महेश बस्नेत र दुर्गा प्रसाईं समूहले माइतीघरमा आन्दोलन गर्न नपाउने

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंसिर ७ गते माइतीघर मण्डलमा नेकपा एमालेनिकट युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईंको कार्यक्रम गर्न नदिने निर्णय गरेको छ ।

सोमबार प्रशासनले दुवै पक्षसँग छलफल गरेको प्रमुख जिल्ला अधिकारी (प्रजिअ) जितेन्द्र बस्नेतले जानकारी दिए ।

दुवै पक्षले शान्ति सुरक्षा कायम राख्नेबारेमा लिखित रूपमा प्रतिबद्धता जनाएको पनि उनले बताए । दुवै पक्षले मंसिर ७ गते माइतीघर मण्डलामा प्रदर्शन गर्ने बताउँदै आएको छ ।

यसरी दुई पक्षको प्रदर्शन जुध्दा शान्ति सुरक्षामा खतरा हुने प्रशासनको आकलन छ। ठाउँ जुधेका कारण दुबै पक्षलाई अन्तै कार्यक्रम गर्न सुझाव दिइएको छ ।

कुनकुन ठाउँमा कार्यक्रम गर्ने भन्नेबारे पनि निर्णय भइसकेको छैन । प्रशासनले माइतीघरमा निषेधाज्ञा नै लगाउनेबारे पनि छलफल गरेको छ ।

‘कुन ठाउँमा कार्यक्रम गर्ने भन्नेबारेमा हामी छलफल गरेर सुरुमा उहाँहरूलाई मौखिक जानकारी दिन्छौं,’ प्रजिअ बस्नेतले भने ।

मेडिकल व्यवसायी प्रसाईंले पछिल्लो समय राजतन्त्रको वकालत गर्दै आएका छन् । उनी र नेकपा एमालेका नेता महेश बस्नेतबीच आरोपप्रत्यारोप गर्दै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *