ठाकुर-महतोको टकराब

नयाँ पार्टी खोल्ने मुडमा राजेन्द्र !

काठमाडौं । मंसिर २४ गते लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल लोसपाको केन्द्रीय समितिको बैठक बस्यो । अध्यक्ष महन्थ ठाकुरले बोलाएको उक्त बैठक पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले बहिष्कार गरे । केन्द्रीय समितिमा स्थापनाकालदेखिका नेताहरूको नाम नराखिएकोप्रति असन्तुष्टि जनाउँदै उनले बैठक बहिष्कार गरेको बताएका थिए ।

उनले भनेका थिए- ‘३५ वर्षदेखि स्थापनाकालदेखिका नेताहरूको नाम केन्द्रीय समितिमा छोडियो । तत्काल सम्बोधन गर्नुपर्छ भनेको थिएँ, अध्यक्षले सम्बोधन गर्छु भन्नुभएको थियो, तर भएन र बैठक बोलाउनुभयो, म त्यसै कारणले बैठकमा नगएको हुँ ।’

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठन भएको दुई वर्ष बित्दा नबित्दै भाँडभैलो हुनुको पछाडि अध्यक्ष ठाकुरको एकलौटी निर्णय नै प्रमुख कारण रहेको बताइन्छ । केन्द्रीय समिति विस्तारलाई लिएर पार्टी अध्यक्ष ठाकुर र महतोबिचको विवाद तीव्र हुन पुगेको हो । अध्यक्ष ठाकुरले अहिलेसम्म आफ्नो माग सम्बोधन नगरेको भन्दै महतो थप चिढिएका हुन् । लोसपाका अध्यक्ष अध्यक्ष ठाकुर पूर्वकांग्रेस हुन् भने महतो तत्कालीन सद्भावना प्रभावशाली नेता हुन् ।

काङ्ग्रेसबाट आएर आफूहरूलाई अध्यक्ष ठाकुरले हेप्न थालेको महतोको बुझाइ छ । अब पार्टीमा कसरी अघि बढ्ने भन्नेबारे आफू निकटका नेताहरूसँग गृहकार्य गरिरहेका छन् । पार्टी विभाजन गर्न नसक्ने अवस्था नभए महतोले नयाँ दल दर्ता गर्नेसम्मको तयारी गरिरहेको समाचार आइरहेका छन् ।

नयाँ दल खोल्न लागेको हो ? भन्ने मकालुखरको प्रश्नमा महतोले भने- ‘अहिले कुनै तयारी गरेको छैन । अहिले अध्यक्षज्यूको कार्यशैलीको विरोधमा उत्रिएका हौँ । आवश्यकअनुसार सङ्घर्ष गर्दै जान्छौँ ।’

पार्टी गठन भएको दुई वर्ष बित्दा पनि सक्रिय नभएको भन्दै पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो लोसपाको विकल्प खोज्न थालेका छन् । महतो सके बहुमत पु¥याएर विधिवत् रुपमा पार्टी विभाजन गर्ने, नभए अर्को नयाँ पार्टी खोल्ने निष्कर्षमा पुगिसकेको संकेत दिएका छन् ।

यता सो पार्टीको नेतृत्वको गतिविधिप्रति असन्तुष्ट महासचिव केशव झाले त नयाँ पार्टी गठन गर्ने तयारी गरिरहेको खुलासा नै गरेका छन् । तर, नयाँ पार्टी गठनको चर्चा भइरहेका बेला राजनीतिक विश्लेषहरु भने पार्टी विभाजन गर्ने कानुनी बाटो नरहेको तर्क गर्छन् ।

महासचिव झा भन्छन्- ‘पार्टी फोड्न पो नमिल्ला, तर गठन गर्न त कसैले रोक्न सक्दैन नि ।’

अध्यक्ष ठाकुरका कारण पार्टी सही ढंगले नचल्ने अवस्था देखिएकाले महतो पार्टीमा रहेको शक्तिलाई संरक्षण गर्दै नयाँ ढङ्गले अघि बढ्ने तयारीमा रहेको स्रोतले बतायो ।

प्रमुख दलहरूलाई नै चुनौती दिने गरी वैकल्पिक राजनीतिक दलहरू उदाएका सन्दर्भमा लोसपाको नेतृत्वले त्यसको सामना गर्ने गरी अघि बढ्न नखोजेको महासचिव झाको बुझाइ छ ।

भएको के हो ?
लोसपाले असारमा ६३ पदाधिकारीसहित ३११ सदस्यीय कार्य समिति गठन गरेको थियो । केन्द्रीय समितिमा एक अध्यक्षसहित तीन वरिष्ठ नेता, एक वरिष्ठ सह अध्यक्ष, ६ वरिष्ठ उपाध्यक्ष, १५ उपाध्यक्ष, १६ महासचिव, ८ सह महासचिव, ११ सचिव, २ कोषाध्यक्ष र प्रवक्ता तथा सह कोषाध्यक्ष एक एक जना रहेका छन् ।

यो कमिटी विस्तारको क्रममा अध्यक्ष ठाकुरले एकलौटी गरेको भन्दै नेता महतोले असन्तुष्टि जनाउँदै बैठक बहिष्कार गरेपछि विवाद सतहमा आएको थियो ।

नेपाली काँग्रेस परित्याग गरी आएका ठाकुरले मधेस आन्दोलनका क्रममा भएका घाइते तथा वफादार कार्यकर्ताहरूलाई समेत बेवास्ता गरेको महतोको आरोप छ । अध्यक्ष ठाकुरले पार्टीलाई क्रियाशील गर्न नसकेको र पार्टीभित्र मनोमानी गरेको भन्दै पार्टीमा असन्तुष्टि बढेको हो ।

माघ ५ पछि के हुन्छ ?
पार्टीका एक नेताका अनुसार माघ ५ गतेसम्म त महतो लोसपामै बस्नेछन् । तर त्यसपछि महतो नयाँ ढंगले अघि बढ्न सक्छन् । अहिलेलाई महतोले जनजागरण अभियान सञ्चालन गर्ने तयारी गरिरहेका छन् ।

सो अभियान लोसपा किन चल्न सकेन, कहाँ समस्या भयो, मधेसको आवश्यकता के छ, नयाँ ढंगको आन्दोलनलाई कसरी अगाडि बढाउन सकिन्छ, नेपाल-भारत सीमालाई कसरी सुरक्षा गर्न सकिन्छ, जनताको कामलाई कसरी सहज बनाउन सकिन्छ लगायतका विषयमा केन्द्रित रहने बताइएको छ ।

वरिष्ठ नेता महतोले तीन वटा पुस्तक लेखेका छन् । ती तीन वटै पुस्तक मधेस बलिदानी दिवसका दिन विमोचन गराउने र त्यसपछि मात्र नयाँ पार्टीका लागि गृहकार्य गर्ने स्रोतले दाबी गरेको छ । स्रोतका अनुसार सम्भवतः मधेसको बलिदानी दिवसको दिन महतोले आफ्नो तयारीको बारेमा पनि घोषणा गर्ने छन् ।

राजपादेखि लोसपासम्म नै अध्यक्ष ठाकुरको कार्यशैली सबैले थाहा पाइसकेका कारण अब ठाकुरलाई पार्टीको अध्यक्षबाट हटाएर महतोलाई जिम्मेवारी दिएर लोसपा चलाउन पहल पनि भइरहेको छ ।

यदि ठाकुर अझै पनि नसुध्रने हो भने लोसपा आफै ‘कोल्याप्स’ हुने अवस्थामा पुगिसकेको लोसपाकै नेताहरू बताउँछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *