‘१९७४ एडी’ ब्याण्डको नयाँ टुर लिस्ट सार्वजनिक, पहिलो कन्सर्ट दार्जिलिङको खर्साङमा हुँदै

नेपालको चर्चित सांगेतिक समूह १९७४ एडीले आफ्नो नयाँ ‘मिनी टुर लिस्ट’ सार्वजनिक गरेको छ । तीन जना ब्यान्ड सदस्यहरू नेपालबाहिर बस्ने भएकाले वर्षको निश्चित केही समयमा मात्र सँगै बजाउने गरेको ब्यान्डले नयाँ टुरको सुरुवाती कन्सर्ट नोभेम्बर १९ दार्जिलिङको खर्साङमा हुने ‘द पाइन ट्रि फेस्टिभल’ मा हेडलाइनरको रुपमा प्रस्तुत भएर गर्न लागेको हो । 

ब्यान्डका सदस्यहरू भोकलिस्ट/गिटारिस्ट फिरोज स्याङ्देन, भोकलिस्ट/ड्रमर एड्रियन प्रधान र फ्लुटिस्ट मनोज सिंह यीनै टुरको लागि भनेर अमेरिकाबाट नेपाल आइसकेका छन् । नेपालमा रहेका संस्थापक तथा बेसिस्ट निराकार याकथुङ्बा, लिड गिटारिस्ट मनोज कुमार केसी र पर्कसनिस्ट सञ्जय श्रेष्ठ सहित सबै जनाले सँगै अभ्यास गरिसकेका छन् । ‘यसपालिको पहिलो टुर नै फिरोज र एड्रियन दाइको गाउँको छिमेक खर्साङबाट सुरु हुन लागेकाले विगतमा यात्रा गर्दाका धेरै सम्झनाहरू ताजा भएको छ’ ब्यान्डको व्यवस्थापन पनि हेरिरहेका सञ्जय श्रेष्ठले जानकारी दिए । फिरोज र एड्रियनको जन्मस्थल क्रमशः तकभर दार्जिलिङ र कालिम्पोङ हो ।  

‘मेरो भारतको लागि अथाह प्रेम छ । मलाई यहाँ बजाउन आउँदा दोस्रो घर आएको जस्तो लाग्छ ।’ फ्लुटिस्ट मनोज सिंहले बताए । यस्तै पछिल्लो पल्ट सन् २००८ मा अन्तिमपल्ट मेची पारि कन्सर्ट गर्न आएको सम्झिँदै लिड गिटारिस्ट मनोज केसीले भने ‘ब्यान्डको सुरुवाती दिनमा धेरै कन्सर्ट गरेको थियो । यो भेगमा अन्तिमपल्ट सिक्किमको मंगनमा कन्सर्ट भएको थियो । यहाँ हामीलाई माया गर्ने धेरै श्रोताहरूले मिस गर्नुभएको छ । त्यो सम्बन्धलाई यति बेला जोड्न पाए जस्तो लागिरहेको छ ।’

‘खर्साङको टुर सकिएसँगै डिसेम्बर २ मा दुबई, डिसेम्बर ३ मा अबुधाबी, डिसेम्बर ९ मा पोखरा, डिसेम्बर ११ मा बिर्तामोड र डिसेम्बर १५ मा काठमाण्डौमा कन्सर्ट हुने तयारी रहेको सञ्जयले बताए ।  

सन् १९९४ मा झम्सिखेलबाट सुरुवात भएको १९७४ एडीले ९ वटा एल्बम निकालिसकेको छ । यसका ‘सम्झी बस्छु’, ‘शताब्दी’, ‘जङ्गी निशान’, ‘पिँजडाको सुँगा’ लगायत एल्बमका ‘सम्झी बस्छु’, ’मुटु भरि भरि’, ‘यो मन त मेरो नेपाली हो’, ‘सम्बोधन’, ‘हिँड्दा हिँड्दै’, ‘गुँराश फुल्यो’, ‘धेरै धेरै आउँछ मनमा’ जस्ता गीतहरू चर्चित छन् । ती गीतहरूको अलावा ब्यान्डले आफ्नो पछिल्लो गीतको रूपमा राष्ट्रिय भावनाले ओतप्रोत गीत ‘जातले हैन दिलले’ को पर्फर्मेन्स भर्सन पनि सार्वजनिक गरिसकेको छ । हेर्नुहोस् लिंक । 

खर्साङको रोहिनी लेक गार्डेनमा हुन लागेको ‘पाइन ट्रि फेस्टिभल’ को यो पाँचौँ संस्करण हो । सङ्गीतसँगै यसले सांस्कृतिक पाटोलाई पनि सँगै लैजाने उद्देश्य लिएको छ । त्यसको लागि स्टेजनजिकै स्थानीय सामानहरू बिक्रीमा राख्ने गरी ३० वटा स्टल राखिएको आयोजकले जनाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *