विदेशिएका युवा अब स्वदेश फर्किनुपर्छ : अध्यक्ष तिमिल्सिना

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विदेशिएका युवालाई स्वदेश फर्कन आग्रह गरेका छन् ।

विदेशमा आर्जन गरेको ज्ञानलाई मुलुक समृद्ध बनाउनका लागि स्वदेश फर्कन उनले आग्रह गरेका हुन् । राष्ट्रिय बाल अधिकार परिषद्ले आज आयोजना गरेको कार्यक्रममा बोल्दै उनले देशमा केही छैन भन्नुभन्दा देशमा फर्केर केही गर्छु भन्ने सोच बनाउन आवश्यक रहेको बताए ।

अध्यक्ष तिमिल्सिनाले देश बिग्रनुको दोष सबै नेतालाई दिन नहुने धारणा राखे ।

‘राजनीतिज्ञले देशमा बस्ने वातावरण नै बनाइदिएनन् भनेर झोला बोकेर हिँड्नुभन्दा अब युवाले मिलेर देश बनाउनमा लाग्नुपर्छ । युवा अवस्थामै देशको नेतृत्व गर्ने प्रधानमन्त्री भएर निस्किनुपर्छ । त्यसका लागि म सहयोग गर्न तयार छु ।’

उनले आफ्नो खेत बाँझो राखेर विदेशमा मजदुरी गर्न जान नहुने बताए । अब आउने चुनावमार्फत विकास गर्ने नेतालाई निर्वाचित गरी युवाले आफ्नो दायित्व निभाउनुपर्ने उनको भनाइ थियो ।

राष्ट्रिय बालअधिकार परिषद्का उपाध्यक्ष बमबहादुर बानियाँले बालबालिका पनि राजनीतिबारे सचेत हुन आवश्यक रहेको बताए । उनले भने, ‘बालबालिका राजनीतिक प्रचारप्रसारमा लाग्न पाइँदैन तर राजनीतिक ज्ञान हासिल गर्न अहिलेको आवश्यता रहेको छ ।’

सम्मेलनका संयोजक तथा जागृति बाल तथा युवा सरोकार नेपालका अध्यक्ष तिलोत्तम पौडेलले सरकारले अब युवालाई देशमै बस्ने वातावरणको सिर्जना गर्न सहयोग गर्नुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *