भूकम्पमा बाँचेका पाँच भूकम्पपीडितले चिसोका कारण गुमाए ज्यान

काठमाडौँ । चिसोका कारण जाजरकोटमा ५ जना भूकम्पपीडितको मृत्यु भएको छ । भूकम्पपछि त्रिपालमा बस्दै आएका ५ पीडितको चिसोका कारण मृत्यु भएको हो ।

शुक्रबार २ जना, गत बुधबार १ जना र गत शुक्रबार २ जनाको चिसोका कारण मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा वृद्धवृद्धा छन् । जाजरकोटस्थित बारेकोट गाउँपालिका-४ जिरीका ७९ वर्षीय नरेन्द्रबहादुर सिंह र बारेकोट-१ रामीडाँडाका ७० वर्षीय डुमे पुनको शुक्रबार मृत्यु भएको हो । भेरी नगरपालिका-२ का ८८ वर्षीय धुलेश्वर कार्कीको बुधबार मृत्यु भएको हो भने गत शुक्रबार नलगाड नगरपालिका-४ लहास्थित च्युरीदाराका ८४ वर्षीय गोपालबहादुर रावल र ४८ वर्षीया पम्फा रावलको मृत्यु भएको हो ।

भूकम्पपछि घर बस्न नमिल्ने भएपछि जाजरकोटका ३४ हजारभन्दा बढी घरपरिवार त्रिपालमुनि बस्दै आएका छन् । त्रिपालमुनिको बसाइँले बालबालिका, सुत्केरी, दीर्घरोगी र वृद्धवृद्धा बढी प्रभावित भएका छन् । बालबालिका र वृद्धवृद्धामा श्वासप्रश्वाससम्बन्धी समस्या देखिन थालेको हो ।

जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले चिसोले बालबालिका, सुत्केरी, दीर्घरोगी र वृद्धवृद्धालाई असर पारेकाले त्यसको आवश्यक व्यवस्थापनका लागि पहल भइरहेको जानकारी दिए । जिल्ला विपद् व्यवस्थापन समितिको तथ्यांकअनुसार जिल्लाका विभिन्न स्थानीय तहमा २ सय पूर्णसहित १ हजार ९० घरमा क्षति भएको छ ।

रुकुम पश्चिममा भूकम्पका कारण २५ हजार ८ सय ३६ घरधुरी प्रभावित भएका छन् भने ९ हजार ४ सय ६८ घरधुरी विस्थापित भएका छन् । भूकम्प गएको दुई साता बित्न लागिसक्दा पनि पीडितहरूले राहतका नाममा त्रिपाल, केही न्याना ओढ्ने ओछ्याउने र खाद्यान्न सामग्री मात्रै पाउन सकेका छन् । सरकारी राहत पुग्दो नभएकाले आफूहरू बिरामी पर्न थालेको उनीहरुको गुनासो छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *