हमासले बन्धक बनाएका थप ११ जना रिहा, युद्धविराम दुई दिन थप

एजेन्सी । हमासले बन्धक बनाएका थप ११ जनाको रिहाइ गरेको छ। इजरायली सेनाका अनुसार हमासको अक्टोबर ७ मा भएको आक्रमणपछि बन्धक बनाएका ११ जनालाई रिहा गरेको छ । ‘रेडक्रसबाट प्राप्त जानकारीको आधारमा ११ जना बन्धकहरू हाल इजरायली क्षेत्रतर्फ जाँदैछन्,’ सेनाले एक विज्ञप्तिमा भन्यो ।
कतारी विदेश मन्त्रालयका प्रवक्ता माजिद अल अन्सारीले ट्वीटरमा भनेका छन् कि इजरायली जेलबाट ३३ प्यालेस्टाइनीहरूलाई रिहा गरिने छ । इजरायल र हमासले शुक्रबार देखि गाजामा चार दिनका लागि लडाइँ रोक्न सहमत भएपछि यस अवधिमा इजरायलले राखेका १५० प्यालेस्टिनी बन्दीहरूको बदलामा कुल ५० जना बन्धकहरूलाई रिहा गरिएको छ ।
यसैबीच गाजामा शुक्रबारदेखि सुरु भएको चार दिने युद्धविराम दुई दिन थपिएको छ । सोमबार चार दिने युद्धविराम सकिनुअघि नै दुवै पक्षले दुई दिनका लागि सम्झौता लम्ब्याउने सहमति गरेका थिए ।
इजरायल र हमासबीचको युद्धविराम वार्तामा मुख्य मध्यस्थकर्ताको भूमिका खेल्दै आएको कतारले युद्धविराम २ दिन लम्बिएको जनाएको छ ।








