जाजरकोट भूकम्प : मृतकका परिवारले पाए नगद

त्रिवेणी । जाजरकोट भूकम्पमा परी मृत्यु भएका व्यक्तिका परिवारलाई राहतस्वरुप नगद वितरण गरिएको छ । कूल ४७ जना मृतक परिवारले यसअघि नै नगद प्राप्त गरे पनि कागजात मिलाउन बाँकी सात जना मृतकका परिवारले नगद प्राप्त गरेका हुन् ।

सानीभेरी गाउँपालिकाका–६ का १० मृतक परिवारलाई रु १६ लाख, आठबीसकोट नगरपालिकाका ३७ मृतकका परिवारलाई रु ६१ लाख, चौरजहारी नगरपालिकामा एक मृतकका परिवारलाई रु दुई लाख, रोल्पा र बर्दियाका एक/एक जना मृतक परिवारलाई रु चार लाख गरी कूल रु ८३ लाख नगद वितरण गरिएको जिल्ल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिए ।

उनका अनुसार जिल्लामा ५० जना मृतकका परिवारका सदस्यलाई नगद राहत उपलब्घ गराइएको हो । आठबीसकोटमा मृत्यु भएका सल्यानका तीन जनालाई भने जिल्ला प्रशासन कार्यालय सल्यानले नगद उपलब्ध गराएको प्रमुख जिल्ला अधिकारी पन्तले जानकारी दिए ।

सङ्घीय सरकारबाट प्राप्त राहत मृतकका परिवारलाई वितरण गरिएको हो । सरकारले प्रत्येक मृतक घरपरिवारलाई रु दुई लाखका दरले नगद राहत रकम दिइएको हो । एउटै घरमा एकजना भन्दा बढी मृत्यु भएको अवस्थामा रु दुई लाखमा थप रु एक लाख बढाएर नगद उपलब्ध गराइएको सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालले जानकारी दिए ।

सङ्घीय सरकारले मृतक परिवारलाई नगद राहत वितरणको लागि जिल्ला विपद व्यवस्थापन कोषमा रु पाँच करोड रकम पठाएको थियो । जसमा रु ८३ लाख नगद राहत विरण गरिएको छ । बाँकी रकम भूकम्पपीडितका लागि अस्थायी आवास तथा पुनःस्थापनामा खर्च गरिनेछ ।

रुकुम पश्चिममा गत कात्तिक १७ गते राति गएको भूकम्पमा परी ५३ जनाको मृत्यु भएको थियो । त्यसमा पाँच जना जिल्ला बाहिरका रहेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *