खेलकुद परिषद्‌मा भ्रष्टाचार मौलाएको खेलकुद महासंघको दाबी(भिडिओ)

काठमाडौं । नेपाल खेलकुद महासंघले वर्तमान खेलकुद परिषद्‌मा व्यापक भ्रष्टाचार भएको दाबी गरेको छ । महासंघले परिषद्को कार्यसमितिमाथि नै छानबिनको माग गर्दै अख्तियारको ढोका ढकढक्याउने तयारी गरेको छ ।

खेलकुद महासंघले सचिव विष्णु पुनको संयोजकत्वमा ५ सदस्य रहेको उपसमिति गठन गर्दै राज्यबाट दिइएको उपदानमाथिको स्वेच्छाकारी खर्च, अनियमितता र भ्रष्टाचार भएको भन्दै वर्तमान खेलकुद परिषद् कार्यसमितिविरुद्ध अख्तियार अनुसन्धानमा उजुरी दिने बताएको हो ।

महासंघले १९ औँ एसियाली खेलकुदमा पनि भ्रष्टाचार भएको आशङ्का गर्दै सहभागी खेलाडी, प्रशिक्षक, व्यवस्थापक लगायत खेल पूर्वाधारका लागि खर्च भएको विवरण र निर्णयसहितको खर्चको यकिन विवरण सार्वजनिक गर्नुपर्ने नेपाल खेलकुद महासंघ बागमती प्रदेशका अध्यक्ष सिताराम कार्कीले बताए ।

उनले भने– ‘खेलकुद क्षेत्रमा कुनै पनि बहानामा हुने अनियमितता र भ्रष्टाचारको निष्पक्ष छानबिन हुनुपर्छ र परिषद्का गतिविधिहरूलाई पारदर्शी बनाइनुपर्छ ।’

खेलकुद परिषद्ले खेलाडीको हकमा भन्दा पनि आफ्ना आसेपासेको क्षेत्रमा काम गरेको उनले आरोप लगाए । परिषद्मा व्यापक भ्रष्टाचार हुँदा खेल क्षेत्रमा प्रगति गर्न नसकिएको बताउँदै उनले परिषद्को लापरबाहीका कारण खेलाडीहरूले पाउनुपर्ने सेवा सुविधा र सरकारले नै घोषणा गरेको पुरस्कार खेलाडीले पाउन नसकेको बताए ।

यता, खेलकुद महासंघका कानुन विभाग प्रमुख विपिन ढकालले १९ औँ एसियन गेम्समा बन्द प्रशिक्षण, वैदेशिक प्रशिक्षणको तुरुन्त व्यवस्थाका साथै सहभागी खेल र खेलाडीहरूको औचित्य पुस्ट्याइँको पनि माग गरेका छन् ।

महासंघले खेलाडीहरू आफ्नो खर्चमा आवतजावत गर्ने भए पनि परिषद्का सदस्य सचिवले खर्चको दुरुपयोग गर्ने गरेको उनको आरोप छ ।

उनले सूचनाको हक प्रयोग गरि परिषद्बाट १९ औँ एसियाली गेम्सको तथ्याङ्क माग्ने र त्यसपछि छानबिनको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा जाने बताए ।

उनले १९ औँ एसियन गेममा खेल क्षेत्रमा सरोकार नराख्ने व्यक्तिहरूलाई पठाएको, खेलाडी छनोटमा मनपरी गरेको र परिषद्लाई कार्यकर्ताको भ्रतिकेन्द्र बनाएको, र खेलकुद मन्त्रीले पनि खेलकुद परिषद्मा राजनीति गरेको नेपाल खेलकुद महासंघको दाबी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *