माली मिसन बन्द भएपछि फर्किए ८१ नेपाली सैनिक

संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ मालीमा तैनाथ नेपाली सेनाको टोलि फर्किन थालेको छ। राष्ट्रसंघले मिसन बन्द गर्ने निर्णय गरेपछि नेपाली सेनालाई पनि फर्काउन थालिएको हो।
त्यहाँ तैनाथ नवौं डफ्फाका ८१ जनाको टोलि बिहीबार काठमाडौं आइपुगेको छ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार प्रमुख सेनानी चित्रकुमार कार्कीको कमाण्डमा रहेको टोलि हातहतियार तथा बन्दोबस्तीका सामाग्रीसहित संयुक्त राष्ट्रसंघको चार्टर्ड विमानमा स्वदेश फर्किएको हो।
राष्ट्रसंघको निर्णयसँगै नेपाली सेनाको कन्टिन्जेन्टमा रहेका १५६ जना एवं स्टाफ तथा पर्यवेक्षकमा कार्यरत समेत गरी १६८ जना छन्। उनीहरु सबै फर्किनेछन्।
संयुक्त राष्ट्रसंघको शान्ति स्थापना कार्यका लागि विश्वभर तैनाथ मिसनहरुमा फौज उपलब्ध गराउने सदस्य राष्ट्रहरुको दोस्रो वरियतामा नेपाल रहेको छ।
नेपालबाट ५८२ जना महिलाहरु शान्ति सैनिकका रुपमा खटिएका छन्। जुन महिलाहरुतर्फ शान्ति सेनामा सबैभन्दा ठूलो संख्या हो।








