कहाँ पस्यो टिकटकको भिड ?

काठमाडौं । कार्तिक २७ गतेको मन्त्रीपरिषद् बैठकले एकाएक टिकटकमा प्रतिबन्ध लगायो । टिकटकका माध्यमबाट सामाजिक सद्भाव एवं सामाजिक वातावरणमा नकारात्मक असर परिरहेको निष्कर्षसहित सरकारले नेपालमा टिकटकमा प्रतिबन्ध लगाएको थियो ।

नेपालमा टिकटक बन्द भएपछि सर्वोच्च अदालतमा दर्जन बढी रिट समेत परे । टिकटक बन्दले अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक हक उल्लङ्घन भएको लगायत दाबी गर्दै अधिवक्ताहरू दिनेश त्रिपाठी स्वागत नेपाल, जगन्नाथ दुलाल लगायत निवेदकहरूले निर्णय बदरको आदेश माग गरे ।

तर सर्वोच्च अदालतले टिकटक प्रतिबन्धविरुद्ध दायर रिटमा अन्तरिम आदेश दिन अस्वीकार गर्‍यो । न्यायाधीश विनोद शर्माको इजलासले टिकटक प्रतिबन्धविरुद्ध परेका रिटमा मङ्सिर १५ गतेभित्र लिखित जवाफ पेस गर्न सरकारलाई आदेश दिएको थियो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पनि १४ मंसिरमा लिखित जवाफ पठाउँदै टिकटकको स्वनियमन कमजोर रहेको र रियल टाइमका सामग्री हटाउन नसकिने भएकाले प्रतिबन्ध नै लगाउनुपरेको जिकिर गरेको छ ।

सञ्चार मन्त्रालयका सचिव कृष्णबहादुर राउतले सर्वोच्च अदालतमा पठाएको लिखित जवाफमा भनिएको छ, ‘अन्य सामाजिक सञ्जालले कम्युनिटी गाइडलाइन विरुद्धका सामग्री हटाउने गरेको भए पनि टिकटकले रियल टाइमका सामग्री हटाउन नसक्नुको अलवा लाइभ भिडियोहरु रेकर्ड गरी अन्य सामाजिक सञ्जालमा समेत शेयर गर्ने गरेकाले टिकटकको तत्कालिन अवस्थामा नियमन सम्भव नभएको स्थिति हो ।’

टिकटकले प्रयोगकर्ताको रुचि अनुसारका भिडियोहरु आउने गरी एल्गोरिदम सेट गरेको हुनाले घण्टौंसम्म चलाउने लत बस्ने र त्यसले मानव स्वास्थ्यमा प्रतिकुर असर पर्ने मन्त्रालयको दाबी छ ।

मन्त्रालयले लिखित जवाफमा भनेको छ, ‘टिकटकको अत्यधिक प्रयोगले अनिन्द्रा, एन्जाइटी, डिप्रेसन जस्ता समस्या देखिनुको साथै बालबालिका तथा युवायुवतीलाई गलत दिशातिर डोर्‍याउदै विषाक्त मनोविज्ञानको सिर्जना गरेको स्थिति छ ।’

नेपालमा टिकटक भिडियोको नाममा अश्लिलता प्रदर्शन भएको, अनैतिक क्रियाकलापका लागि मोलमोलाई भइरहेको, लाइभमार्फत अश्लिल गतिविधि भएको, गैरकानूनी क्रियाकलाप बढेको सञ्चार मन्त्रालयको भनाइ छ । मन्त्रालयले जवाफमा भनेको छ, ‘टिकटक लाइभ स्ट्रिमिङ गरी उपहार प्राप्त गर्न अनैतिक, अमर्यादित र असामाजिक गतिविध समेत बढ्दै गएको स्थिति थियो ।’

सरकारले टिकटकलाई पूर्णरुपमा प्रतिबन्ध गरि नसके पनि टिकटक पुर्णरुपमा चलेको भने छैन ।

प्राधिकरणको सक्रियता

नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द गरे/नगरेका विषयमा इन्टरनेट सेवा प्रदायक कम्पनीको अनुगमन गरिरहेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द गर्ने निर्णय कार्यान्वयन भए/नभएकाबारे जानकारी दिन निर्देशन दिँदै यस अवधिमा जानकारी नदिने सेवा प्रदायकलाई दूरसञ्चार ऐन, २०५३ अनुसार अनुमति पत्र खारेजीलगायतको कारबाही गर्ने चेतावनी दिएको छ ।

यसअघि टिकटक बन्द गर्ने सरकारको निर्णय कार्यान्वयन गरी जानकारी गराउन सबै इन्टरनेट तथा मोबाइल सेवा प्रदायकलाई निर्देशन दिए पनि अहिलेसम्म जानकारी नआएकाले जानकारी दिन निर्देशन दिइएको प्राधिकरणका उप–निर्देशक तथा सूचना अधिकारी सूर्यप्रसाद लामिछाने जानकारी दिए ।

गत कात्तिक २८ गते र मङ्सिर २ गते सार्वजनिक टिकटक बन्द गराउन सूचना निकालिसकेकाले अटेरी नगर्न चेतावनी दिएको छ ।

टिकटकको विकल्प के ?

सरकारले टिकटकमा प्रतिबन्ध लगाएपछि टिकटकरहरु के गर्दै छन् यो चासोको विषय बनेको छ । टिकटक प्रयोग कर्ताहरू टिकटको विकल्पमा अर्को एप ‘रिल’ तर्फ आकर्षित भएका छन् । टिकटक बन्दले छटपटिएका प्रयोगकर्ताहरू फेसबुकको रिल र इन्स्टाग्रामको रिलतिर आकर्षित भएका हुन् ।

‘रिल’ फेसबुक र इन्स्टाग्रामकै फिचर हो । रिल्सबाट पनि टिकटक जत्तिकै लोकप्रिय बनाउन सकिने भएकाले टिकटक प्रयोगकर्ताहरू त्यसमा झुमिन थालेका हुन् ।

फेसबुकमा रहेको रिल फिचर टिकटकको विकल्प हो । रिलमा अपलोड गरेका भिडियोमा धेरै भ्युज गएमा मोनिटाइज गरेर आम्दानी गर्न सकिन्छ । फेसबुकमा रिलसँगै भिडियोहरू अपलोड गरेर मोनिटाइज गर्न सकिन्छ ।

त्यस्तै, इन्स्टाग्राममा १५ सेकेन्डको छोटो भिडियोलाई रिलका रुपमा पोस्ट गर्न सकिन्छ । यसबाट विभिन्न ब्रान्ड र कम्पनीहरूसँग सहकार्य गरेर पनि पैसा कमाउन सकिन्छ । यसबाट लाइभ र सप फिचरबाट पनि आम्दानी गर्न सकिन्छ ।

टिकटकमा जस्तै साना भिडियो कन्टेन्ट पोस्ट गर्नका लागि फेसबुकले सन् २०२२ जनवरीदेखि रिल फिचर्स ल्याए पनि नेपालीहरूमाझ यसको लोकप्रियता कमै थियो । तर, टिकटक बन्द भएपछि भने त्यहाँ रहेको भिड रिलतिर आउन बाध्य भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *