साना र मझौला उद्योगहरू अर्थतन्त्रको मेरुदण्ड हुन् : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले साना र मझौला उद्योगहरू नेपालको अर्थतन्त्रको मेरुदण्ड भएको बताएका छन् ।
सोमवार काठमाडौँमा आयोजित एसिया प्यासिफिक चेम्बर्स अफ कमर्स एण्ड इण्डस्ट्री कन्फेडेरेशनलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
साना र मझौला उद्योगहरूले रोजगारी सिर्जना गर्ने भएकाले आवश्यक प्रवर्धन गर्नुपर्नेमा जोड दिए ।
उनले दिगोपन भविष्यको आधारशिला रहेको भन्दै दिगो विकासका लक्ष्य हासिल हुनेगरी काम गर्न आवश्यक रहेको बताए । उनले उद्यमशीलता भनेको व्यवसाय सुरु गर्नुमात्रै नभएको भन्दै नवप्रवर्तनलाई अङ्गाल्ने, विविधतालाई सबलीकरण गर्ने र हाम्रा समुदायले सामना गर्ने ठूला चुनौती समाधान गर्ने सबैभन्दा बलियो आधार उद्यमशीलता भएको दाबी गरे ।
व्यापार अर्थतन्त्रको महत्वपूर्ण हिस्सा रहेको उल्लेख गर्दै यसले आर्थिक वृद्धिलाई मात्रै नभई सीमापार सम्बन्ध बिस्तार गर्न सहयोग पुग्ने बताए ।
उनले भने ‘आधुनिक युगमा दिगोपन एक शब्दजाल मात्र होइन । यो हाम्रो भविष्यको आधारशिला हो । साना र मझौला उद्योगहरू हाम्रो अर्थतन्त्रको मेरुदण्ड हुन् । तिनीहरूले वृद्धि नवीनता र रोजगारी सिर्जना गर्दछन् । उद्यमशीलताले हाम्रो क्षेत्रलाई रूपान्तरण गर्ने क्षमता राख्छ । उद्यमशीलता भनेको व्यवसाय सुरु गर्नुमात्रै होइन । यो नवप्रवर्तनलाई अङ्गाल्ने, विविधतालाई सबलीकरण गर्ने र हाम्रा समुदायले सामना गर्ने ठूला चुनौती समाधान गर्ने सबैभन्दा बलियो आधार पनि हो । व्यापार हाम्रो अर्थतन्त्रको महत्वपूर्ण हिस्सा हो । यसले आर्थिक वृद्धिलाई मात्रै होइन, सीमापार सम्बन्ध बिस्तार गर्न सहयोग गर्छ ।’
राष्ट्रपति पौडेलले नेपालको जलविद्युतको क्षेत्रमा लगानी गर्न निजी एवं विदेशी लगानी कर्तालाई आह्वान गरे ।
उनले देशको कृषि, जलश्रोत, पर्यटन जस्ता प्रचुर प्राकृतिक श्रोत र साधनलाई अन्तर्राष्ट्रिय जगतसँग जोड्न आवश्यक रहेको बताए ।








