जाजरकोट भूकम्प

ढुंगामाटोले बनेका परम्परागत घरमा धेरै क्षति, ढलेनन् नयाँ र आधुनिक

काठमाडौँ । जाजरकोटमा गएको भूकम्पले आधुनिक र पक्की घरभन्दा पराम्परागत घरमा क्षति धेरै पुगेको छ ।  प्रहरीले अहिले भत्किएका भौतिक संरचनाको तथ्याङ्क सङ्कलन गरिरहेको जनाएको छ ।

तर भूकम्प प्रभावित क्षेत्रमा रहेका भत्किएका घरको अवस्था हेर्दा परम्परागत र पुराना घर नै पूर्णरूपमा क्षति भएको देखिएको छ । जाजरकोटमा व्यवसाय गर्दै आएका दाङका अमन चौधरीले जाजरकोटमा भूकम्पका कारण भत्किएका घर अधिकांश पुराना रहेको बताए । विशेषगरी पछिल्लो समय बनाइएका पक्की घरमा त्यति क्षति नपुगेको स्थानीयले बताएका छन् । जिल्लाका अन्य पालिकामा समेत भूकम्पले क्षति पुर्याएको छ। त्यहाँ पनि परम्परागत र पुराना घरमा क्षति पुगेको छ ।

ढुङ्गा र माटाले बनाइएका घरमा धेरै क्षति पुगेको भेरी नगरपालिका-२ का गोपाल विकले बताए । ‘यो भूकम्पले धेरैजसो ढुङ्गा र माटाले बनाइएका घरमा क्षति पुगेको छ, काठले बनाइएका घर र बजारमा बनाइएका नयाँ पक्की घरमा त्यति क्षति पुगेको छैन,’ उनले भने ।

तत्कालीन जाजरकोट दरबारसमेत भूकम्पका कारण चिरा परेको छ । भूकम्पका कारण जाजरकोटका अधिकांश घरमा क्षति पुगेको छ भने घर भत्किँदा मानवीय र भौतिक क्षति धेरै भएको छ । भिरालो जमिनमा रहेको खलङ्गा बजारमा खचाखच घर बनाइएको छ । साँघुरो बाटो, बजारभन्दा तलतिर पहिराको जोखिम देखिन्छ । बजारमा घरमा घर जुधाएर दुवैतिरबाट सडकलाई च्यापिएको छ । यसले गर्दा भूकम्प आउँदा न त खुला ठाउँ छ न भाग्ने ठाउँ नै ।

सरकारले जाजरकोटका भूकम्पबाट प्रभावित भएकाहरूका उद्धारको काम अन्तिम चरणमा पुगेको बताएको छ । ती दुई जिल्लाका भूकम्प प्रभावितको उद्धार गर्न तीनै तहका सरकाको समन्वयात्मक काम गरेको देखियो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का आफैँ प्रभावितस्थल जाजरकोट आएर उद्धार र राहतको कमी हुन नदिने बताएका छन् । भूकम्प प्रभावितको उद्धार करिब अन्तिम चरणमा पुगेको छ ।

यस्तै प्रभावितलाई स्थानीय, प्रदेश र केन्द्र सरकारले राहत सामग्रीको पनि कमी हुन दिएका छैनन्  । कर्णालीका गाउँपालिका र नगरपालिकासँगै कर्णाली प्रदेश सरकार र अन्य प्रदेश सरकारले समेत राहत सामग्री ल्याएर वितरण गरेका छन् भने अन्य विभिन्न सङ्घसंस्थाले समेत राहत सामग्री वितरण गरेको जनाइएको छ

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *