जाजरकोट भूकम्प

चिसोले कठ्यांग्रिँदै त्रिपालमुनि बसेका १०७६ सुत्केरी 

जाजरकोट । गत कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६ दशमलव ४ म्याग्निच्युटको भूकम्पबाट घरमा क्षति भएपछि सबैभन्दा बढी सुत्केरी, ज्येष्ठ नागरिक तथा बालबालिका समस्यामा परेका छन् ।

चिसोबाट नलगाडकी २५ वर्षीया सुत्केरी शर्मिला चदाराको मृत्यु भएको छ । भूकम्पपीडितको चिसोका कारण ज्यानसमेत गएको छ । भूकम्पबाट घरबासविहीन भएका सर्वसाधारण मौसम अनुकूल नहुँदा बिरामी पर्ने गरेको पाइएको छ ।

जिल्ला स्वास्थ्य सेवा कार्यालयले उपलब्ध गराएको तथ्याङ्कानुसार भेरी नगरपालिकामा ४९ हजार ७२ जनसङ्ख्या प्रभावित भएका थिए । ४२ जनाको मृत्यु भएको थियो भने पाँच सय ५५ जना घाइते भएका थिए ।

पाँच वर्षमुनिका चार हजार एक सय १५ बालबालिका भूकम्पबाट प्रभावित भएका थिए भने ६ सय ७४ गर्भवती, दुई सय ८२ सुत्केरी, दुई हजार आठ सय ३६ ज्येष्ठ नागरिक, एक हजार ६५ दीर्घरोगी र चार सय आठ अपाङ्गता भएका व्यक्तिसहित नौ हजार तीन सय ८० जनसङ्ख्या भूकम्पको प्रभावबाट जोखिममा छन् । स्वास्थ्य संस्था आठवटा पूर्णरूपमा र आठवटा आंशिकरूपमा भत्किएको पाइएको छ ।

कुशे गाउँपालिकामा २५ हजार आठ सय १५ जनसङ्ख्या प्रभावित भएका थिए । सातजनाको मृत्यु भएको थियो भने २३ जना घाइते भएका थिए । पाँच वर्षमुनिका दुई हजार नौ सय ४५ बालबालिका भूकम्पबाट प्रभावित भएका थिए ।

यस्तै, पाँच सय १५ जना गर्भवती, दुई सय ३० सुत्केरी, नौ सय २० ज्येष्ठ नागरिक, दुई सय ७७ दीर्घरोगी र ८८ अपाङ्गता भएका व्यक्तिसहित चार हजार नौ सय ७५ जना भूकम्प प्रभावित जोखिममा रहेका छन् । पाँचवटा स्वास्थ्य संस्था पूर्णरूपमा र १३ वटा आंशिकरूपमा भत्किएको पाइएको छ ।

जिल्ला प्रशासन कार्यालय जाजरकोटका प्रशासकीय अधिकृत हरिशचन्द्र शर्माका अनुसार छेडागाड नगरपालिकामा एक हजार तीन सय ५२ जनसङ्ख्या प्रभावित भएका थिए ।

एकजनाको मृत्यु भएको थियो भने पाँचजना घाइते भएका थिए । पाँच वर्षमुनिका तीन सय ७२ बालबालिका भूकम्पबाट प्रभावित भएका थिए भने ८६ गर्भवती, ६६ सुत्केरी, दुई सय चार ज्येष्ठ नागरिक, १५ दीर्घरोगी र नौ अपाङ्गता भएकासहित सात सय ४३ जनसङ्ख्या भूकम्पको प्रभावबाट जोखिममा रहेका छन् । आठवटा स्वास्थ्य संस्था आंशिकरूपमा भत्किएको पाइएको छ ।

नलगाड नगरपालिकामा २९ हजार दुई सय नौ जनसङ्ख्या प्रभावित भएका थिए । बाउन्न जनाको मृत्यु भएको थियो भने ८६ घाइते भएका थिए ।

पाँच वर्षमुनिका तीन हजार ३३ बालबालिका भूकम्पबाट प्रभावित भएका थिए भने तीन सय ३१ गर्भवती, तीन सय ७४ सुत्केरी, एक हजार चार सय ८३ ज्येष्ठ नागरिक, दुई सय ३४ दीर्घरोगी र दुई सय ५० अपाङ्गता भएका व्यक्तिसहित तीन हजार हजार नौ सय ४४ जना भूकम्पको प्रभावबाट जोखिममा छन् । एक स्वास्थ्य संस्था पूर्णरूपमा र पाँचवटा आंशिकरूपमा भत्किएको पाइएको छ ।

बारेकोट गाउँपालिकामा १९ हजार ६ सय ७६ जनसङ्ख्या प्रभावित भएका थिए भने दशजना घाइते भएका थिए ।

पाँच वर्षमुनिका एक हजार चार सय ९९ बालबालिका भूकम्पबाट प्रभावित भएका थिए भने एक सय ८१ गर्भवती, ७५ सुत्केरी, चार सय ३९ ज्येष्ठ नागरिक, दुई सय २३ दीर्घरोगी र ४५ अपाङ्गतासहित दुई हजार चार सय १७ जनसङ्ख्या भूकम्पको प्रभावबाट जोखिममा छन् ।

पूर्णरूपमा एक र आंशिकरूपमा चार स्वास्थ्य संस्था भत्किएका छन् । भूकम्पबाट शिवालय गाउँपालिका ११ हजार आठ सय ४३ जनसङ्ख्या प्रभावित भएका थिए । दुई जना घाइते भएका थिए ।

पाँच वर्षमुनिका चार सय ६२ बालबालिका भूकम्पबाट प्रभावित भएका थिए भने ४९ गर्भवती, दुई सुत्केरी, ५१ ज्येष्ठ नागरिक, दीर्घरोगी र अपाङ्गतासहित चार सय ४६ जनसङ्ख्या भूकम्पको प्रभावबाट जोखिममा रहेका छन् । दुईवटा स्वास्थ्य संस्था आंशिकरूपमा भत्किएको पाइएको छ ।

भूकम्पबाट जुनिचाँदे गाउँपालिकामा एक हजार नौ सय ५० जनसङ्ख्या प्रभावित भएका थिए । पाँच वर्षमुनिका ७८ बालबालिका भूकम्पबाट प्रभावित भएका थिए भने ४७ जना गर्भवती, ४७ सुत्केरी, ९३ ज्येष्ठ नागरिक, १८ दीर्घरोगी र २२ अपाङ्गतासहित दुई सय ८३ जनसङ्ख्या भूकम्पको प्रभावबाट जोखिममा रहेका छन् । पन्ध्रवटा स्वास्थ्य संस्था आंशिकरूपमा भत्किएको छ ।

भूकम्पबाट एक लाख २८ हजार नौ सय १७ जना प्रभावित भएको पाइएको छ । भूकम्पपछि प्रभावित जोखिम जनसङ्ख्या २२ हजार २०६ रहेको छ । पाँच वर्षमुनिका १२ हजार चार सय चार बालबालिका प्रभावित भएका छन् भने एक हजार आठ सय ८३ गर्भवती त्रिपालमा बस्न बाध्य छन् ।

त्यसैगरी एक हजार ७६ जना सुत्केरी त्रिपालको सहारामा खुला आकाशमा बस्न बाध्य छन् । एक हजार आठ सय ३२ दीर्घरोगी, आठ सय ५० जना अपाङ्गता भएका व्यक्ति पनि समस्यामा छन् । पूर्णरूपमा १५ वटा स्वास्थ्य संस्थामा क्षति पुगेको छ भने आंशिक ५५ वटामा क्षति भएको छ ।

विवरण अझै सङ्कलन हुँदै
मङ्सिर ७ गतेभित्र पालिकाले क्षतिको विवरण जिल्ला विपद् व्यवस्थापन समितिलाई पठाउन अनुरोध गरे पनि अझै विवरण आउन सकेको छैन ।

पालिकाले भने मङ्सिर १० गतेसम्म विवरण पठाउन समय माग गरेका थिए । छरिएर रहेका घर, एक ठाउँबाट अर्को ठाउँमा पुग्न धेरै समय लाग्ने भएकाले तथ्याङ्क सङ्कलन गर्न समय लागेको पालिकाका प्रमुखले बताएका छन् ।

पटकपटक बदलिने कार्यविधिका कारण पनि तथ्याङ्क सङ्कलनमा विलम्ब भएको स्थानीय तहले बताएका छन् । अबको दुई दिनभित्र सबै विवरण आउने सम्भावना रहेको जिल्ला प्रशासन कार्यालय जाजरकोटका प्रशासकीय अधिकृत शर्माले बताए । -हेमन्त केसी/रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *