, विज्ञ सम्मिलित टोली सहभागी थियो ।

मुख्य गरी आफ्नो परम्परागत प्रभाव रहेको र आधार इलाकामा पर्ने मध्य पहाडी भेगमा एमालेले यसपटक थप प्रभाव र पहुँच देखाउन पनि यो संकल्प यात्रा गरेको नेताहरू बताउँछन् । पुराना दलप्रति विश्वास नटुटेको देखाउन संकल्प यात्रा प्रभावकारी भएको अनेरास्ववियुका सचिव प्रकाश पौडेले दाबी गरे ।

देशलाई अलपत्र नछाड्ने प्रण
एमालेलाई कमजोर बनाउँछु भन्ने शक्तिलाई संकल्प यात्राले गतिलो जवाफ दिएको अध्यक्ष ओलीले बताए । आइतबार पाँचथर सदरमुकाम फिदिममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जनतालाई अलमल्याउन सक्छौँ भन्नेहरूलाई एमालेको संकल्प यात्राले चुनौती दिएको बताए । ‘जनतालाई अलमल्याएर एमालेलाई कमजोर बनाउँछु भन्ने शक्तिलाई उत्साहले जवाफ दिएको छ । प्रमुख पार्टी भएर भएन । बहुमत ल्याउनलाई मिसन ८४ भनेका छौँ,’ उनले भने, ‘सरकारमा एमाले हुँदा विकास हुन्छ, नहुँदा केही नहुने रहेछ ।’ मुलुकको विकासका लागि एमालेले एकल बहुमत ल्याउनुपर्ने उनले बताए ।

अध्यक्ष ओलीले समृद्धिका लागि संकल्प यात्रा शतप्रतिशत सफल भएको दाबी गरे । आइतबार संकल्प यात्राको अन्तिम दिन पाँचथरको चिवाभञ्ज्याङ पुगेर उनले अभियानले पार्टीलाई वैचारिक हिसाबले समृद्ध बनाएको बताए । ‘सबैको एउटा निष्कर्ष अब देशको राजनीति यसै गरी अलपत्र अवस्थामा पर्न दिनु हुँदैन । अब देशको राजनीति एउटा सही बाटो र निकास दिनुपर्छ । अलमलमा देशको समय खेर फाल्न दिनुहुँदैन,’ उनले भने, ‘यहाँ राष्ट्रको समय खेर गइरहेको छ । जनताको एउटा पीढीको भविष्य खेर गएको छ । देशलाई जोगाउन संकल्प यात्राले असाधारण योगदान गरेको छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *