हमासको क्रुरताले प्यालेस्टिनीहरूमाथिको ‘सामूहिक सजाय’ लाई उचित ठहराउन सक्तैन– राष्ट्रसङ्घ प्रमुख
२०८० मंसिर २२ गते

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले हमासको क्रुरताले कहिले पनि प्यालेस्टिनीहरूमाथिको ‘सामूहिक सजाय’ लाई जायज ठहराउन नसक्ने शुक्रबार बताएका छन्।
इजराइलले गाजापट्टीमा हमासविरुद्धको उसको कारबाहीलाई जोड दिइरहेको बेला उनको उक्त भनाइ आएको हो ।
हमासद्वारा सञ्चालित गाजामा स्वास्थ्य मन्त्रालयको पछिल्लो आँकडाअनुसार धेरै साताको युद्धमा गाजामा अधिकांश महिला र बालबालिकासहित १७ हजार एक सय ७० जनाको मृत्यु भएको छ । त्यसपछि महासचिव गुटेरेसले राष्ट्रसङ्घको सुरक्षा परिषद्को आकस्मिक बैठक बोलाएका छन्।
“अझै पनि करिब एक सय ३० जनलाई बन्धक बनाइएको छ, म उनीहरूको तत्काल र बिनासर्त रिहाइको माग गर्दछु । साथै उनीहरू रिहाइ नभएसम्म रेडक्रसको अन्तर्राष्ट्रिय समितिबाट उनीहरूको मानवीय व्यवहार र भेटघाटका लागि माग गर्दछु”, उनले भने, “हमासद्वारा गरिएको क्रुरताले कहिले पनि प्यालेस्टिनीहरूमाथिको सामूहिक सजायलाई जायज ठहराउन सक्तैन।”
अक्टोबर ७ मा दक्षिणी इजराइलमा हमासले अचानक हमला गरेपछि सुरु भएको युद्धमा इजराइलले इस्लामिक आन्दोलनलाई नष्ट गर्ने वाचा गर्दै गाजामाथि लगातार बमबारी गरेको छ र ट्याङ्क तथा स्थल सेना पठाएको छ । इजराइलका अनुसार हमासले हमलामा करिब एक हजार दुई सय नागरिक मारेको र एक सय ३८ जनालाई बन्धक बनाएको छ ।
“म त्यो हमलाको स्वयं मनैदेखि निन्दा गर्दछु, यौन हिंसाको रिपोर्टबाट म स्तब्ध भएको छु”, महासचिव गुटेरेसले भने, “३३ बालबालिकासहित करिब एक हजार दुई सय जनालाई जानीजानी मार्नु, हजारौँ मानिसलाई घाइते बनाउनु र सयौँलाई बन्धक बनाउनुको कुनै औचित्य छैन ।”
अन्तर्राष्ट्रिय शान्ति तथा सुरक्षाको अवस्थालाई खतरामा राख्न सक्ने भन्दै उनले परिषद्को ध्यानाकर्षण गराउनका लागि विरलै प्रयोग गरिने संयुक्त राष्ट्रसङ्घको बडापत्रको धारा ९९ लाई प्रयोग गरेका छन्। दशकौँमा उनको काममा यस्तो कसैले गरेको थिएन।
उनले प्यालेस्टिनीहरूका लागि सम्भावित अपरिवर्तनीय प्रभाव र सम्पूर्ण मध्यपूर्वमा मानवीय युद्धविरामको माग गरिरहेका छन्।
२०८० मंसिर २२ गते
प्रतिक्रिया
सम्बन्धित








