जाजरकोट भूकम्प

कार्यकर्तालाई राहत,पीडितलाई आहत !

काठमाडौं । भूकम्पले तहस नहस पारेको पश्चिम नेपालको जाजरकोट र रुकुम पश्चिम अझै त्रसित छ । भूकम्पका कहरका बीच सडकमा बास भएकाहरू राहतको आसमा सरकारको बाटो कुरेर बसेका छन् । तर पार्टीका नेताले आफ्ना आफन्ती र कार्यकर्तालाई रातारात राहत बाँडेर राजनीति गरेको भन्दै विरोध सुरु हुन थालेको छ ।

राजनीतिक दलका नेताहरूले आफ्ना आफन्त र कार्यकर्तालाई राहत बाँडेको भन्दै पीडितहरू कर्णाली प्रदेशका आर्थिक मामिला मन्त्री बेदराजसिंह माथि खनिएका थिए । सामाजिक सञ्जालमा देखिएको भिडिओमा उनले आफ्नो मान्छेलाई मात्रै राहत दिएको गुनासो गरिएको छ ।

सामाजिक सञ्जालमा देखिएको भिडिओमा एक महिला भन्छिन्– ‘कसैलाई नदिएको भए ठिकै हुन्थ्यो, अरूलाई दिएर हामीलाई चैँ नदिने, उनीसँगै अन्य पीडितको स्वर पनि थपिन्छ । कसै कसैले त डबल–डबल पाएका छन् ।’

दलका नेताले आफ्ना कार्यकर्तालाई डबल डबल राहत बाँडेर राहतमा राजनीति गरेपछि पीडितहरूले आक्रोश व्यक्त गरेका हुन् ।

पीडितको आक्रोशपछि मन्त्री सिंह भन्छन्– ‘सामान आउँदै छ । जे भयो भयो अब त्यस्तो हुँदैन । मन्त्रीको यो लचकता र स्वीकारोक्तिले पनि नेताहरूले आहातका बेला राहत बाढेर राजनीतिक गरेको बुझ्न धेरै कठिन छैन । ’

यता, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले समेत भूकम्पबाट जनधनको क्षति व्यहोरेका जाजरकोट र रुकुम पश्चिममा जनप्रतिनिधिहरूले विभेद गरिरहेको दाबी गरेका छन् ।

बुधवार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई १४ बुँदे सुझाव बुझाउँदै उनले दुई जिल्लामा आफूले घुमेर हेर्दा जनप्रतिनतिहरूले राहतमा विभेद गरेको गुनासो सर्वसाधारणले गरेको बताएका छन् ।

‘राहत वितरणमा एकरूपता नभएको देखियो’, उनले भनेका छन्, ‘राहत सामाग्री जिल्ला प्रशासन कार्यालयमा थुप्रो लागेको छ । तर, भूकम्पपीडितले पाएका छैनन् । प्रमुख जिल्ला अधिकारीले मात्रै सम्हाल्न सक्ने स्थिति रहेन ।’

लामिछानेले राहतमा दलीय करण गरिएको पनि बताएका छन् । ‘दलगत हिसाब अथवा त्यस ठाउँका जनप्रतिनिधि जुन पार्टीका हुन्, त्यही पार्टीका समर्थकले मात्रै राहत पाएको गुनासो आम समुदायले गरेका छन्’, उनले भनेका छन्, ‘राहतमा राजनीति नगरिदिनु भनी सम्बन्धित सबैको ध्यानाकर्षण गर्नुपर्ने देखिएको छ ।’

रवि मात्रै होइन, जाजरकोटका आक्रोशित पीडितहरू पनि मन्त्री र पूर्वगृहमन्त्री समेत भएको ठाउँमा आफुहरुलाई राहतमा राजनीति गरेको भन्दै आक्रोशित छन् ।

भूकम्प गएको जाजरकोट र रुकुम पश्चिम माओवादीका दुई ठुला नेता शक्तिबहादुर बस्नेत र माओवादीका उपमहासचिव जनार्दन शर्माको क्षेत्र हो । शक्ति बस्नेत अहिले सङ्घीय सरकारको ऊर्जा जलस्रोत तथा सिंचाईमन्त्री छन् । तर दुर्भाग्य माओवादीकै सरकार भएका बेला पीडितहरूले राहत लागि भोको पेट लिएर बस्नु परेको छ ।

जाजरकोट र रुकुममा दलहरूले राहतलाई मिसन ०८४ को रुपमा अघि सारेर रातारात आफ्ना कार्यकर्ता पोस्न थालेपछि आलोचित बन्न पुगेका छन् ।

यति मात्रै होइन, आफूलाई सादगी राष्ट्र प्रमुखको रुपमा चित्रित गरेका राष्ट्रपति रामचन्द्र पौडेल फेरि जाजरकोट पुगेपछि आलोचित बनेका छन् ।

पीडितलाई मलमपट्टी गर्नु पर्नेमा पीडित बसेको पाल उठाएर हेलिकप्टर ल्याण्ड गराएपछि पौडेल आलोचित भएका हुन् । देशलाई दुखेको बेला विदेश भ्रमण स्थगित गरेर सन्देश दिन खोजेका पौडेल मंगलबार प्रभावित क्षेत्र पुगेका थिए ।

अहिले भूकम्प प्रभावित क्षेत्रमा सेनाका हेलिकप्टर सहित भिआइपीको लर्को लागेको छ । चर्किएका घर र धाँजा फाटेका जमिन भन्दा बेलाबेलामा हेलिकप्टरको आवाजले पनि पीडितहरू तर्सिरहेका छन् । सरकारले आकाशमा हेलिकप्टर उडाएर पीडित तर्साउने भन्दा राहत र व्यवस्थापनका लागि उचित कदम चाल्न आवश्यक छ ।

भोक भोकै पीडित

शुक्रवार राति गएको भूकम्पको त्रास अझै कम भएको छैन । सरकारले घोषणा गरेको राहत धेरै जसो पीडितहरू सम्म पुग्न समेत सकेको छैन ।

जाजरकोटको नलगाड नगरपालिकाका धेरै भूकम्पपीडितले राहत नपाएको गुनासो गरेका छन् । केन्द्र सरकारबाट आएको राहत पनि पालिमा थुप्रिएको पीडितको गुनासो छ ।

भूकम्पबाट पीडित बनेका स्थानियहरु सरकारले घोषणा गरेको राहत नपाउँदा झनै समस्यामा परेका छन् ।

भूकम्प पीडितले ओत लाग्ने त्रिपाल समेत नपाएको बताएका छन् । साथै उनीहरूले खाद्यान्न समेत पाउन नसकेको गुनासो उनीहरूको छ ।

भूकम्प गएको भोलिपल्ट बिहानदेखि सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले राहत घोषणा गरेका छन् ।

कतिपयले आफ्नो व्यक्तिगत तर्फबाट राहत सामग्री लिएर वितरण गर्न जाजरकोट पुगेका छन् । तर धेरै गाउँलेहरुले राहत पाएका छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *