महावीर पुनकी छोरीलाई केएमसीले निःशुल्क एमबीबीएस पढाइदिने

काठमाडौँ । काठमाडौँ मेडिकल कलेज (केएमसी) पब्लिक लिमिटेडले राष्ट्रिय आविष्कार केन्द्रका जन्मदाता वैज्ञानिक महावीर पुनकी छोरीलाई एमबीबीएस पढाउने भएको छ । नेपालभरका मेडिकल कलेजमा एमबीबीएस विषयमा भर्ना पाउन कठिन बनेका बेला केएमसीले पूर्ण छात्रवृत्तिमा एमबीबीएस पढाइदिने प्रतिबद्धता जनाएको हो ।

कलेजले चिकित्सा शिक्षा आयोगको एकीकृत राष्ट्रिय परीक्षामा सामेल भई उत्तीर्ण भएकी महावीरकी छोरी झरना पुनले चिकित्सा शिक्षा आयोगको नीति नियमको परिधिले गर्दा नेपालभरका मेडिकल कलेजमा एमबीबीएस विषयमा भर्ना पाउन कठिन बनेको कलेजको ध्यानाकर्षण भएको जनाएको छ । आइतबार चिकित्सा शिक्षा आयोगका उपाध्यक्षलाई पत्र लेख्दै केएमसीले शैक्षिक सत्र २०८० मा एमबीबीएस विषयमा व्यवस्थापन कोटामा अध्ययन गर्न अवसर प्रदान गर्न मागसमेत गरेको छ ।

केएमसीले झरनाको भर्ना विषयमा शेयर धनी विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलको तर्फबाट निवेदन गर्न चाहेको उल्लेख गरिएको छ । ‘महावीर पुनले व्यक्तिगत वृत्ति विकासको असहजतालाई त्यागेर विदेशबाट नेपाल फर्की देशकै लागि केही गर्छु र देशका युवाहरूमा आधुनिक विज्ञानका आयामहरूको सृजनात्मक कार्यमा लगाउँछु भन्ने अठोट लिई निस्वार्थ लागिपरेको पृष्ठभूमिमा उनकी छोरीलाई पनि पढाउने आफूहरूको दायित्व हुने ठानेर केएमसी र नोबेलका पूर्व अध्यक्ष एवं प्रतिनिधि सभाका सांसद डा. सुनीलकुमार शर्माको सक्रियता र विशेष आग्रहमा उक्त कलेजमा व्यवस्थापन कोटा अन्तर्गत छात्रावाससहित अध्ययनमा पूर्ण छात्रवृत्ति दिने निर्णय गरिएको जानकारी गराउँदै भर्नाका लागि आवश्यक अनुकूलता प्रदान गर्नसमेत अनुरोध गरिएको छ,’ पत्रमा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − two =