आगलागीमा परेर ४ वर्षीय बालकको मृत्यु, विभिन्न धनमाल जलेर नष्ट

काठमाडौँ । सोलुखुम्बु, सोलुदुधकुण्ड नगरपालिका–२ फुङबुचे बस्ने दावाछिरी शेर्पाको गोठमा बिहीबार साँझ आगलागी हुँदा उनकै भान्जा सोही नगरपालिका–४ सुर्के बस्ने सोनाम शेर्पाको छोरा ४ वर्षीय पासाङ शेर्पाको जलेर मृत्यु भएको छ ।
साथै आगलागीबाट गोठ पूर्णरूपमा जलेर करिब ६५ हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
त्यस्तै झापा, मेचिनगर नगरपालिका–१५ निलकोठी सुनिल राईको घरमा रहेको कमला राजवंशीको पसलबाट बिहीबार राति आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब ४ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
सुनसरी, दुहवी नगरपालिका–९ छाताबेली बस्ने मजिमसाब भन्ने इस्तियाज मियाको घर नजिकैको गोठमा विद्युत सर्ट भई बिहीबार राति आगलागी हुँदा घर र गोठ पूर्णरूपमा जलेर करिब ३ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
त्यस्तै रौतहट, माधवनारायण नगरपालिका–३ भेलहीटोल बस्ने श्यामसुन्दर यादवको गोठमा शुक्रबार बिहान आगलागी हुँदा २ लाख ५० हजार रूपैयाँ तथा उक्त आगो फैलिएर सोही ठाउँ बस्ने रामसोगारथ गिरीको गोठमा समेत आगलागी हुँदा करिब १ लाख रूपैयाँ गरी जम्मा ३ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।








