कुनै एउटा पार्टीले मात्रै सरकार चलाउनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले कुनै एउटा पार्टीले मात्रै सरकार चलाउनुपर्ने बताएका छन् ।

बिहीबार नेपाल प्रेस युनियन काठमाडौँले विजया दशमी तथा शुभ दीपावलीको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै महामन्त्री थापाले कुनै एउटा पार्टीको मात्रै सम्पूर्ण मन्त्रिमण्डल रहने गरी सरकार चलाउनुपर्ने बताएका हुन् ।

उनले समय निश्चित गरेर एउटा पार्टीलाई मात्रै सरकार चलाउन दिनुपर्ने बताए । उनले सत्तारुढ गठबन्धनका नेताहरूले राष्ट्रिय सहमतिको सरकार गठनको कुरा गरिरहेको उल्लेख गर्दै राष्ट्रिय सहमतिको सरकार आवश्यक नरहेको बताएका हुन् ।

उनले राष्ट्रिय सहमतिको सरकार बनाउँदा झन् धेरै भागबन्डा गर्नुपर्ने अवस्था आउने बताए । उनले कुनै एक पार्टीलाई मात्र सरकार चलाउन नदिने हो भने सरकार यस्तै अस्तव्यस्त भइरहेको उल्लेख गरे ।

उनले अहिलेको सरकारको कुनै प्राथमिकता नभएको बताए । महामन्त्री थापाले निर्वाचन पूर्व काँग्रेसले कुनै पनि गठबन्धन नगर्ने स्पष्ट पारे । उनले आगामी निर्वाचनमा काँग्रेस गठबन्धन गरेर गएमा काँग्रेस पार्टी एक नरहने बताए ।

उनले भने ‘०८४ सालमा हामी चुनावमा जाँदै गर्दाखेरि हामी गठबन्धनमा जाँदै जाँदैनौँ । कसैले कल्पनै नगरे हुन्छ । गठबन्धन गरेर जान्छु भन्यो भनेदेखि त्यो बेलामा नेपाली काँग्रेस पार्टी एक रहने कुराको कल्पना नगरे हुन्छ । क्लियर कुरा गरेको छ । यसमा कहीँ अलमल छैन । हामी एक्लै जान्छौँ । अहिले प्रधानमन्त्रीले के भन्नुहुन्छ बेला बेलामा राम्रो जति मेरो, नराम्रो जति काँग्रेसको । आर्थिक सङ्कट भयो काँग्रेसको मन्त्री छ गर्नै सकेन । भ्रष्टाचारको बारेमा मैले त राम्रो काम गर्न खोजेको थिएँ, तर फलानोले, मन्त्रीहरूले समाचार लेखाइरहेका छन् बेलाबेलामा । मैले त असाध्यै राम्रो काम गर्न खोजेको थिएँ तर काँग्रेसको कारणले गर्दा दिएन । गठबन्धनको सरकार बाध्यता छ । मैले जनार्दनजीले भनेको कुरा सुनेको छु, एकदम गलत भयो राष्ट्रिय सहमतिको सरकार बनाऔँ । भागबन्डा हुँदैन । राष्ट्रिय सहमतिको भनेको झन् बढी भागबन्डा हुन्छ । झन् बढीको बिचमा सबैलाई टुक्रा टुक्रा दिनुप¥यो । त्यसैले निर्वाचन अगाडी गठबन्धन नगर्ने । उत्तम बाटो भनेको जसले चलाउने हो, जसको नेतृत्वमा चलाउने हो निश्चित समय उसलाई एक्लै चलाउन दिने । काँग्रेसले जति समय चलाउँछ, एक, दुई वर्ष जति हामीले पाउँछौँ हामी जोसँग मिलेर गर्छौ । जुन कालखण्ड चलाउँछौँ एक्लै हामी चलाउनुपर्छ । २५ जना मन्त्री काँग्रेसको राखेर चलाउनुपर्छ । र त्यतिबेलाको एक एक हिसाब काँग्रेस दिन तयार हुनुपर्छ । शिक्षा, स्वास्थ्य, रोजगारी, आर्थिक, प्रेसमा के ग¥यो रु प्रत्येक कुराको हिसाब दिन तयार हुनुपर्छ । अहिले माओवादीले एक, एक कुराको हिसाब दिन तयार हुनुपर्छ । माथिदेखि तलसम्म यो स्थिति बन्यो भने मात्रै यसले एउटा खालको स्थिति बनाउँछ । हैन भनेदेखि भने अहिलेको जस्तै लर्याङ्लुरुङ कुनै फोकस छैन । यो सरकारको फोकस के हो मलाई थाहा छैन ।’

उनले निर्वाचन पूर्व गरिने गठबन्धनले लोकतान्त्रिक संस्कृतिलाई विकृत बनाउने बताए । उनले निर्वाचन पूर्वको गठबन्धन सैद्धान्तिक रूपमा गलत रहेको उल्लेख गर्दै काँग्रेसका आगामी महासमिति बैठक निर्वाचन पूर्वको गठबन्धनको विपक्षमा उभिनुपर्ने बताए ।

उनले भने ‘नेपालमा निर्वाचन भन्दा अगाडी गर्ने गठबन्धनले प्रकारान्तरमा त्यसले हाम्रो लोकतान्त्रिक संस्कृतिलाई यति विकृत बनाउँछ, जसको कारणले गर्दाखेरि हाम्रो लोकतन्त्रले जुन चरित्र, जुन विशेषता बोक्नुपर्ने हो, त्यो बोक्नै सक्दैन । यसले तल जरासम्म पुर्याउँछ । त्यसकारणले गर्दाखेरि निर्वाचन भन्दा अगाडी गठबन्धन गर्ने कुरा सैद्धान्तिक हिसाबले गलत छ । जुनकुरा सैद्धान्तिक हिसाबले गलत हुन्छ, त्यो कुरा कुनै पनि रणनीति बनाएर त्यसको सेवा गर्न पाइँदैन । प्रस्ट हुनुपर्छ । यो महासमितिको बैठकले यसलाई टुङ्गो लगाउनुपर्छ । यो महासमितिको बैठकबाट नेपाली काँग्रेस पार्टी प्रस्ट उभिनुपर्छ, यो सैद्धान्तिक हिसाबले गलत भएको हुँदाखेरि अब काँग्रेसले गलत सिद्धान्तलाई बोकेर हिँड्नु हुँदैन भन्ने ठाउँमा हामी पुग्नुपर्छ ।’

महामन्त्री थापाले वर्तमान सरकारले फागुन १ गतेलाई जनयुद्ध दिवसको रूपमा मनाएमा नेपाली काँग्रेसले नमान्ने बताए । उनले काँग्रेसले फागुन १ गतेलाई कुनै पनि दिवसको रूपमा स्वीकार नगर्ने प्रस्ट पारे ।

उनले भने ‘यो सरकारले फागुन १ गतेलाई जनयुद्ध दिवस मनाउँछु भनेर बिदा दिन्छु भनेर भन्यो भने के नेपाली काँग्रेस पार्टी यसलाई हामी गठबन्धनमा छौँ त्यसकारणले गर्दा हामी यसलाई मान्छौँ भनेर यसलाई स्वीकार गर्नसक्छौँ ? सक्दैनौँ । किनभने यो हाम्रो सैद्धान्तिक विषय हुन्छ । हामी फागुन १ गतेलाई दिवसको रूपमा मान्दैनौँ ।’

महामन्त्री थापाले नेपाली काँग्रेसलाई रूपान्तरण गर्नुपर्ने भन्दै यसको निम्ति सबै पार्टी कार्यकर्ता एकजुट भएर लाग्नुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 19 =