विदेश पठाउन फर्जी कागजात बनाउने गिरोहमा प्रहरी पनि, १० जना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले नक्कली कागजात बनाएर भिजिट भिसामा नेपालीलाई विदेश पठाउने गिरोहमा संलग्न १० जनालाई पक्राउ गरेको छ । नक्कली कागजात बनाएर भिजिट भिसामा नेपालीलाई विदेश पठाउने गिरोहमा संलग्न रहेको आरोपमा काठमाडौंका विभिन्न स्थानबाट नौ जना र एक जनालाई उदयपुरबाट पक्राउ गरीएको हो ।

पक्राउ पर्नेमा नवलपुरको मध्यबिन्दु नगरपालिका–५ घर भएका जयराम श्रेष्ठ, गोरखाका ३४ वर्षीय भक्त बहादुर थापा, विपिन ढकाल, अजित फेवाली, उदयपुरका आशिष श्रेष्ठ, काभ्रे घर भएका जीवराज तामाङ, काठमाडौँका साईरस बिसंखे, दीपक केसी र सल्यान घर भएका बल बहादुर रावत छन् । अनुसन्धानको क्रममा उदयपुरका ३० वर्षीय आशिष श्रेष्ठलाई पनि पक्राउ गरिएको छ ।

काभ्रे घर भएका जीवराज तामाङ प्रहरी जवान हुन् । त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत तामाङले विदेश पठाउन ‘सेटिङ’ मिलाउन सहयोग गर्ने गरेको प्रहरीको निष्कर्ष छ । सल्यान घर भएका बल बहादुर रावतले टोखामा फ्ल्याट भाडामा लिएर कारखाना सञ्चालन गरेका थिए । स्वयम्भूमा दीपक केसीले प्लसटु को नक्कली कागजात बनाउने कारखाना सञ्चालन गरेको प्रहरी अनुसन्धाबाट खुलेको छ ।

जयराम श्रेष्ठले भिजिट भिषामा विदेश जान चाहने ग्राहक खोजेर नक्कली कागजात तयार गर्नका लागी दीपक केसी र बल बहादुर रावतसँगको सम्पर्कमा लैजाने गरेका थिए । प्रहरीले नक्कली शैक्षिक प्रमाण लगायत अन्य २९६ कागजातहरु बरामत गरेको छ । प्रहरीले अनुसन्धानको क्रममा पक्राउ परेका दीपक केसीले भक्तबहादुर थापालाई ह्वाट्सएपमार्फत विभिन्न व्यक्तिहरुबाट संकलन गरेको राहदानीको फोटो खिची विभिन्न नक्कली कागजातहरु बनाउन अर्डर दिने र प्रतिव्यक्ति १० हजार लिने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − twelve =