दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई दियो २१३ रनको लक्ष्य

काठमाडौं । आइसीसी विश्वकप क्रिकेट अन्तर्गत दोस्रो सेमिफाइनल खेलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई २ सय १३ रनको लक्ष्य दिएको छ ।
कमजोर सुरुवात गरेको दक्षिण अफ्रिकाले पुरा ४९.४ ओभर खेल्दै २१२ रन बनायो ।
दक्षिण अफ्रिकाको लागि डेविड मिलरले १ सय १६ बलमा ८ चौका र ५ छक्कासहित १ सय १ रनको सानदार शतकीय साझेदारी गरे । मिलर बाहेक अन्य ब्याटरको प्रदर्शन भने राम्रो हुन सकेन ।
हेनरिक क्लासेनले ४८ बलमा ४ चौका र २ छक्कासहित ४७ रनमा आउट भए ।
एक समय २४–४ को अबस्थामा पुगेको टोलीलाई मिलर र क्लासेनले पाँचौ विकेटका लागि ९५ रनको महत्त्वपूर्ण साझेदारी गरेका थिए ।
मिचेल स्टार्कको पहिलो ओभरको अन्तिम बलमा कप्तान टेम्भा बभुमा शुन्यमा विकेटकिपर जोश इंग्लिसबाट क्याच आउट भए ।
यस विश्वकपमा चार शतक हानेका क्विन्टन डि कक ३ रनमा क्याच आउट भए । जोश हेजलवुडको छैटौं ओभरको चौथो बलमा ठूलो शर्टको धुनमा बल हाइ जादा प्याट कमिन्सले उत्कृष्ट क्याच लिएका थिए ।
स्टार्कको ११ औं ओभरको पाँचौ बलमा एडेन माक्ररम १० रनमा डेविड वार्नरबाट क्याच आउट भए । हेजलवुडको अर्को ओभरमा रास्सी भान डर डुसेन ६ रनमा स्टिभ स्मिथबाट क्याच आउट भएपछि दक्षिण अफ्रिका ११.५ ओभरमा २४–४ को दयनीय अवस्थामा पुगेको थियो ।
त्यसपछि मिलर र हेनरिक क्लासेनले १ सय १३ बलमा ९५ रनको साझेदारी गर्दै खेलमा फर्काएका थिए ।
स्पिनर ट्रविस हेडको ३१ औं ओभरको चौथो बलमा क्लासेन बोल्ड आउट भए । लगत्तै अर्को बलमा मार्को यानसन एलबीडब्लू आउट भए ।
जेराल्ड कोट्जी ३९ बलमा २ चौकासहित १९ रनमा क्याच आउट भए । प्याट कमिन्सको सर्ट बलमा उनी विकेटकिपर जोश इंग्लिसबाट क्याच आउट भए । उनले मिलरसँग मिलेर सातौं विकेटका लागि ५३ रनको साझेदारी गरेका थिए ।
अष्ट्रेलियाका प्याट कमिन्सले ३ विकेट लिए । ट्रविस हेडले ५ ओभरमा २१ रन खर्चेर २ विकेट लिए । मिचेल स्टार्कले १० ओभरमा ३५ रन खर्चेर ३ विकेट लिए । जोश हेजलवुडले ८ ओभरमा ३ मेडनसहित १२ रन खर्चेर २ विकेट लिए ।
यश खेलको विजेताले उपाधिको लागि आइतबार भारतसँग खेल्नेछ ।








