बालकृष्णका कानुन व्यवसायीले भने– गिरोह सुरु हुँदाका गृहमन्त्रीहरूमाथि पनि छानबिन हुनुपर्छ

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको निवेदनमाथि उच्च अदालत पाटनमा सुनुवाइ जारी छ । गत सातादेखि सुरु भएको सुनुवाइअन्तर्गत निवेदकका कानुन व्यवसायीले बहस गरिरहेका छन् ।
भुटानी शरणार्थी मुद्दाको बहसका क्रममा आइतबार प्रतिवादी पक्षका वरिष्ठ कानुन व्यवसायीहरूले गिरोहले झन्डै ५ वर्षसम्म गृह मन्त्रालयमा चलाएको धन्दालाई लिएर त्यही समयका गृहमन्त्री बालकृष्ण खाँणलाई दोषी देखाउनुको अर्थ नरहेको जिकिर गरे ।
खाँणको पक्षमा बहस गर्न वरिष्ठ अधिवक्ताहरूले नाम लेखाएका थिए । नेपाल बारका पूर्व हरिहर दाहाल, प्रेमबहादुर खड्का, खम्मबहादुर खाती, बद्रीबहादुर कार्की र ललित बस्नेतले बहस गरेका छन् ।
बारका पूर्व अध्यक्ष शेरबहादुर केसी, बार अध्यक्ष गोपालकृष्ण घिमिरेसहितका अन्य वरिष्ठ अधिवक्ताले बहस गर्न बाँकी छ । खाँणका कानुन व्यवसायीले रकम लेनदेन नै पुष्टि नभएकाले ठगीको अभियोग पुष्टि नहुने दाबी गरे ।
यदि खाँणको संलग्नता वा दोषी मान्ने हो भने त्यसअघिका गृहमन्त्रीहरूलाई पनि मुद्दा दायर हुनुपर्ने, नभए कसैलाई छानेर मुद्दा चलाउनु पूर्वाग्रही हुने उनीहरूको तर्क थियो । खाँणको पक्षमा बहस सकिएपछि पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी लगायतका प्रतिवादीहरूको तर्फबाट बहस हुने छ ।
आइतबार नै मुख्य अभियुक्त केशव दुलालको पक्षमा पनि बहस भएको थियो । काठमाडौं जिल्ला अदालतले गत असार १ मा गरेको थुनछेकको आदेशलाई बेरितको भन्दै उक्त आदेश बदर गरी सामान्य तारिखमा मुद्दामा पुर्पक्ष गरी पाउँ भनेर प्रतिवादीका तर्फबाट उच्च अदालतमा दिइएको निवेदनमा गत मङ्गलवार देखी नियमित सुनुवाइ जारी छ ।








