बन्द कोठाभित्र दाजुभाइ मृत फेला


दाङको तुलसीपुरमा बन्द कोठाभित्र दाजुभाइ मृत फेला परेका छन्।तुलसीपुर उपमहानगरपालिका १६ डोक्रेना घर भई तुलसीपुर– ६ गाइडहरमा डेरामा बस्दै आएका ३४ वर्षीय पूर्णबहादुर बस्नेत र उनका भाइ ३० वर्षीय टेकबहादुर बस्नेत कोठाभित्र मृत अवस्थामा फेला परेका हुन्।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुरप्रसाद पोखरेलले बेलुकी ६ बजेतिर उनीहरू कोठामा मृत अवस्थामा फेला परेको सूचना प्राप्त भएको बताए। गएर हेर्दा दाजुभाइ एउटै कोठाका दुई खाटमा मृत अवस्थामा थिए।
‘शव गनाउन थालिसकेकाले करिब दुई दिनअगाडि नै दाजुभाइको मृत्यु भएको अनुमान प्रहरीको छ।मृतकका आफन्तले आफूहरू नआउँदासम्म ढोका नखोल्नु भनेकाले ढोका खोलिएको छैन।
मृतक टेकबहादुरकी श्रीमती रूकुम पश्चिमस्थित माइतीमा रहेको र त्यहाँबाट नफर्किँदासम्म ढोका नखोल्न उनले आग्रह गरेकाले प्रहरीले बाहिरै बसेर रुँगिरहेको छ।
ढोका भित्रैबाट बन्द छ। झ्यालबाट हेर्दा उनीहरु मृत अवस्थामा देखिएका छन्।
घरबेटी यमबहादुर डाँगीका १२ वर्षीय छोराले सोमबार बेलुकी ६ बजेतिर झ्यालबाट हेर्दा भित्र उनीहरु मृत रहेको थाहा पाएका थिए।
त्यसपछि प्रहरीलाई सूचना दिइएको थियो।
दाजुभाइले विषादी सेवन गरी आत्महत्या गरेको आशंका प्रारम्भिक रुपमा प्रहरीले गरेको छ।
