बीउ बिजनसम्बन्धी नयाँ नियमावली छिटै पारित हुन्छ : मन्त्री भुसाल

काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा.वेदुराम भुसालले बीउ बिजनसम्बन्धी नयाँ नियमावली नबनेसम्म फुकाइएको बाधा अड्चनबाट काम गर्न सकिने बताएका छन् ।

१६ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीलाई मङ्गलवार ललितपुरमा उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । उनले बीउ बिजनसम्बन्धी नियमावली चाँडो बन्नुपर्ने भए पनि बन्न नसकेकाले सरकारले बाधा अड्काउ फुकाएर नियमावली नबन्दासम्मको बाधा अड्काउ फुकाइएकोबाट नै काम गर्न सकिने बताए ।

उनले नियमावली बनाउने काम सरकारको भएकाले सरकारले अहिले अर्थमन्त्रालयको सहमतिबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पुर्याइएको बताए । उनले बीउ बिजनसम्बन्धी नयाँ नियमावली चाँडै पारित गर्ने प्रतिबद्धता जनाए ।

उनले सरकार आफ्नो उत्पादनको प्रवर्धन गर्ने, उत्पादनको रक्षा र संवर्धन गर्ने पक्षमा दृढ रहेको बताए ।

उनले भने ‘नियमावलीको कुरा गर्नुभएको छ । बीउ बिजनसम्बन्धी नियमावली नयाँ ऐनअनुसारको नयाँ नियमावली छिटो बन्नुपर्ने थियो, ढिलो भयो, त्यसले गर्दा केही बाधा परे भन्नेकुरा गरिसकेपछि ती बाधा अड्काउ फुकाएर नियमावली नबन्दासम्मको लागि त्यो बाधा अड्काउ फुकाइदिएको छ । जबसम्म नियमावली बन्दैन, तबसम्म फुकाइएको बाधा अड्चनबाट काम गर्न पाउनु हुनेछ । त्यसकारण केही दिनको लागि भनेर चिन्ता गर्नु पर्दैन । नियमावली बनाउने काम सरकारको हो । सरकारले गर्छ, उसको जिम्मेवारीको कुरा हो । ढिलो गरिएको छैन, हाम्रो मन्त्रालयबाट तयार भई अर्थ मन्त्रालयको पनि सहमति लिएर हामीले कानुन मन्त्रालयमा लगिसकेका छौँ । अर्थ र कानुन मन्त्रालयको सहमति नलिईकन नियमावली पारित गर्न सक्दैनौँ । छिटै पारित हुन्छ । भ्याट सम्बन्धी जुन समस्या छ, त्यसका बारेमा अर्थसँग पनि छलफल गर्नुपर्ने हुन्छ । हामी छलफल गरौँला । सरकार हाम्रो आफ्नो उत्पादनको प्रवर्धन गर्ने पक्षमा, उत्पादनको रक्षा र संवर्धन गर्ने पक्षमा दृढ छ । रहन्छ ।’

मन्त्री भुसालले अहिलेको समाधान राष्ट्रिय उत्पादनको वृद्धि र आयात प्रतिस्थापन गर्नु रहेको बताए । प्रदर्शनी आजबाट कात्तिक १८ गतेसम्म हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *