सिमकोटका गर्भवतीको घरमा निलो झण्डा !

काठमाडौं । हिमाली जिल्ला हुम्लाको सदरमुकामस्थित सिमकोट गाउँपालिकाले गर्भवतीको घर सहजै पहिचान होस् भनेर निलो भण्डा राखेको छ ।

वडा नं १ देखि ८ सम्म पालिकाको मातहतका सबै स्वास्थ्य चौकीअन्तर्गत रहेका गर्भवतीको घरमा निलो भण्डा राखेको हो । सहजै गर्भवतीको घर पहिचानका लागि उक्त झण्डा राखिएको स्वास्थ्य शाखाले जनाएको छ ।

सिमकोट–१ देखि ८ वडासम्म एक सय १० जना गर्भवती रहेका स्वास्थ्य शाखा संयोजक नरबहादुर भण्डारीले जानकारी दिए । उनीहरुको घर पहिचान गर्न सहज होस् भनेर सबैको घरमा निलो झण्डा राखिएको उनले बताए ।

गर्भवती महिला सुत्केरी नहुञ्जेलसम्म गर्भजाँचका साथै उनीहरुलाई आवश्यक अन्य सेवा प्रवाहमा सहजता, लक्षित वर्ग पहिचानका लागि यो अभियान सञ्चालन गरिएको भण्डारीले बताए ।

सबै वडामा रहेका स्वास्थ्य संस्थालाई दसैँ र तिहारका बीचमा ‘गर्भवती पहिचान घर कार्यक्रम’अन्तर्गत गर्भवतीको घरमा झण्डा राखिएको उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *